मध्यरातमा मच्चियो दरबारमार्गमा ताण्डव

क्लब डेजाबुमा तोडफोडपछि देखिएको दृश्‍य।तस्बिर: देश सञ्‍चार

कार्यक्रम सञ्चालकले निकै उत्साहसाथ राति दुई बजेसम्म पनि मार्समेलो आउँदै छन् भन्न छाडेका थिएनन्। त्यतिबेलै मार्समेलोले सामाजिक सञ्जाल ट्विटरमा लेखे, ‘नेपाल। हिजो राति काठमाडौंको डेजाभुमा आफ्नो प्रस्तुति दिन नसकेकोमा क्षमा चाहन्छु। मलाई धेरै ज्वरो आएको थियो। म आउन चाँहदा डाक्टरले दिएनन्। स्वास्थ्य पहिला आउँछ। म तपाईँहरुलाई माया गर्छु। बुझि दिनुभएकोमा धन्यवाद।’
बल्ल थाहा भयो, उनी नेपाल आएकै रहेनछन्।

‘यदि मार्समेलो नेपाल आएका थिएनन् भने किन साढे दुई बजेसम्म आयोजकले हामीलाई ढाँटिरह्यो। किन हामीलाई बेलैमा जानकारी गराइएन ?’ बिहीबार बिहान दरबारमार्गको नाइटक्लब ‘डेजाभु’को प्रवेशद्वारमा भेटिएका युवकले नाम उल्लेख नगर्ने सर्तमा भने जो डेजाभुमा बुधबार मध्यरातमा भएको तोडफोडमा सामेल थिए, चरम आक्रोशपछि।

भिडभाडमा हराएको मोबाइल पाइन्छ कि भन्ने आशामा ती युवक घटनाको भोलिपल्ट बिहानै त्यहाँ पुगेका थिए। बिहीबार बिहान अबेरसम्म ‘डेजाभु’को भित्री प्रवेशद्वार बन्द थियो, भागदौड हुँदा हराएका आफ्ना सामान खोज्न युवायुवतीको बाहिर झुन्डझुन्ड देखिन्थ्यो तर त्यहाँ सन्नाटा थियो।

डेजाभुका सुरक्षागार्ड भन्दै थिए, ‘भित्र फुट्न केही बाँकी छैन। अवस्था निकै बिजोग छ। कसैलाई पनि पस्न दिईएको छैन।’ त्
त्यतिबेलासम्म डेजाभुका सञ्चालक र इभेन्ट आयोजक दुवै त्यहाँ आइपुगेका थिएनन्।

दरबारमार्गबाट नक्सालतर्फ करिब ५० मिटर अगाडि बढेपछि एउटा गल्ली आउँछ, जुन बाटो भएर पुगिन्छ चर्चित नाइक्लब ‘डेजाभु।’

पछिल्लो समय नाइट इभेन्टहरु यस क्लबमा आयोजना हुन थालेपछि ‘डेजाभु’को चर्चा चुलिनु अस्वभाविक थिएन।

करिब ३५ सय दर्शक अट्नसक्ने क्षमता हुनु तथा व्यवस्थित र भित्रीरुपमा आकर्षक देखिनुले इभेन्ट आयोजकहरुको रोजाइमा ‘डेजाभु’ पर्ने गरेको छ। चर्चित अमेरिकी डिजे मार्समेलोले डेजाभुमा प्रस्तुति दिँदैछन् भनेर आयोजक ‘६१ लाइभ’ले केही महिनाअघिदेखि नै व्यापक प्रचार गरेको थियो। आयोजकले यतिसम्म साथ पायो कि हुवावे र नोभा मोबाइल तथा कार्ल्स बियरले कार्यक्रमको प्रायोजन गरे।

अनलाइन टिकट सोल्ड आउट भयो । टिकटहरु २५ सय, ३५ सय र पाँच हजार रुपैयाँ दरको राखिए पनि दर्शक पुरापुर तयार देखिए। बुधबार साँझ दरबार क्षेत्रमा युवायुवतीको बाक्लो चहलपहल थियो।

डेजाभुमा सात बजेदेखि सुरु भएको डिजेइङ १२ बज्दासम्म मार्समेलो आउलान नआउलान् भन्नेबारे दर्शकको ध्यान नै गएन। दर्शकलाई मार्समेलोले १२ बजेदेखि मनोरञ्जन गराउने भनेरै आयोजकले जानकारी गराएका थिए।

डेजाभुभित्र यति भिडामभिड थियो कि भित्र पस्न हम्मेहम्मे पर्थ्यो। स्रोतका अनुसार निर्धारित टिकट बिक्री भईसकेपछि पनि आयोजकले आएका सबैलाई चारपाँच हजारसम्म लिएर भित्र छिराइरहेका थिए। नेपाली डिजेले मात्र डिजेइङ गरिरहेपछि मार्समेलोको प्रतीक्षामा बसेकाहरु वाक्क हुँदै थिए।

आयोजकले उद्घोषकमार्फत बेलाबेलामा मार्समेलो बाटोमा आइरहेका छन् भन्न लगाइरहेका थिए। तर, मार्समेलोलाई नदेख्दा मदिरामा लठ्ठ दर्शक आक्रोशित हुँदै गए। त्यति नै बेला करिब दुई बजे बिहान उद्घोषकले मञ्चमा आएर भनें, ‘हामी क्षमा चाहन्छौँ। मार्समेलो बिरामी भएका कारण आउन सकेनन्।’

एक्कासी बियरका क्यान बोतल प्रहारबाट सुरु भएको तोडफोड दर्शकले हातले र खुट्टाले भेट्ने जति केही बाँकी राखेनन्। फुटाउन र भाँच्न मिल्नेजत्ति सबै फुटाइयो, भाँचियो। क्लबमा एक्कासी कोलाहल मच्चियो। यो क्रम आधा घन्टाभन्दा बढी समय चल्यो।

यसमा न प्रहरीले केही गर्न सक्यो, न क्लबभित्र रहेका सुरक्षागार्डले। चार पाँच जना प्रहरीको समूह गेटबाहिर रहे पनि उनीहरु निरीह देखिए। आक्रोशित दर्शकले क्लबबाट बाहिर निस्किएर पार्किङ गरेर राखिएका गाडीमा तोडफोड गरे, गेट भाँचेर आगो लगाए।

‘त्यहाँभित्र यतिधेरै मान्छे थिए कि प्रहरी गएर हुन सक्ने केही थिएन। मान्छे आफै संयमित हुनुको विकल्प थिएन’, महानगरीय प्रहरीवृत्त दरबारमार्गका एक प्रहरी अधिकारी भन्छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता रामदत्त जोशीले सुरक्षा कमजोरीका कारण घटना भएको बताए।

‘नाइट क्लबमा भएको कार्यक्रम भएकाले आन्तरिक सुरक्षा ब्यवस्थापनको विषय आयोजकको आफ्नो हो। यसमा प्रहरीले बाहिर रहेर सुरक्षा ब्यवस्था सहज मात्र बनाउँछ’, एसपी जोशीले भने। परिसरका अनुसार उक्त घटनामा एक जनामात्र घाइते भएको खुलेको छ। तर, नाइट क्लबमा आएकाहरुका अनुसार धेरै जना सामान्य घाइते भएका तर लाजले सार्वजनिक हुन चाहेका छैनन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आयोजक ‘६१ लाइभ’का प्रमुख रितेश मारवाडी र डेजाभुका सन्चालकलाई नियन्त्रणमा लिएको छ। यतिबेला तत्कालको चासो दर्शकको पैसा आयोजकले फिर्ता गर्छ कि गर्दैन भन्ने छ। स्रोतका अनुसार डेजाभुमा आगामी शनिबार नबिन के भट्टराईले प्रस्तुति दिने कार्यक्रम थियो जसको तयारी निकै अघिदेखि भइसकेको छ। यसबाहेक क्रिसमस पार्टीका लागि पनि डेजाभुको तयारी थियो।

अब सायद ती कार्यक्रमहरु हुने छैनन्।

मंसिर २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्