तीन पार्टीबाहेक कसैको धराैटी जोगिएन

पोखरा- प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कास्कीबाट १७ दल प्रतिस्पर्धामा थिए। तर १४ दलका उम्मेदवारले जमानत जोगाउन सकेनन्। उम्मेदवारी दर्ता गर्दा बुझाएको रकम फिर्ता पाउन खसेमध्ये १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरुको त्यो हाल भएको हो।
निर्वाचन आयोगको क्षेत्रीय कार्यालय पोखराका प्रमुख तथा निर्वाचन अधिकारी गंगालाल सुवेदीका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारले क्रमश १० र ५ हजार रुपैयाँ धरौटी बुझाएका थिए। कुल ९५ उम्मेदवारमध्ये १८ जनाबाहेकले धरौटी जोगाउन सकेनन्। एमाले माओवादी र कांग्रेसका ९/९ जना उम्मेदवारमात्रै धरौटी जोगाउन सफल भएका हुन्।
कास्कीमा वाम गठबन्धले ८ र कांग्रेसले १ सिट जितेको छ।
हारेकाहरुको पनि जमानत जोगिएको छ। पहिलो हुने जित्ने निर्वाचन प्रणालीमा दोस्रो र पहिलोबीचको अन्तरभन्दा तेस्रोको अझै अन्तर देखिएको छ। त्यसो हुँदा पनि उनीहरुले जमानत जोगाउन नसकेका हुन्। चर्चाको धेरै केन्द्रमा रहेको विवेकशील साझा पार्टीका कुनै पनि उम्मेदवारले जमानत जोगाउन सकेनन्। अर्काे वैकल्पिक शक्तिका रुपमा आएको नयाँ शक्तिका उम्मेदवारले पनि धरौटी रकम गुमाएका छन्।
कास्कीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पाटी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी नेपाल,राष्ट्रिय जनमोर्चा,नेकपा माले, नेपाल दलित पार्टी, मंगोल नेसनल अर्गनाइजेसन नेपाल, जनसमाजवादी पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली कांग्रेस बिपी लगायत १७ दलले चुनावमा प्रतिस्पर्धा गरेका थिए।
धरौटी रकम निर्वाचन परिणाम घोषणा भएको ९० दिनभित्र फिर्ता लिनुपर्छ। कास्कीमा प्रतिनिधिसभाका लागि ३ निर्वाचन क्षेत्रमा ३७ जनाले उम्मेदवारी मनोनयन गरेका थिए। प्रदेशसभाको ६ वटा निर्वाचन क्षेत्रमा ६४ जनाको उम्मेदवारी थियो।
कास्की १ बाट प्रतिनिधि सदस्य उम्मेदवारमध्ये एमालेका खगराज अधिकारीले जिते भने कांग्रेसका यज्ञहादुर थापा हारे। तेस्रो भएका संघीय समाजवादी फोरमका मनबहादुर गुरुङले ७८६ मात्रै मत पाए। क्षेत्र नम्बर २ पनि संघीय समाजवादी फोरम तेस्रो हुँदा उक्त पार्टीकी उम्मेदवार काशीमाया गुरुङले ४०७ मत ल्याइन्। क्षेत्र नम्बर ३ मा तेस्रो भएका विवेकशील साझा पार्टीका मिलन अधिकारीको पनि जमानत जोगिएन।
मंसिर २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्