भावी मुख्यमन्त्रीको योजना- दाङ केन्द्र, वरिपरि महानगरपालिका

दाङ– प्रतिनिधिसभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नं. २ मा एमालेको तर्फवाट शंकर पोखरेल र नेकपा माओवादी केन्द्रवाट कृष्णबहादुर महराको नाम दोहोरिएपछि शंकर पोखरेल पछि हटेर प्रचण्ड र केपी वलीको साझा उम्मेदवारको रुपमा प्रदेश सदस्यको उम्मेदवार बनेका थिए।

चुनावी अभियानमा उनी पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रुपमा अघि बढेका थिए। चुनाव जितेपछि पाँच नम्वर प्रदेशको मुख्य मन्त्रीको नाममा उनकै चर्चा छ। दाङ निवासी भएकाले पनि प्रदेशको राजधानी दाङमै वनाउने संकल्प लिएर उनले चुनावी अभियान चलाएका थिए।

शंकर पोखरेलसँग दङ्गालीहरुले मुख्यमन्त्रीसँग राजधानी साट्न सक्छन् कि भन्ने आशंका गरे पनि उनले भने दाङलाई केन्द्र मानेर विकासको महानगरपालिकाको अवधारणअनुसार अघि बढ्ने तयारी गरेको खुलाए।

पोखरेलले दाङलाई केन्द्र वनाएर तीन महानगरपालिकाको अवधारणा अनुसार विकास अघि बढाउने योजना रहेको वताए। देशसञ्चारसँगको कुराकानीमा दाङ निर्वाचन क्षेत्र नं. २(१) प्रदेशसभा सदस्यमा निर्वाचित पोखरेलले दाङलाई केन्द्र मानेर वुटवल र भैरहवालाई गाभेर महानगरपालिका, नेपालगञ्जलाई आधार मानेर अर्काे महानगरपालिका र दाङलाई पनि महानगरपालिका बनाएर संरचनागत विकास गरेर अघि बढ्ने योजना सुनाए।

प्रादेशिक राजधानी दाङ कि बुटवल भन्ने प्रश्नमा पोखरेलले दाङ नै राजधानी बनाउने गरी काम अघि बढेको बताए। ‘प्रदेशको संरचना शून्यबाट सुरु गर्नुपर्ने हुन्छ’, उनले भने, ‘सवै विषय छलफलबाट टुंग्याउँछौँ।’

पुस १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्