झापा २ बाट निर्वाचित नेकपा एमालेकी पवित्रा निरौला खरेेल। तस्बिर: उमाकान्त खनाल।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) की पवित्रा निरौला खरेल प्रदेश नं १ बाट प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधित्व गर्ने एक्ली महिला सांसद बनेकी छिन्।

मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट पवित्रा निर्वाचित भएकी हुन्। उनले  नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजित गरेकी हुन्।

विसं २०७० सालको संविधान सभाको निर्वाचनमा पनि उनी झापा क्षेत्र नं २ बाटै उम्मेदवार बनेकी थिइन्। त्यसबेला कांग्रेसका सुधिर कुमार शिवाकोटीसँग पराजित बनेकी उनले यसपटक कांग्रेस झापाका सभापति थापालाई हराउन सकिन्।

झापा क्षेत्र नम्बर २ बाट निर्वाचित पवित्रा निरौलासँग कुराकानी

पवित्राको जन्म २०२० माघ २० गते झापाको दमकमा भएको हो। उनले आइएसम्मको अध्ययन गरेकी छिन्। उनले तीन दशकयता झापामा रहेर राजनीति गरिरहेकी छिन्। निरंकुश राज्य सत्ताको दबदबामा आफूलाई जोगाउनसमेत हम्मेहम्मे परेका बेला पनि राजनीतिमा उनी उत्तिकै सक्रिय रहिन्।

विसं २०३६ मा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षबाट प्रारम्भ भएको पवित्राको राजनीतिक यात्रा यतिबेला प्रतिनिधिसभा सदस्यमा पुगेको छ। विसं २०३८ मा अखिल नेपाल महिला संघको गाउँ समिति सदस्य हुँदै उनको राजनीतिक यात्राले गति लियो।

वि. सं २०६६ मा एमालेको जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हालेकी पवित्रा निरन्तर पार्टीमा क्रियाशील छिन्। त्यसयता उनले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बनेर काम गरेकी छिन्  भने अनेम संघको केन्द्रीय सदस्य भएर भूमिका निर्वाह गरिसकेकी छिन्।

राजनीतिक दलहरुले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा भाग लिनका लागि कन्जुस्याइँ गर्नुमा उनको तिब्र असन्तुष्टि छ। अझैसम्म पनि महिलाहरुलाई पछाडि पारिएको अवस्थामा उनले आफू महिलाहरुलाई सबल बनाउन काम गर्ने बताएकी छिन्। उनले महिलाहरुलाई शिक्षामा ५० प्रतिशत छुट दिइनुपर्ने बताएकी छिन्। प्रस्तुत छः विभिन्न विषयमा झापा सहकर्मी उमाकान्त खनालले उनीसँग गरेको कुराकानीको सारसंक्षेप।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा महिलाहरु उम्मेदवारी कम देखियो। कारण के हो?

महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा उठाउन राजनीतिक दलहरुले कन्जुस्याइँ गरेको हो। देशमा ५१ प्रतिशत भन्दा बढी महिलाको संख्या हुँदा महिला उम्मेदवारको संख्या बढाइदिएको भए राम्रो हुन्थ्यो। तर संवैधानिक व्यवस्था अनुसार समानुपातिकबाट ३३ प्रतिशत महिला पुग्लान्। तर प्रत्यक्षमा पनि महिलाको संख्या बढाउनुपर्थ्यो तर बढाइएन। महिलाहरु कमजोर छैनन्। महिला पनि आफ्नो ठाउँबाट उठ्न सक्ने स्थिति हुन्थ्यो र जनताले पनि महिलालाई विश्वास गर्ने एउटा आधार बन्ने थियो। त्यति हुँदा हुँदै पनि चुनाव लड्नमा महिलालाई प्राथमिकता नदिएकोमा दुःख लागेको छ।

राजनीतिक दलहरुले महिलाहरुलाई अविश्वास गरेको हो?

राजनीतिक दलहरुले मात्र महिलाहरुलाई अविश्वास गरेको भन्ने मलाई लाग्दैन। हाम्रो समाजको सोच नै सामन्ती छ। हिजैदेखि महिलाहरुलाई कमजोर ठान्ने स्थिति छ। महिलाहरु घरायसी काममा मात्र सीमित रहने, आय आर्जनका काममा महिलाहरुलाई सहभागी नगराउने परिपाटीले पनि महिलाहरु अहिले पनि पछाडि पारिएका छन्। महिलाहरु आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा अब्बल नभएका कारणले पनि महिलाहरुले सक्दैनन् भन्ने सोचले काम गरेको जस्तो मलाई लाग्छ। म आफैं पनि त्यसको भुक्त भोगी हुँ। यो भन्दा अगाडिको निर्वाचनमा मैले भोगेकै हुँ। अहिलेको निर्वाचनमा पनि मैले भोगें। यिनै कारणले हाम्रो समाजले महिलाहरुलाई त्यति सजिलै विश्वास नगरेको हो।

यसपालिको निर्वाचनमा जित निकाल्न तपाईंलाई कतिको गाह्रो भयो?

यसपाली मलाई पहिलाको भन्दा अलि सहज नै भयो। तर पनि मविरुद्ध जाल नबुनिएका होइनन्। तर त्यस्ता जाल तोड्न हामी सक्षम भयौं। मेरो क्षेत्रका मतदाताको सहयोग, मेहनत र मप्रतिको सद्भावले मैले जित निकाल्न सकें। मेरो पार्टीको संगठन मजबुद भएका कारण पनि मेरो जित सहज बन्यो।

कस्ता जालहरु बुनिए?

उदाहरणको रुपमा लिनुपर्दा विपक्षीले ‘थाङ्ने आइमाई’ भन्ने जस्ता कुरा पनि गरियो भन्ने कुरा मेरा पार्टीका साथीहरुले मलाई सुनाउनु भयो। तर सजिलै जवाफ दिएँ पुरुषहरु पनि थाङ्नाबाटै हुर्केका हुन्छन् भनेर। मैले विपक्षीलाई ठूलो गाली गर्नु पनि थिएन। अहिले त झन् गर्ने कुरा पनि भएन। मैले भनें आमा, बहिनी तथा चेलीहरुको अपमान नगर्नुहोस्। महिलाहरु रातदिन हिँड्न सक्दैनन् भन्ने कुरा गरे। मैले भनेँ, मान्छेका पखेटा हुँदैनन्। म केमा कमजोर छु भन्नु पर्यो। म पनि बोल्न सक्छु। मेरो जिब्रोमा केही भएको छैन पनि भन्नुपर्ने अवस्था आयो। मेरा खुट्टा छन् हिँड्न सक्छु भन्नु पर्ने समेत अवस्था नआएको होइन।

महिलाका लागि तपाईंले उठाउने आवाज के के हुन्?

संवैधानिक व्यवस्था अनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गरिए पनि समग्र महिलाको अवस्था राम्रो छैन। त्यसैले महिलालाई प्राविधिक शिक्षा पढाउनुपर्छ। आय आर्जनमा लगाउनुपर्छ। उनीहरुलाई प्राविधिक शिक्षा पढ्न ५० प्रतिशत छुटमा पढाइनुपर्छ। यसबाट महिलाहरुलाई अगाडि बढन र आर्जनका लागि बाटो खुल्नेछ। मेरो कार्यकालमा यति गर्न पाएँ भने ठूलो उपलब्धि हुनेछ। जब महिलाहरु सबल बन्छन् अनिमात्र समाज पनि अब्बल बन्छ। यो विभेद अन्त्य गर्नतर्फ म लाग्नेछु।

महिलालाई माथि उठाउनका लागि तपाईंको पार्टी एमालेको योगदान हुन जरुरी छ?

मेरो पार्टीले पनि महिलाको क्षेत्रमा धेरै काम गर्नु पर्नेछ। शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा अहिले देखिएको विभेदलाई अन्त्य गर्न मेरो पार्टी पनि लाग्नुपर्छ। महिलालाई विभेद गर्ने परिपाटि विरुद्ध नेकपा एमाले लाग्नुपर्छ। पार्टीका कमिटीहरुमा महिलाको संख्यालाई बृद्धि गर्दै लैजानु पर्छ। सबै पार्टीहरुले महिला प्रतिनिधित्वको संख्या बृद्धि गर्दै लैजान जरुरी छ।

तपाईंलाई हामी सबैको प्रतिनिधि भनेर सबै महिलाले कसरी गर्व गर्ने?

सबभन्दा पहिला म महिला हुँ। संघर्षबाट निस्केकी महिला हुँ। हामीकहाँ अझै पनि महिलाहरुलाई पछाडि पार्ने दुश्प्रयासहरु भइरहेका छन्। म त्यस्ता दुश्प्रयासविरुद्ध खरो रुपमा उत्रिन्छु। अर्को कुरा महिलाको शिक्षामा विशेष छुटको व्यवस्था ल्याउन मेरो योगदान रहनेछ। मलाई विश्वास गर्न सबैलाई आग्रह छ।

झापालाई कसरी विकास गर्नुहुन्छआवश्यक्ता के के हुन्?

विकास निर्माणका कामले गति नलिएको अवस्थामा मेरो पाँच बर्षे कार्यकालमा विकास निर्माणका काममा मेरो ध्यान जान्छ। बाटा, पुल तथा अन्य भौतिक पूर्वाधार निर्माणका लागि सम्बन्धित निकायलाई सक्रिय बनाउनेछु। झापा बहु भाषा, धर्म तथा संस्कृतिका मानिसहरुको बसोबास रहेको जिल्ला भएकाले ‘सबैको झापा’ बनाउनेतर्फ म लाग्नेछु। विभिन्न जात जातिका संग्रहालय बनाउनेतर्फ मैले योजना बनाएकी छु।

 

मंसिर २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्