देउवालाई तत्काल सरकार छाड्न आग्रह

धनगढी-  एमाले उपाध्यक्ष भीम रावलले नयाँ सरकार निर्माण र पार्टी एकीकरणको काम सँगसँगै अघि बढ्ने बताएका छन्। धनगढीमा एमाले कैलालीले गरेको सम्मान तथा बधाई कार्यक्रममा बोल्दै रावलले नयाँ सरकार निर्माणको कसरत सुरु भइसकेको बताए।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारबाट राजीनामा गर्न ढिलो गरिरहेको बताउँदै तत्काल सरकार छोड्न आग्रह गरे। जनताको नयाँ जनादेश आइसकेको अवस्थामा सरकार छोड्नुको साटो प्रधानमन्त्रीले नयाँनयाँ निर्णय गर्न खाजेको भन्दै रावलले बिरोध गरे। उनले अल्पमतमा परिसकेको सरकारलाई कुनै नयाँ निर्णय नगर्न आग्रह गरे। माओवादी केन्द्रसँग पार्टी एकीकरण र सरकार निर्माणको काम सँगसँगै अघि बढ्ने बताएका रावलले कांग्रेस नेता कार्यकर्तालाई एकीकरणका बिषयमा अनावश्यक टिप्पणी नगर्न आग्रह गरे।

सोही कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता लेखराज भट्टले अब माओवादी केन्द्र र एमालेबिचको पार्टी एकीकरण कसैले रोकेर नरोकिने दाबी गरे। उनले निर्वाचनमा दुबै पार्टीका समर्थकहरुले देखाएको एकताका लागि धन्यवाद ज्ञापन गरे। एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले र माओवादी केन्द्रबाट बिजयी भएका नेताहरुलाई सम्मानपत्र प्रदान गरिएको छ।

मंसिर २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्