घर बनाउन खन्दा भेटियो देवीदेवतासहितको गुफा
बैतडी- यहाँको सिगास गाउँपालिका गाँजरीमा देवीदेवताका मूर्तिसहितको एउटा नयाँ गुफा फेला परेको छ।
सिगास गाउँपालिका–१ पानीफुट्टाको धारमा स्थानीय उज्ज्वलराम विकले नयाँ घर बनाउन ढुंगा निकाल्ने बेला शुक्रबार उक्त गुफा फेला परेको गाँजरी प्रहरी चौकीका इञ्चार्ज जनकबहादुर धामीले जानकारी दिए। उनले भने, ‘त्यसमा अद्भूत कलात्मक ढुंगा कुँदिएको पाइएको छ।’
दश फिट जति लामो गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति पनि छन् । धेरै पहिला गुफा फेला परेको उक्त ठाउँमा राति बत्ती बलेको जस्तो देखिने तर दिउँसो केही पनि नदेखिने गरेको बूढापाखाको भनाइ रहेको स्थानीय बासिन्दा गोकर्ण दयालले बताए। गुफा हेर्न स्थानीय बासिन्दाको भीड लागेको छ । (रासस)