दाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो

दाङ–दाङमा समानुपातिकतर्फको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेस पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो स्थानमा। तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छ भने चौथो स्थानमा राष्ट्रिय जनमोर्चा। विवेकशील साझा पार्टीले पाँचौँ स्थान सुरक्षित गरेको छ। छैटाैँ स्थानमा राप्रपा छ भने सातौँ स्थानमा नेकपा माले रहेको मतले देखाएको छ।

प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ७३ हजार ९ सय ९३ मत ल्याएको छ भने प्रदेशसभा तर्फ ६९ हजार ६५ मत ल्याएको छ। दोस्रो स्थानमा रहेको नेकपा एमालेले प्रतिनिधिसभातर्फ ७३ हजार ११ मत ल्याएको छ भने प्रदेशसभा तर्फ ६५ हजार एक सय ६७ मत ल्याएको छ।

तेस्राे स्थानमा रहेको नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ ४३ हजार एक सय ९५ मत ल्याएको छ भने प्रदेशसभा तर्फ ४४ हजार आठ सय १७ मत ल्याएको छ। चौथो स्थानमा रहेको राष्ट्रिय जनमोर्चाले चार हजार छ सय ८९ मत प्रतिनिधिसभातर्फ ल्याएको छ भने प्रदेशसभा तर्फ चार हजार छ सय ३५ मत ल्याएको छ।

त्यसैगरी दाङमा पाँचौँ स्थानमा रहेको विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ चार हजार पाँच सय ९१ ल्याएको छ भने प्रदेशसभातर्फ तीन हजार दुई सय ४३ मत ल्याएको छ। यस्तै छैटाैँ स्थानमा रहेको राप्रपाले प्रदेशसभामा एक हजार छ सय १७ र प्रदेशमा एक हजार नौ सय ५१ र नेकपा मालेले प्रतिनिधिसभामा एक हजार तीन सय ८६ र प्रदेशमा एक हजार चार सय ६२ मत प्राप्त गरेका छन्।

दाङमा समानुपातिकतर्फको मतगनणासँगै निर्वाचनका सबै काम समापन भएका छन्। जिल्लामा समानुपातिक तर्फ दुई लाख २९ हजार चार सय ५२ मत खसेको थियो। जिल्लामा ५० प्रतिनिधिसभा र २७ प्रदेशसभाका लागि दलहरुले सहभागिता जनाएका थिए।

मंसिर २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्