सिंगापुरलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौं-थाइल्यान्डमा जारी एसिसी यु–१६ इस्टर्न रिजन च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ।

आइतबार भएको फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हरायो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर एक सय ८३ रन जोडेको थियो ।

नेपालको पालीमा कप्तान विशाल विक्रम केसीले सवार्धिक ६३ रन बनाए ।

नारायण जोशीले ४६ रन बनाए । सुबास ऐरले २२, तृतराज दासले १९ र सुनिल भन्डारीले १५ रन बनाए ।

विशालले ७९ बलमा एक छक्का र चार चौका प्रहार गरे ।

६६ रन जोड्दा चार विकेट गुमाएको नेपालले पाँचौं विकेटका लागि ४२ रन र छैटौं विकेटको लागि ४८ रनको साझेदारी गरेको थियो।

सिंगापुरले निर्धारित ३१.५ ओभरमा सबै विकेट गुमाएर केवल १ सय १२ रनमात्र जोड्न सक्यो ।

सिंगापुरको पालीमा साई हर्स बेनुगोपालले ३१, अर्नव वार्दवाले २१, राओल शर्माले १५,इशान सनीले १२ र प्रमेश सिंहवीले ६ रन जोडे ।

नेपालका बलर अजय कुमार लुनिया र सुर्य तामाङले तीन तीन विकेट लिए । नारायण जोशी र कुशल मल्लले एक एक विकेट हात पारे ।

नेपाल सहभागी एसिसीकङला हरेक यु–१६ क्रिकेट प्रतियोगितामा नेपाल कम्तिमा फाइनल पुगेको छ ।

एसिसीले सन् २०१० मा एसिसी यु–१५ र यु–१७ एलिट कपलाई मर्ज गरी यु–१६ एलिट प्रतियोगिता आयोजना गरेको थियो ।

नेपालमा आयोजित उक्त संस्करणमा नेपाली टोली फाइनलमा पुगेपनि उपाधि भिडन्तमा सिंगापुरसँग पराजित भएको थियो ।

त्यतिबेला एलिट कप पहिलो श्रेणी र च्यालेन्जकप दोस्रो श्रेणीको प्रतियोगिता थियो |

सन् २०१२ मा आयोजित एसिसी यू–१६ एलिट कपमा पनि फाइनल पुगेको नेपाली टोली उपाधि भिडन्तमा मलेसियासँग निराश भएको थियो ।

एसिसीले सन् २०१४ देखी आफ्ना सदस्यलाई प्रिमियर (प्रथम श्रेणी) र एलिट (दोस्रो श्रेणी)बर्गमा बाँडेर आयोजना गर्न थालेपनि त्यो एक संस्करणमात्र चल्यो ।

त्यहि संस्करणमा नेपाल विजेता बनेको थियो । त्यसयता भने एसिसीले यु–१६ क्रिकेट प्रतियोगिता आयोजना गरेको यो नै पहिलो पटक हो ।

तर एसिसीले यसपटकदेखी आफ्ना सदस्यलाई भौगोलिकरुपमा बाँडेर प्रतियोगिता आयोजना गर्न थालेको छ उमेरस्तरमा , इस्टर्न र वेस्टर्न रिजनका रुपमा ।

समुहगत चरणमा तीनवटै खेल जितेको नेपालले सेमिफाइनलमा मलेसियालाई ७२ रनले हराएको थियो ।

पुस २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्