‘मधेसी गठबन्धनका आधारमा प्रदेश २ को सरकार’

जनकपुरधाम- राष्ट्रिय जनता पार्टी नेपालका नेता एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र महतोले मधेसको मुद्दाप्रति मुख्य दल इमान्दार नरहेको उल्लेख गर्दै मधेसी गठबन्धनका आधारमा प्रदेश नम्बर २ को सरकार बन्ने बताएका छन्। शुक्रबार जनकपुरमा पत्रकारहरुसंँग कुरा गर्दै महतोले मधेशको सवालमा तीनवटै मुख्य दलको नियत सफा नरहेको बताए।

सरकारमा जाने वातावरण नबनेको स्पष्ट पार्दै उनले सरकार बनाउने पार्टीको भूमिका र मधेशप्रतिको व्यवहार हेरेर मात्र सरकारमा जाने उल्लेख गरे। उनले भने, ‘मधेशी गठबन्धनको निर्णय आधारमा प्रदेशको सरकार वन्ने छ र सहमतिअनुसार नै प्रदेशको मुख्यमन्त्री बन्ने छ।’

संविधान बनेको बेला सरकारमा रहेको एमाले, कांग्रेस र माओवादीले संविधानमा हस्ताक्षर गरेर मधेशको अधिकार खोसेको भन्दै उनले अब ती दलले संविधान संसोधनको कुरा गर्नु स्वार्थमात्र रहेको बताए। स्वार्थ पूरा भएपछि मधेशलाई बिर्सने गरेको एमाले, कांग्रेसले अहिले मधेशको सबालमा संविधान संसोधनको मुद्दा उठाउनुलाई उनले ‘मौसमी बाजा’ को संज्ञा दिए।

कांग्रेसले मधेसको मुद्दा सम्बोधन नभए आन्दोलनमा जाने भन्नु जनतालाई गुमराह गर्ने काम मात्र रहेको महतोको भनाइ थियो। कांग्रेसले चुनावअघि पनि भय त्रासको राजनीति गरिरहेको र अहिले पनि भय त्रासकै राजनीतिको सहारा लिइरहेको उनले बताए।

संघीय समाजवादी फोरमसँग पार्टी एकताको प्रयास जारी रहेको उल्लेख गर्दै सांसद महतोले एकता हुने सम्भावना बढेर गएको बताए। संघीयतामा प्रान्तको सीमा संख्या र नाम परिवर्तन हुने भएकाले दबाब सिर्जना भएपछि सीमांकनको समस्या आफैँ समाधान हुने उनले बताए।

पुस १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्