भारतद्वारा निर्वाचनको स्वागत, विजयी बामलाई बधाई दिएन

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविसकुमार।

भारत सरकारले नेपालमा हालै सम्पन्न संसदीय तथा प्रदेशसभा निर्वाचनका लागि सरकार र जनतालाई बधाई दिएको छ तर बहुमतप्राप्त र भावी सरकारको नेतृत्व गर्ने जनादेश पाएको बाम गठबन्धन नेतृत्वलाई बधाई दिन कञ्जुस्याइँ गरेको छ।

साप्ताहिक मिडिया ब्रिफिङका क्रममा विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले बिहीबार भने, ‘इण्डिया नेपालमा सम्पन्न संसदीय र पहिलो प्रान्तीय निर्वाचनको स्वागत गर्दछ। हामी सरकार र नेपाली जनतालाई बधाई दिन्छौँ।’

दुई वर्षअघि संविधान जारी हुँदा भारतले त्यसको स्वागत नगरी त्यसबारे आफू सूचित रहेको टिप्पणीमात्र गरेको थियो। यसपल्ट निर्वाचनको स्वागत र सरकार तथा जनतालाई बधाई दिए पनि प्रवक्ता कुमारले भावी सरकारको नेतृत्वका लागि जनादेश पाएको बामगठबन्धनको उल्लेख गरेनन्, न त त्यसका नेतृत्वलाई बधाई नै दिए।

नेपालसँगको एेतिहासिक मित्रता स्मरण गर्दै उनले भने, ‘नेपालको आर्थिक सम्बृद्धिलगायत नेपाल भारतसम्बन्धका सबै पक्षहरुलाई अगाडि बढाउन सधैँ तयार छ। नेपालसँग भारतको प्राचीन, आफ्नै खालको र समयको कसीमा खरो उत्रिएको सम्बन्ध रहिआएको छ, नेपालसँग हाम्रो घनिष्ठ र बहुआयामिक र सबै क्षेत्रका साझेदारीलाई अगाडि बढाउन र शान्ति स्थायीत्व आर्थिक सम्बृद्धिलगायत सर्वपक्षीय विकासमा समर्थन जनाउन प्रजातान्तिक पद्धतिबाट निर्वाचित हुने नयाँ सरकारसँग काम गर्न हामी प्रतीक्षामा छौँ।’

राजनीतिक तहबाट बाममोर्चाका नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएको तथा नदिएकोबारे पनि प्रवक्ताले केही बताएनन्।

मंसिर २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्