विकासले राजनीतिक चेतना बढाउँछ कि घटाउँछ?

सौभाग्य शाहको पुस्तक विमोचन कार्यक्रमका सहभागी।

काठमाडौं-विकासले राजनीतिक चेतना बढाउँछ कि घटाउँछ ? अमेरिकी समाजशास्त्री जेम्स फर्गसनले आफ्नो अनुसन्धानबाट निष्कर्ष निकालेका थिए, ‘वैदेशिक सहयोगमा हुने विकास परियोजनाले स्रोतको खोजी, त्यसमा पहुँचका लागि संघर्ष आदिबाट विमुख गराउँछ । त्यसैले त्यस्तो विकास परियोजनाले राजनीतिक चेतना निर्माण गर्दैन ।’

फर्गसनको निष्कर्षलाई नेपाली अनुसन्धाता सौभाग्य शाहले भने गलत निष्कर्ष भएको ठम्याए । उनले विकास कार्यक्रमले राजनीतिक चेतना बढाउने र सामाजिक सुधारका लागि प्रेरित गर्ने निष्कर्ष निकाले । सिन्धुलीको भिमान गाविसमा विश्व खाद्य संगठनको अनुदानमा सञ्चालित ग्रामिण खाद्य उत्पादन वृद्धि परियोजना नामक विकासे कार्यक्रममा महिला नेतृत्वले खेलेको भूमिकाबारे अनुसन्धान गरेर उनले उक्त निचोड निकालेका थिए ।

शाहले भिमानका महिलाहरूले खेलेको भूमिकामा केन्द्रित रहेर गरेको विद्यावारिधी शोधको निष्कर्ष पुस्तक रूपमा प्रकाशित भएको छ । शुक्रवार पुस्तक रूपमा प्रकाशित उनको शोधपत्र ‘अ प्रोजेक्ट अफ मेमोरियालिटीः ट्रान्सनेसनल डेभलपमेन्ट एन्ड लोकल एक्टिभिज्म’ विमोचन भएको हो ।

के छ पुस्तकमा ?

पुस्तकको परिचय खण्ड लेखेका प्राध्यापक चैतन्य मिश्रका अनुसार यो पुस्तक भिमानका महिलाले सामाजिक परिवर्तनका लागि गरेको संघर्षको समाजशास्त्रीय अनुसन्धान हो। कृषि उत्पादन बढाउनका लागि गरिएको कार्यक्रमको नेतृत्व महिलाले लिए । तर, ती महिला केवल कृषि परियोजनामा मात्र केन्द्रित भएनन् ।

उनीहरूले महिला हिंसाको उजुरी सुन्न थाले, रक्सी विरोधी अभियान चलाउन थाले । ‘सौभाग्यले महिलाहरू कसरी सामाजिक आन्दोलनमा लागिपरे, त्यसमा सामाजिक संरचना, इतिहासको बहावले कसरी काम गर्यो भन्ने खोजी गरे’ मिश्रले भने, ‘पुस्तक त्यही प्रश्नको निष्कर्ष हो ।’

विमोचन कार्यक्रममा बोल्दै त्रिविमा मानवशास्त्रतर्फ एमफिल कार्यक्रमका प्रमुख प्राध्यापक विनोद पोख्रेलले सौभाग्य शाह परम्परागत मानवशास्त्रीय ढर्रा छोड्दै विकाससँग जोड्ने पहिलो नेपाली मानवशास्त्री भएको टिप्पणी गरे । अनुसन्धाता विम्बिका सिंजापतिले पुस्तकमा शाहले लैंगिक विभेदको भौतिक र प्रतिकात्मक आयामबारे उल्लेख गरिएको बताइन् ।

समाजशास्त्री युवराज लुँइटेलले पुस्तकले नेपालमा विकास परियोजनाहरूले कसरी काम गरिरहेछन् भन्नेबारेमा प्रष्ट पार्ने बताए । सोशल साइन्स बहाः कि दुयती बरालले पुस्तकले स्मृति र भविष्य जोडिएपछि कसरी स्मृतिले पनि सामाजिक रूपान्तरणमा भूमिका खेल्छ भन्ने खोज गरेको उल्लेख गरिन् । मानवशास्त्री सुरेश ढकालका अनुसार पुस्तकले व्यवहारिक अभ्यासलाई सैद्धान्तिक पाटोबाट व्याख्या गर्छ।

को हुन् सौभाग्य ?

अनुसन्धाता प्रत्युष वन्तका शब्द ‘जेन्टलम्यान स्कलर’ हुन् सौभाग्य । उनी २०१८ सालमा मुगुमा जन्मिए । त्यही चन्दन माविमा ४ कक्षासम्म पढे । ४ कक्षा पढ्दापढ्दै बुढानिलकण्ठ स्कुलमा छात्रवृत्तिमा पढ्ने मौका पाए । एसएलसी पढेपछि भारतमा गएर आइ. एस्सी. पढे।

नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसबाट बिए पास गरे । त्यही केही समय अंग्रेजी शिक्षक भए । केही समय गाविस सचिव पनि भए । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाटै समाजशास्त्रमा स्नातकोत्तर गरे । पढाई सकेर राष्ट्रिय समाचार समितिमा जागिरे भए । त्यहीबाट ‘द राइजिङ नेपाल’मा जागिर खाए । लगत्तै त्रिवि शिक्षा सेवा आयोगमा नाम निकाले । त्रिविमा पढाउन थाले । सोही समयमा अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा विद्यावारिधी गरेर नेपाल फर्किए।

उनका भाई अनुपविक्रम शाह भन्छन्, ‘उहाँले कहिल्यै पनि आफ्नोबारेमा गुनासो गर्नुहुन्थेन । धैर्यवान र मेहनती हुनुहुन्थ्यो ।’समाजशास्त्री सुधिन्द्र शर्माका अनुसार उनी भर्सटाइल थिए । विद्यार्थीलाई अध्ययन र अनुसन्धानमा प्रेरित गर्थे । पछिल्लो समय उनी त्रिभुवन विश्वविद्यालयमा ‘द्वन्द्व, शान्ति र विकास अध्ययन’ कार्यक्रमका संयोजक थिए । हृदयाघातका कारण २०६६ पुसमा उनको काठमाडौंमा निधन भएको थियो।

मंसिर २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्