‘जब भुटान फर्कन पाइन्छ तब मात्र सञ्‍चले निदाउँछु’

भुटान नै फर्कन चाहने शरणार्थीहरु शिविरको छाप्रोमा। तस्बिर: उमाकान्त खनाल

विर्तामोड- जब नेपालमा नयाँ सरकार बन्‍ने तरखर हुन्छ वा बन्छ भुटानी शरणार्थीलाई अब घर फर्कन पाइन्छ कि भन्‍ने आश पलाउँछ । नयाँ सरकारले केही गरिदेओस्, भुटान र भारत सरकारसंग कुरा गरोस् र भुटान फर्कन पाउँ भनेर प्रत्येक भुटानी शरणार्थीले आश गरिराखेका हुन्छन् । तर अहिलेसम्म त्यो आशले सकारात्मक मोड लिन सकेको छैन । बरु तेस्रो देश पुनर्स्थापना कार्यक्रममार्फत ९० प्रतिशत भन्दा बढी भुटानी शरणार्थी अमेरिका, अस्ट्रेलिया तथा विभिन्‍न युरोपेली मुलुकहरुमा पुनर्स्थापित भएका छन् ।

शुक्रबार दमकमा आयोजित एक सार्वजनिक कार्यक्रमा पनि बेल्डाँगी र मोरङका शिविरमा बाँकी रहेका भुटानी शरणार्थीलाई अब बन्‍ने नयाँ सरकारले घर फर्कन पाउने उनीहरुको अधिकार कुण्ठित गर्न नहुने कुरा बक्ताहरुले व्यक्त गरे । शरणार्थी सम्बन्धी मुद्दा कुटनीतिक तहबाट समाधान गरिनुपर्ने वक्ताहरुले माग गरे । वक्ताहरुले स्थानीय तहबाट भन्दा पनि केन्द्रीय सरकारले कुटनीतिक ढंगले समस्या सामधान गर्नुपर्ने सुझाएका छन् ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले तेस्रो देश पुनर्वास पछि बाँकी रहेका १० हजार हाराहारी भुटानी शरणार्थीलाई कुटनीतिक तवरले कुरा गरेर घर फिर्ता पठाउनु पर्ने बताए । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले मानवीयताको नाताले स्थानीय तहबाट बस्‍ने ठाउँ उपलब्ध गराउन सकिए पनि आफ्नो ठाउँबाट समस्याको पूर्ण सामधान नहुने भन्दै अब बन्‍ने नयाँ केन्द्रीय सरकारमार्फत पहल गर्नुपर्नेमा जोड दिए । उनले तेस्रो देश पुनर्वास पछि बाँकी रहेका शरणार्थीको हकमा पनि दातृ निकायहरु पन्छिन नहुने प्रष्ट पारे ।

अर्का वक्ता मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिप राईले शरणार्थी समस्या सबै पक्षको सहकार्य र समन्वयमा सामधान गर्नुपर्ने सुझाब दिए । शरणार्थीहरुले घर फर्कन पाउने आश अझै मारेका छैनन् । मोरङको शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले अब बन्‍ने सरकारले शरणार्थीको स्वदेश फर्कन पाउने अधिकारका लागि पहल गरोस् भन्ने आश राखेका छन् ।

उनले भने, ‘अहिलेसम्मका सरकारले त केही गरेनन्। अबको सरकारले केही गर्छ कि भन्ने आश चाहीँ अझै छ ।’ उनले तेस्रो देश पुनर्स्थापनाको कार्यक्रम बन्द भएको अवस्थामा अब स्वदेश फिर्ती र स्थानीय समाजमा समायोजनको प्रस्ताव पनि खुल्ला गरिनुपर्ने बताए ।

तेस्रो देश पुनर्स्थापनाको कार्यक्रम बन्द भएपछि पुनर्स्थापनामा अयोग्य ठहरिएकाहरु स्वदेश पनि फर्कन सक्ने वातावरण नभएको उनले बताए । तेस्रो देश पुनर्स्थापनामा अयोग्य भएकाहरु भुटानमा पनि ‘मोस्ट वान्टेड’ भएका कारण भुटान जान नसक्ने परिस्थिति छ । शिविर सचिव राईले भने, ‘त्यस्ता शरणार्थीहरु नेपाल बस्नुपर्ने हुन्छ । त्यसैले सबै विकल्प खुल्ला गरिनुपर्ने आजको आवश्यक्ता हो ।’

पढेलेखेका, काम गर्न सक्ने र तिनीहरुका परिवारका सदस्य प्रायः तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम अन्तर्गत अमेरिका, अष्ट्रेलिया लगायत विभिन्न युरोपेली मुलुकहरुमा पुनर्स्थापित भइसकेका छन् । तर कतिपय बुढापाका, असहाय, अशक्त तथा अपांगहरुले तेस्रो मुलुक पुनर्स्थापनामा नजाने निर्णय गरेका छन् । युनएनएचसीआरका अनुसार करीब दुई हजारको संख्यामा त्यस्ता शरणार्थी शिविरमै रहनेछन् । शिविरमा रहनेहरुमा तेस्रो मुलुक पुनर्स्थापनामा अयोग्य ठहरिएकाहरु समेत हुने युएनएचसीआरले जनाएको छ।

विगत लामो समयदेखि बेल्डाँगी शिविरमा बस्दै आएका हर्कजंग सुब्बाले जब भुटान फर्कन पाइन्छ तबमात्र सञ्चले निदाउने प्रतिक्रिया दिए । उनी जब खेदिएर नेपाल आएर बस्न थाले, त्यसदिनदेखि चाडबाढ समेत नमनाएको अनुभव उनले सुनाए । त्यस्तै अर्का बृद्ध सन्तवीर घलेले अन्तिम सास भुटानमा नै लिने आफ्नो इच्छा रहेको सुनाए । उनले भने, ‘हामीलाई भुटान नै फर्कनु छ । हामीलाई अन्यायपूर्ण तरिकाले खेदिएको हो । त्यस्को न्यायका लागि हामी अनवरत लागिपरेका छौं ।’

पुस १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्