प्रत्येक सेकेन्ड ४० पटक चट्याङ

सांकेतिक तस्बिर

हामी सबैले जीवनमा आकाशबाट बिजुली खसेको वा चट्याङ खसेको सुनेका छौँ, देखेका छौँ। जानौँ यसबारेका केही रोचक जानकारी:

१. चट्याङसम्बन्धी अध्ययनलाई फुल्मिनोलोजी भनिन्छ।

२. विश्वभरिमा प्रत्येक वर्ष २० देखि २५ हजार मानिसको चट्याङबाट मृत्यु हुन्छ।

३. संसारभरि प्रत्येक सेकेण्डमा ४० पटक चट्याङ खस्छ। एक दिनमा सरदर ३४ लाख पटक चट्याङ खस्छ। यी सबै पृथ्वीसम्म आइपुग्दैनन्।

४. चट्याङको तापमान ३० हजार डिग्री सेल्सियससम्म हुन्छ। यो सूर्यको सतहको तापमानभन्दा ५ गुणा बढी हो।

५. चट्याङमा एक्सरे किरण हुन्छ।

६. चट्याङ ४ देखि ५ किमीसम्म लामो हुन्छ। यसको फ्ल्यास १ देखि २ इञ्चसम्म चौडा हुन्छ। चट्याङमा १० करोड भोल्टका साथै १० हजार एम्पियरको करेन्ट हुन्छ।

७. चट्याङले महिलाको तुलनामा पुरुष बढी मर्ने गर्छन्।

८. एउटा वैज्ञानिक शोधका अनुसार यसरी नै ग्लोबल वार्मिङ बढ्दै गइरह्यो भने सन् २१०० सम्म अहिलेको तुलनामा चट्याङ खस्नमा ५० प्रतिशतले बढोत्तरी हुन्छ।

९. भेनेजुएला देशको मारासाइबो तालमा अनवरत चट्याङ खस्छ। एक दिनमा १०–१० घण्टासम्म। वर्षभरिमा २४०–२६० दिनसम्म। यस तालमा प्रत्येक वर्ष १२ लाख पटकसम्म चट्याङ खस्ने गर्छ।

१०. चट्याङ खस्ने सबैभन्दा बढी सम्भावना दिउँसोको समयमा हुन्छ।

११. विपरीत ऊर्जा, बादलको घर्षणले चट्याङ खस्छ। बादलको आपसी घर्षणले विद्युत र ध्वनि उत्पन्न हुन्छ।

१२. चट्याङ खस्दा हामी पहिला प्रकाश देख्छौँ र त्यसपछि ध्वनि सुन्छौँ। यसो हुनुको कारण प्रकाशको गति ध्वनिभन्दा बढी भएकाले हो।

१३. सन् १९३९ मा अमेरिकाको उटाहमा चट्याङ खस्नाले एकै ठाउँमा ८३५ भेडा मारिएका थिए।

१४. सन् १९०२ मा चट्याङ खस्नाले आइफल टावरको माथिल्लो भाग क्षतिग्रस्त भएको थियो। यसलाई पछि मर्मतसम्भार गरियो।

१५. सन् १९९८ मा अफ्रिकी देश कङ्गोमा फुटबल खेल भइरहेको थियो। खेल मैदानमा चट््याङ खस्नाले एउटै टिमका ११ जना खेलाडी मारिए। तर, अर्को टिमका कुनै पनि खेलाडी घाइते पनि भएनन्।

१६. अमेरिकाको स्ट्याच्यु अफ लिबर्टीमाथि प्रत्येक वर्ष सयौँ पटक चट्याङ खस्छ।

१७. अफ्रिकी जनावर बोङ्गोले खोजीखोजी त्यस्ता काठ खान्छ, जसमाथि चट्याङ खसेको हुन्छ।

१८. बादल नभएको स्थानमा पनि चट्याङ खस्न सक्छ, किनकि चट्याङ केन्द्रबाट ३ किमी परसम्म खस्न सक्छ।

१९. हामीले खस्दै गरेको चट्याङको प्रकाश होइन, खसेर फर्किंदै गरेको प्रकाश देख्छौँ। चट्याङको प्रकाश तल आएर माथि उठ्ने काम २ माइक्रोसेकेण्डमा सम्पन्न हुन्छ।

२०. दि एम्प्यार स्टेट बिल्डिङमा वर्सेनि २३ पटकसम्म चट्याङ खस्ने गर्छ। एकपटक त यस बिल्डिङमाथि २४ मिनेटभित्र ८ पटक चट्याङ खसेको थियो।

२१. ध्वनि नभएको चट्याङ खस्दैन। यो हुन सक्छ तपाईंले प्रकाश त देख्नुभयो, ध्वनि सुन्नुभएन। किनकि प्रकाश तपाईं १६० किमी टाढाको पनि देख्न सक्नुहुन्छ तर ध्वनि भने २० किमी परको मात्र सुन्नुहुन्छ।

२२. उडिरहेको हवाईजहाजमाथि पनि चट्याङ खस्न सक्छ। तर यसले केही नोक्सान हुँदैन। सन् १९६३ देखि अहिलेसम्म हवाईजहाजमाथि चट्याङ खस्नाले कुनै दुर्घटना भएको छैन। आधुनिक हवाईजहाजलाई विशेष प्रकारको डिजाइनले अल्मुनियमबाट बनाइएको हुन्छ। यसले हवाईजहाजमाथि खसेको चट्याङलाई बाहिरी भागमा नै चारैतिर प्रसारित गरिदिन्छ। इन्धन ट्याङ्की बनाउने बेलामा यसलाई बिजुलीको उच्च प्रवाह प्रवाहित गरेर निर्माण गरिन्छ।

२३. चट्याङ खसेर मारिने व्यक्तिमा ८० प्रतिशत पुरुष हुन्छन्।

२४. चट्याङ खसेको मानिसको शरीरमा ‘लाइट्निङ ट्री’को आकृति बन्छ। यो आकृति रगतका नसा फुट्नाले बन्छ।

२५. अमेरिकाको फ्लोरिडा राज्यलाई ‘चट्याङको राजधानी’ भनिन्छ। विश्वभरिमा सबैभन्दा बढी चट्याङ फ्लोरिडा राज्यमा खस्छ।

२६. छिमेकी मुलुक भारतमा प्रत्येक वर्ष चट्याङबाट १८०० जनाले ज्यान गुमाउँछन्।

२७. आकाशमा बिजुली चम्किरहेको बेला फलाम वा अन्य धातु वा रूखको मुनि उभिनु हुँदैन। चट्याङ विद्युतको चालकको खोजी गर्न पृथ्वीतिर आउने गर्छ।

२८. अनादिकालदेखि विश्वका प्रायः सबै देशमा चट्याङ खस्नुलाई ईश्वरले पृथ्वीवासी पापका लागि दण्डित गरेको विश्वास गरिन्थ्यो।

२९. आदिमकालमा चट्याङ जस्तो प्राकृतिक विपदाका कारण मानिसले ईश्वरको परिकल्पना अघि सारेको हुन सक्ने बलियो सम्भावना रहेको छ।

३०. हिन्दू धर्म संस्कृतिमा चट्याङको देवता इन्द्रलाई मानिन्छ।

३१. ग्रिक र रोमन संस्कृतिमा चट्याङको देवता जुपिटरलाई मानिथ्यो।

३२. चट्याङ तीन प्रकारको हुन्छ । विस्तृत, रेखावर्णी र गोलाकार।

३३. भवनहरूलाई चट्याङबाट जोगाउन बेञ्जामिन फ्रैङ्कलिन निर्मित चट्याङ दण्ड नै श्रेष्ठ उपाय हो।

३४. चट्याङबाट डराउने रोगलाई अस्ट्राफोविया भनिन्छ।

३५. चट्याङ बन्ने प्रक्रिया बादलभित्र, दुईवटा बादलका बीच र बादल र पृथ्वीको मध्यमा हुने गर्छ।

(ज्ञानमित्रद्वारा लिखित ‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ पुस्तकबाट)

पुस १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्