प्रदेश नम्बर एकमा एमाले प्रदेशसभा सदस्य पूर्वसञ्चारमन्त्री शेरधन राई, पूर्वसंस्कृति तथा पर्यटनमन्त्री भीम आचार्य र पछिल्लो समय प्रदेश नम्बर १ एमाले सचिव जीवन घिमिरे दौडमा देखिएका छन्।प्रदेश नम्बर एकमा एमाले प्रदेशसभा सदस्य पूर्वसञ्चारमन्त्री शेरधन राई, पूर्वसंस्कृति तथा पर्यटनमन्त्री भीम आचार्य र पछिल्लो समय प्रदेश नम्बर १ एमाले सचिव जीवन घिमिरे दौडमा देखिएका छन्।

पूर्वसञ्चारमन्त्री राईले पहिलो चरणको निर्वाचन अन्तर्गत भोजपुर क्षेत्र नम्बर १ को २ बाट २० हजार ३ सय ३४ मतसहित प्रदेशसभा सदस्यमा जित हात पारेका छन्। त्यसैगरी पूर्वसंस्कृति पर्यटनमन्त्री आचार्यले सुनसरी क्षेत्र नम्बर १ को २ बाट २० हजार २ सय ११ मतसहित प्रदेशसभाको टिकट काटेका छन्। घिमिरेले मोरङ क्षेत्र नम्बर ४ को २ बाट १३ हजार ८ सय ५ मतसहित जित हासिल गरेका हुन्।

ओली निकट राईले प्रदेश नम्बर एकको मुख्यमन्त्रीको दौडमा आफू एक्लो भएको बताउँछन्। प्रदेशसभामा जित हात पारेपछि भोजपुरको गाउँमा घरदैलोमा रहेका राईले देशसञ्चारसँग कुरा गर्दै दुईपटक संविधानसभामा जित हात पार्दै कार्य गरेको र सञ्चारमन्त्री पनि रहिसकेको हुँदा प्रदेशको जिम्मेवारी वहन गर्नसक्ने दाबी गरेका छन्। उनी भन्छन्, ‘प्रदेशको भौगोलिक अवस्था, जातीय सन्तुलनलाई पनि हेक्का राख्नुपर्छ। तथापि अब बस्ने पार्टी बैठकले गर्ने निर्णयलाई आफूले आत्मसात गर्नेछु।’

विद्यार्थी राजनीतिक समयदेखि नै राईले पार्टीको विभिन्न जिम्मेवारीलाई सफलतापूर्वक सम्हाल्दै आएका छन्। मधेश आन्दोलनपछि तत्कालीन समय पार्टी वरिष्ठ उपाध्यक्ष अशोक राईसहित इतरका नेताहरुले अन्य दल रोजेपछि शेरधनको पार्टीमा भूमिका थप सशक्त बन्दै गएको हो। संघीय समाजवादी फोरम नेपालका नेता अशोक राई सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन्।

त्यसैगरी मुख्यमन्त्रीका अर्का दाबेदार प्रदेश इन्चार्ज भीम आचार्य हुन्। संस्कृति तथा पर्यटन मन्त्रालयको जिम्मेवारी वहन गरिसकेका आचार्य मुख्यमन्त्रीकै दौडका लागि प्रदेशसभामा आएका हुन्। मुख्यमन्त्रीको विषयमा पार्टीमा छलफल हुने र अहिले नै मुख्यमन्त्री को भन्ने विषयमा कुरा राख्नु अपरिपक्व हुने उनको भनाइ छ। ‘दलभित्र सबैको सरसल्लाह अनि सर्वदलीय सहमतिबाट मुख्यमन्त्रीको चयन हुने हुँदा अहिले नै म दाबेदार हुँ भन्नु अपरिपक्व हुनेछ,’ उनी स्पष्ट पार्छन्।

अब बन्ने प्रदेशसभा र संसदीय प्रणालीबाट नेता चयन गरिने र त्यसपछि मात्र मुख्यमन्त्री तय गरिने विषयमा उनी स्पष्ट छन्। उनी पार्टी निर्णयको प्रतिक्षामा छन्। आचार्य माधव नेपाल खेमा निकट मानिन्छन्। उनले सुनसरी १ को २ मा कांग्रेस नेता बुद्धिबहादुर कट्वाललाई ७ हजार २ सय ४७ मतान्तर हराएका हुन्।

उनीसँगै प्रदेश नम्बर एकको राजधानी विराटनगर हुनुपर्नेमा जोड दिँदै आएका एमाले प्रदेश सचिव जीवन घिमिरे पनि पछिल्लो समय मुख्यमन्त्रीको दौडमा उभिएका छन्। मोरङ क्षेत्र नम्बर ४ को २ बाट कांगे्रस नेता विश्वनाथ रिजाललाई २ हजार १ सय ८० मतान्तर हराउन सफल घिमिरे भन्छन्, ‘राजधानीका लागि जोडतोडले लागेका छौँ र मुख्यमन्त्रीका लागि पनि।’

बामगठबन्धनको अर्को खेमा नेकपा माओवादी पक्ष भने ६०/४० को भागबण्डाको अवस्था भएकाले मुख्यमन्त्रीका विषयमा छलफल हुनुपर्नेमा जोड दिन्छ। अबको एक महिनाभित्र प्रदेशसभाको बैठक बस्नुपर्ने भएकाले अस्थायी रुपमा मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको भवनलाई कामकाजका लागि प्रयोगमा ल्याउनेबारे छलफल भइरहेको छ।

पुस २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्