एकापसको झगडाले हामी हार्‍यौँ: डा. शेखर

डा. शेखर कोइराला देशसञ्चारसँग कुरा गर्दै। तस्बिर: देशसञ्चार।

मोरङ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको आन्तरिक द्वन्द्वले चुनाव हारेको बताएका छन्। प्रतिनिधिसभा सदस्य अन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा पराजित नेपाली कांग्रेसका उम्मेद्वार डा. शेखर कोइराला हाल मतदाताको घरदैलोमा पुगिरहेका बेला यस्तो बताएका हुन्।

पराजित भएका कोइरालाले आफ्नो हार भए पनि जनताको मतलाई शिरोधार्य गर्दै जनतालाई धन्यवाद दिएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिकाको वडामा पुगेका उनलाई देखेर धेरै स्थानीयले जितेर गएकाले अनुहार देखाउन आएनन् तपाईँ आउनु भएछ, खुशी लाग्यो भन्दै प्रतिक्रिया दिएका थिए।

देशसञ्चारसँग बुधबार विराटनगरस्थित कोइराला निवासमा कुरा गर्दै उनले नेपाली कांग्रेसको हारमा संगठनको कमजोरी भएको बताए। दोस्राे संविधानसभा निर्वाचनपछि पार्टी नेतृत्वबाट भएका केही चर्चित घटनातर्फ इंगित गर्दै उनले विगतमा भएका आइजी प्रकरण, महाअभियोग, स्थानीय तहमा माओवादी केन्द्रका उम्मेद्वारलाई चितवनमा सहयोग गर्नुजस्ता कारण नै कांग्रेसको हालको अवस्था भएको स्पस्ट पारे। उनले आफ्नो हारभन्दा पनि पार्टी संगठनात्मक रुपमा कमजोर भएकोमा चिन्ता व्यक्त गरे। ‘नेपाली कांग्रेस सांगठानिक रुपमा कमजोर नै भएको भन्छु,’ उनले भने ।

उनीमाथि २०६४ सालको उपनिर्वाचनको जित र २०७० सालको निर्वाचनको जितपछि जनता माझ नआएको भन्‍ने जनगुनासो निर्वाचनपूर्व देखिएको थियो। जसलाई उनी आफैँले पनि पटकपटक चिर्ने प्रयास गरिरहेका थिए। चाहे त्यो गृहनगर आउदा होस् या बाढीको समय स्टेथेस्कोप लिएर पीडितसमक्ष पुग्दा। यद्यपि यसपटकको हारलाई स्वभाविक रुपमा लिएका डा. कोइराला भन्छन्, ‘जनताको घरमा पुगिरहदा आफूले हारेको महसुस गरिराख्नु परेको छैन। उनीहरु नै यो नतिजा कसरी भयो भन्ने अन्यौलमा रहेको पाएको छु। यसमा धेरै फ्याक्टरले काम गरेको छ।’

जनताले दिएको अभिमतलाई सहर्ष स्वीकार गर्दै आफूहरु अब जनताको माझमा जनताको पीरमर्कालाई सम्बोधन गर्न केन्द्रित रहने उनले प्रस्टाए। ‘हिजोका दिन पनि आफूहरुले जनतामाझ जनताको मायासाथ पाएकै हौँ, त्यसमा शंकै छैन, तर निर्वाचनको नतिजा ठीक उल्टो आयो, यसमा विविध कारण छन्,’ उनी भन्छन्। मुलुकको संविधानलाई संस्थागत गर्न र मद्दत पुग्ने कोशेढुंगाको रुपमा निर्वाचनलाई लिएको उल्लेख गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउन सम्पन्न निर्वाचनको परिणामलाई स्वभाविक रुपमा लिएका छन्।

२०६४ सालको निर्वाचन बाहेकका अन्य निर्वाचनमा राम्रो पकड बनाएको कांग्रेस यतिबेला प्रत्यक्षतर्फ २३ सिटमा सीमित भएको छ। यस आँकडाप्रति डा. कोइराला भन्छन्, ‘भएका घटनाक्रमको समीक्षा डिटेल गर्नुपर्‍यो, कमीकमजोरी औँल्याउनु आवश्यक छ। त्यसका लागि चाँडै नै पार्टीको केन्द्रीय समिति बैठक बस्नुपर्छ, त्यहाँ समीक्षा गर्नुपर्छ।’

स्थानीय तहमा केही स्थानमा गरिएको गठबन्धनसँगै यसपटक पनि बामगठबन्धनविरुद्धको प्रतिक्रियामा कांग्रेसले गरेको गठबन्धनले पार्टीलाई फाइदा नपुर्‍याएको उनको बुझाइ छ। उनी भन्छन्, ‘यो गठबन्धन त महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई लगायत दुई तीन जनाका लागि मात्र रहेछ।’

‘यसलाई म त गठबन्धन हुँदै भएन भन्छु, कमजोर गठबन्धन र पार्टीभित्रको आन्तरिक द्वन्द्वले पनि हामी कमजोर भयौँ। यस गठबन्धनले त कांग्रेसलाई फा‍इदा पुर्‍याएन नै।’ गठबन्धनकै भरमा उपेन्द्र यादवले सप्तरी २ बाट प्रतिनिधि सभामा जित हात पारे भने महन्थ ठाकुरले महोत्तरी क्षेत्र नम्बर ३ बाट संसदको टिकट काटेका छन् ।

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगको गठबन्धनले मोरङको क्षेत्र नम्बर ४ र ६ मा फाइदा नपुगेको बताउँदै डा. कोइरालाले असोज १० गते भएको उक्त गठबन्धनबारे तल्लो तहसम्म दुवै पक्षबाट औचित्यता सावित गर्न नसकिएको प्रस्ट पारे। ‘विजयकुमारजीले पनि सक्नु भएन, हामीले पनि सकेनौँ, नेतृत्व तहले त ठीकै गरेको होला, तर तल्लोतह सदस्यहरुले निर्वाचनमा कांग्रेसलाई नसघाएको भने पक्कै हो,’ उनी भन्छन्। त्यसैगरी उनले घोषणापत्र जनतामाझ सहीरुपमा पुर्‍याउन नसक्नुपनि आफूहरुको कमजोरी भएको उनी स्वीकार्छन्।

निर्वाचनको परिणामपश्चात पनि घरदैलो र धन्यवादका लागि स्थानीयको घर पुगिरहेका डा. कोइरालाले सबैतिरबाट न्यानो अभिवादन पाइरहेका छन्। उनी भन्छन्, ‘मैले त हारेको महसुस नै गरेको छैन, जनताको सहानुभूति त छँदैछ। त्यसमा म मात्र यस्तो उम्मेदवार भएँ जस्ले आफ्नो क्षेत्रका दुवै प्रदेशसभा उम्मेदवार जिताउन सफल भएँ।’ दुवै जनालाई करिब ५ हजार भोटको अन्तरले जिताएर गर्व गरिरहेका डा. कोइराला आफू ६ सय ७५ मतले हार्नु पार्टी भित्रैको आन्तरिक कलहका कारण भएको जिकिर गर्छन्।  ‘यहाँ यस हारलाई अरुतिर जोडे पनि यसको एकमात्र कारण पार्टीभित्रको आन्तरिक द्वन्द्व र कलहको परिणाम हो,’ उनी भन्छन्। स्थानीयतहबाटै आन्तरिक रुपमा विवाद आएको उनको बुझाइ छ। मेयर, उपमेयर पदका लागि भएको विवाद पनि यस निर्वाचनमा पनि झल्किएको छ।

आफ्नो चुनावी प्रचार राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय समुदायलाई नपचेको पनि हुनसक्ने उनको आँकलन छ। डा. कोइरालाले यसअघि २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा विजयकुमार गच्छदारसँग हार व्यहोरेका थिए। यद्यपि संविधानसभामा प्रवेशका लागि गच्छदारले सुनसरी क्षेत्रलाई रोजेपछि मोरङको तत्कालीन क्षेत्र नम्बर ७ मा सम्पन्न उपनिर्वाचनमा डा. कोइराला विजयी भएका थिए। त्यसैगरी उनी २०७० सालको निर्वाचनमा गच्छदारलाई हराउन सफल भएका थिए।

मंसिर २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्