मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा

तेह्रथुम-जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस गए। पण्डित बन्‍ने सोचमा रहनुभएका उहाँले जाँदा’ आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाए। त्यहाँको जनजीवन र जीवनशैली पनि देखे तर उनलाई आफूले पढेको विद्या र जजमानी पेसाभन्दा त्यहाँको व्यावसायिक खेती र जीवनशैलीले प्रभावित पार्‍यो।

दार्जिलिङवासीले गरेको व्यावसायिक खेती देखेपछि भट्टराईले गाउँ फर्किएर आव २०४२/०४३ बाटै गाउँमा अदुवा खेती अभियान चलाए। सुरुमा उनी आफैँले र सँगसँगै छिमेकीलाई पनि अदुवाको व्यावसायिक खेतीमा लाग्न सुझाए।

विसं २०५१ तिर गाउँका धेरैले अदुवा रोपिसकेका थिए । जान्ने बुझ्नेले व्यावसायिक रुपमै अदुवाखेती लगाउन थालेका थिए । परम्परागत बालीभन्दा बढी आम्दानी दिने भएपछि भट्टराईले अदुवा खेतीलाई व्यावसायिक बनाउनुुभयो र ०५२ सालमै रु ९० हजारको अदुवा बेचेको उनी जानकारी दिए।

विसं०५४ सालपछि अदुवाको बजार झण्डै एक दशकसम्म निरन्तर ओरालो लाग्यो । त्यतिबेला अदुवा तीन/चार रुपैयाँ प्रति केजीले कारोबार भएको भट्टराईको गुनासो थियो । ‘मैले अदुवाखेती गरेको एतिका वर्षमा उही अदुवा प्रति केजी तीन रुपैयाँले पनि बेचेको छु।’ उनले भने, ‘अनि कुनै वर्ष प्रति केजी ११० रुपैयाँले पनि कारोबार गरेको छु ।” बजारमा ह्वात्तै गिरेको अदुवाको शाख ०६१ सालपछि फेरि उदायो ।

विसं २०६१ मा आफूले अदुवा रू ११० प्रति केजीले बेचेको वर्ष रू एक लाख आम्दानी भएको थियो । त्यसयता उहाँले हरेकवर्ष कम्तीमा रू ३०/४० हजारदेखि डेढ लाखसम्म आम्दानी गर्दै आए। गाउँ–गाउँमा अधिक मात्रामा अदुवा उत्पादन हुन थालेपछि विसं २०७० पछि फेरि अदुवाले बजार पाउन छाडेको उल्लेख गर्दै भट्टराईले २०७१ सालमा अदुवाको मूल्य प्रतिकिलो पुनः ३–४ रुपैयाँमा झरेको बताए। सो वर्ष धेरैले अदुवाबारीमै राख्दा–राख्दै कुहिएको पनि थियो । त्यसयता भट्टराईले अदुवाको बजार पर्खिएर सोहीअनुसार खेती लगाउँदै आएको छ।

यो वर्ष भट्टराईले बीउका लागि मात्रै अदुवा रोपेका छन्। यो वर्ष आफूले दुई क्वीन्टल मात्रै रोपेको र त्यसबाट करिब १५ क्वीन्टल उत्पादन हुने उहाँको अनुमान छ । त्यसले आफूसहित माग गर्ने अरु कसैलाई समेत बीउको रुपमा काम गर्ने उनले बताए।

‘गतवर्ष पनि खासै भाउ थिएन, योवर्ष पनि अदुवाको याम सुरु हुँदै निकासीमा समस्या छ, खासै भाउ नपाउला, त्यही भएर मैले बीउका लागि मात्र खेती गरेको हूँ,’ भट्टराईले भने। विसं २०५१ सालयता अहिलेसम्म निरन्तर अदुवाखेती लगाउँदै आउनु भएका उहाँ गाउँमा अदुवा विशेषज्ञ जस्तै हुनुभएकाले उनलाई अदुवाखेतीका अभियन्ताको रुपमा चिनिन्छ । जलजले गाउँका झण्डै पाँच सय बढी घरधुरीले अहिले अदुवाखेती लगाएका छन्।

भट्टराईलाई गतवर्ष जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मान गरेको थियो। केही वर्षयता अदुवामा रोगको संक्रमण बढेकाले नेपाली अदुवाको गुणस्तर घटेको भट्टराईले बताए। गुणस्तर घटेपछि अन्तर्राष्ट्रिय बजारमा अदुवाको माग घटेको उनको बुझाइछ। त्यसकारण अदुवाको मूल्य घटेकाले अदुवाको व्यावसायिक खेती संकटमा परेको भट्टराईले जानकारी दिए।

गाउँमा अदुवासहित कृषि कर्ममै लागौँ भनेर ‘रुखो, पाखो बचाऔँ, एक पटक श्रम देउ, फिर्‍योभने लिन जाउ’ भन्दै अभियान थाल्नुभएका भट्टराईको गाउँ अहिले हरियाली भएको छ । उनले भने, पहिले हाम्रो मेहेरबुङ गाउँको नाम सुन्दै कहालिलाग्दो अवस्था थियो, न पानी थियो, न हरियाली, रुख बुट्टा नै ।’ गाउँका अधिकांशले पाखो बारी खनजोत गरेर बाली लगाएपनि उत्पादन भने हुँदैनथ्यो । उनले त्यही उत्पादन नहुने जमिन बाँझो जमिनलाई विकास गर्न भने, ‘अनि त्यो बाँझो पाखामा अम्रिसोलगायत नगदेबाली लगाउन सुझाउनु पनि भयो । अहिले मेहरबुङमा खानेपानीका मुहान रसाएर स्थानीयवासीलाई पानी पुग्दो भएको भटृराईले बताए। प्रकाश धौलाकोटी/रासस

पुस २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्