धुलाबारी बजार छेउमा दिनभर हात्ती डुलेपछि..

धुलाबारी- मेचीनगर नगरपालिका १० धुलाबारी बजार छेउमा आठ वटाको समूहमा आएको जंगली हात्तीका कारण आइतबार दिनभर धुलाबारीको जनजीवन त्रासमय भएको छ।
बिहान ५ बजे आएको हात्तीको समूह त्रिफला पुस्तकालय र धुलाबारी माविको बिच भोगेन्द्र नेम्बाङ्गको घर पछाडीको बाँसबारीमा यो समाचार तयार पार्दासम्म बसिरहेको छ ।
हात्तीले मानवीय क्षति नगरोस भनेर ड्युटीमा बसेका इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी सहायक निरीक्षकका अनुसार ५ बटा माउ र ३ बटा बच्चाको साथमा आएको जंगली हात्तीको समूह दिनभर धुलाबारी बजार पूर्वमा रहेको झाडीमा बसेको थियो ।
झापाको दक्षिणी क्षेत्र जलथल तर्फबाट आएको हात्तीलाई भगाउन बिहान साइरनको प्रयोग गरिए पनि सफल नभएको र साझँ परेपछि पुनः प्रयास गरिने प्रहरीले जानकारी दिएको छ।
हात्ती बसेको वरपर नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती गरिरहेको छ।