समानुपातिक सूचीः दलहरुलाई बाख्राको मुखमा कुभिण्डो

काठमाडौँः दक्षिण एसियामा नै लैगिक समानताको नीति अँगाल्दै संसदमा एक तिहाइ महिलाको अनिवार्य उपस्थितिलाई संवैधानिक अनिवार्यता बनाएकाको नेपालमा अहिले त्यो प्रावधान नै राष्ट्रिय राजनीतिक दलका लागि बाख्राको मुखमा कुभिण्डो सावित हुन पुगेको छ।

२ सय ७५ सदस्यीय संघीय संसदमा न्यूनतम ३३ प्रतिशत (९२) र त्यही अनुपातमा राष्ट्रिय दलहरुमा पनि सांसद रहनुपर्ने संवैधानिक व्यवस्था भए पनि राजनीतिक दलहरुले प्रत्यक्षतर्फ ७ प्रतिशतमात्र महिलालाई टिकट दिएको र त्यसमध्ये ६ जनाले मात्रै जितेपछि संवैधानिक असन्तुलन पैदा भएको छ। जसलाई समानुपातिक पद्धतिको सूचीबाट सम्बोधन गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ।

नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोग समक्ष पेश गरिसकेको सूचीबाट महिलालाई ठूलो संख्यामा संसदमा पठाउनुपर्ने बाध्यता आएकाले राजनीतिक र धनका हिसाबले शक्तिशाली रहेका पुरुषहरुसँगै संवैधानिक हिसाबले सामेल हुनुपर्ने दलित, मधेसी, सीमान्तकृत जस्ता श्रेणीहरुका व्यक्ति पनि प्रतिनिधित्वबाट बञ्चित हुने सम्भावना देखिन्छ।

नेपाली कांग्रेसबाहेक अन्य सबै दलहरुले समानुतिकबाट चुन्ने लगभग सबै सांसद महिला नै हुनुपर्नेछ।

समानुपातिकको मतगणना अन्तिम चरणमा पुग्दा प्रत्यक्षतर्फकै रुझान प्रतिविम्बित देखिन्छ। नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्। संघीय संसदमा राष्ट्रियसभामा ५९ जना सदस्यमध्ये प्रत्येक प्रान्तबाट ८÷८ जना र राष्ट्रपतिबाट ३ जना मनोनीत हुने प्रावधान छ। प्रतिनिभिसभाका २ सय ७५ मध्ये अनिवार्यरुपमा ९२ जना महिला हुनुपर्छ। प्रत्यक्षबाट केवल ६ जना मात्रै महिला चुनिएका छन्। त्यसलै ८६ जना महिलालाई राष्ट्रिय दल बन्न सफल पाँच पार्टीले समानुपातिक सूचीबाट ल्याउनुपर्ने छ। तर प्रत्यक्षतर्फको असन्तुलित प्रतिनिधित्वका कारण केही पार्टीका लागि संवैधानिक व्यवस्था अनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न कठिन हुने देखिन्छ।

एमालेलाई सकस
निर्वाचनमा कुल खसेको मत १ करोड ८ लाख मतमध्ये एमालेले हालसम्म ३१ लाख १३ हजार २६५ मत हात पारिसकेको छ। उसले यही रुझान जारी राखेमा करिब ४१ वटा समानुपातिक सिट पाउने अनुमान गरिएको छ। प्रत्यक्षबाट जितेका ८६ र समानुपातिकको ४१ सिट जोड्दा कुल सांसद संख्या १ सय २७ हुन जान्छ। समानुपातिकका कम्तीमा ३९ स्थान महिला कोटामा पर्ने छन्। तर, चुनाव रुझानमा केही तलमाथि परेमा एमालेका लागि संवैधानिक कठिनाइ उत्पन्न हुनेछ।

प्रत्यक्षबाट दुईजना पवित्रा निरौला र पद्माकुमारी अर्याल मात्र निर्वाचित भएका छन्, एमालेबाट।

माओवादीमा बल्लतल्ल
प्रत्यक्षबाट ३६ जना सांसद पाएको माओवादी केन्द्रले समानुपातिकतर्फ केही मतगणना बाँकी छँदा १२ लाख ६६ हजार ७०८ मत प्राप्त गरेको छ। उसले समानुतिकमा १७ स्थान कमाउने छ। कुल ५३ सिटमा कम्तीमा १५ जना महिलाका लागि निर्धारित हुन्। माओवादीले प्रत्यक्षबाट जम्मा ३ जना महिला सांसद पाएको छ। त्यस हिसाबले माओवादीले आफ्ना अधिकांश समानुपातिक सांसद महिलालाई मात्रै बनाउनु पर्ने छ।

कांग्रेसलाई सहज
प्रत्यक्षबाट २३ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ झण्डै एमालेका हाराहारीमा या ऊभन्दा १ सिट कम हुने गरी ३० लाख ४५ हजार ८१० मत प्राप्त गरेको छ। महिलाको ३३ प्रतिशत सहभागिता सुनिनिश्चत गर्न कांग्रेसलाई प्रत्यक्ष र समानुपातिकमा गरी प्राप्त हुने कुल ६३ सिट मध्ये २१ सिटमा महिला पठाउनु पर्ने छ। कांग्रेसको प्रत्यक्षतर्फ एक जना महिलाले पनि जितेकी छैनन्।

यो हेर्दा महिलाको ३३ प्रतिशत सहभागिको सुनिनिश्चतासँगै कांग्रेसले कम्तिमा १९ जना पुरुष समेत सामेल गर्न पाउने छ, समानुपातिक सूचीबाट। त्यस अर्थमा उसले अरु पार्टीको तुलनामा भन्दा बढी सहजता महसुस गर्न पाउने छ।

संघीय समाजवादी फोरमले १० र राष्ट्रिय जनता पार्टीले ११ स्थान प्रत्यक्षमा जितेका छन्। त्यसलै समानुपातिकबाट उनीहरुको भागमा पर्ने सबै सिटहरु सम्भवतः ६/६ महिलाले कब्जा गर्ने छन्।

मंसिर २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्