ओलीले भने, देउवा खेलका बीच नियम फेर्दै छन्

फाइल फोटो

काठमाडौं- नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार कामचलाउ भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि नियुक्ति गर्न नपाउने जिकिर गरेका छन्।

आइतबार राजधानीको होटल अन्‍नपूर्णमा वाम गठबन्धनले आयोजना गरेको संयुक्त पत्रकार सम्‍मेलनमा उनले भने, ‘अहिले सरकार काम चलाऊ हो। त्‍यसैले सत्तामा बसेर जे मन लाग्‍यो, त्‍यही गर्न मिल्‍दैन।’ उनले अब प्रधानमन्त्री देउवाले सत्तामा बसेर अध्‍यादेश जारी गर्न नमिल्‍ने बताउँदै राजीनामा दिएर सहजता प्रदान गर्नु पर्ने सुझाव दिए। आफूले प्रधानमन्त्री पद छोड्दा नयाँ प्रधानमन्त्रीलाई सहजै बाटो फुकाएको ओलीले बताए। अहिले त्यो परम्पराविपरित शेरबहादुर देउबा अघि बढेको उनले आरोप लगाए।

‘सरकारको अनैतिक, प्रधानमन्त्रीका अनैतिक गतिविधि, उहाँले परामर्शका नाममा गरिरहेका क्रियाकलापहरुप्रति हाम्रो ध्यान गएको छ,’ ओलीले भने। काम चलाउको हैसियतमा रहेको सरकारले दुरगामी महत्वका निर्णय र नियुक्ति गर्ने तयारीमा रहेको आरोप लगाउँदै त्यसो नगर्न उनले चेतावनी दिए।

‘निर्वाचनका समयमा पनि त्यसै गर्‍यो। अहिलेको अवस्थामा त्यस्तो गर्नु संवैधानिक, कानुनी, राजनीतिक वा नैतिक कुनै पनि तवरले सही हुँदैन,’ उनले भने, ‘त्यसो गर्नु खेलको बीचमा नियम परिवर्तन गर्नु हो ।’ अब  बन्‍ने बामको सरकारले तीन महिनामा सबै काम गरेर देखाइदिने उनको दाबी गरे। भने, ‘हामी भारत विरोधी होइनौ। हुने छैनौ। हाम्रो नेतृत्वको सरकारले तीन महिनामै सबै काम गरेर देखाउँछ।’

बामगठबन्धनको साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ले आफुलाई प्रधानमन्त्री बन्ने लोभ नभएको र आर्थिक समृद्धि तथा देश विकासका लागि आफूले योगदान दिन चाहेको बताए । सरकारको आयु सकिसकेकाले नियुक्ति र आदेश दिन नमिल्‍नेसमेत उनले बताए। उनले भने, ‘अब निर्वाचित सरकारले सबै कामलाई सहज बनाउने हो। काम चलाउले होइन।’

 

पुस २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्