काठमाडौँ- चुनावपछिको राजनीतिक र संवैधानिक परिस्थितबारे परामर्शकै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष तथा सम्भावित भावी प्रधानमन्त्री केपी ओलीसँग शुक्रबार भेट गरेकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाट र संसदको उपल्लो सदन राष्ट्रिय सभाको गठनबारे सरकारले पठाएको प्रस्तावमाथि विमति राख्दै राष्ट्रपतिले प्रधानमन्त्री देउवालाई त्यसलाई सर्वस्वीकार्य हुने गरी सच्चाउन आग्रह गरेको २४ घन्टापछि भएको ओलीसँगको भेटघाट मुख्यरुपमा त्यसै विषयसँग जोडेर हेरिएको छ । ओलीले राष्ट्रियसभाको गठन जनादेशसम्मत र सर्वस्वीकार्य हुने गरी आउनुपर्ने अडान दोहोर्‍याएको बुझिएको छ।

राष्ट्रपति भण्डारीले यसपछि माओवादीलगायत राष्ट्रिय हैसियत प्राप्त दल र संवैधानिक विज्ञहरुसँग परामर्श गर्ने बुझिएको छ। राष्ट्रिय सभाको गठनबिना संसदले पूर्णता पाउँछ कि पाउँदैन ? संसदको पूर्णताबिना संसद अधिवेशन बोलाउन सकिन्छ कि सकिँदैन ? संसद अधिवेशन बोलाउन नसक्दा सरकार गठनलाई प्रभाव पार्छ कि पार्दैन ? जस्ता महत्वपूर्ण प्रश्नहरुमाथि राष्ट्रपतिले अघोषित रुपमा छलफल शुरु गरेको देखिन्छ ।

शुक्रबार नै ओलीले बाम गठबन्धनको अर्को घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटी समान विचार बनाउन आग्रह गरेका छन्। एमाले महासचिव ईश्वर पोखरेलले निर्वाचनपछि दुईनेताबीच भेट हुन नसकेको र अब छलफलको सिलसिला प्रारम्भस्वरुप आजको भेटघाट भएको देशसञ्चारलाई बताए। सरकार गठन प्रक्रिया चुनाव नतिजा पूर्णरुपमा घोषणा लगत्तै हुने अडान बामगठबन्धनले लिएको छ भने नेपाली कांग्रेस संसदले पूर्णता नपाएसम्म देउवा पदमा यथावत रहने र नयाँ सरकारले सत्ता लिन नसक्ने अडानमा छ।

मंसिर २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्