पाँच नम्बर प्रदेशमा आठ जना थारु नेता विजयी

दाङ निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित मेटमणि चौधरी र दाङ १(१) प्रदेशसभा सदस्यमा निर्वाचित सदस्य इन्द्रजीत थारु। तस्बिर: देशसञ्चार

दाङ– मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पाँच नम्बर प्रदेशमा ८ जना थारु नेता विजयी भएका छन्। थारु बाहुल्य रहेको प्रदेश नम्बर पाँचबाट प्रतिनिधि र प्रदेशसभातर्फ आठ जना थारु नेताहरु विजयी भएका हुन्।

एमालेका तर्फबाट चार जना, माओवादी केन्द्रका तीन र नेपाली कांग्रेसका तर्फबाट एक जना गरी आठ जना थारु नेता विजयी भएका छन्।
नेकपा एमालेका तर्फबाट दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फ केन्द्रीय सदस्य मेटमणि चौधरी विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रका तर्फबाट बर्दिया क्षेत्र नम्बर २ बाट सन्तकुमार थारु विजयी भएका छन्। यस्तै, प्रदेशसभातर्फ नेकपा एमालेका तर्फबाट रुपेन्देही निर्वाचन क्षेत्र नम्बर ३ को २ बाट तुलसीप्रसाद चौधरी, बर्दिया जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को १ बाट प्रदेशसभाका लागि कविराम थारु निर्वाचित भएका छन। नवलपरासी सुस्ता क्षेत्रको २ को १ बाट बैजनाथ थारु विजयी भएका छन्।

यसैगरी माओवादी केन्द्रका तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर १ को १ बाट इन्द्रजित थारु र बर्दिया निर्वाचन क्षेत्र नम्बर २ को २ बाट दिपेश थारु विजयी भए। नेपाली कांग्रेसका तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ को १ बाट डिल्लीबहादुर चौधरी विजयी भएका हुन्।

मंसिर २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्