दाङको स्पोर्ट्स स्कुल र न्यु बुद्ध अन्तिम आठमा

धनगढी- दाङको स्पोर्ट्स स्कुल फुटबल एकेडेमी र फुलबारीको न्यू बुद्ध युवा क्लव धनगढीमा जारी तेस्रो संस्करणको फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्।

आइतबार भएका खेलमा फराकिलो अन्तरको जित दर्ता गर्दै दुवै टोली अन्तिम आठमा प्रवेश गरेका हुन्। भारतको हल्द्वानी ब्वाइज नआएपछि आयोजक फारवेस्ट पशुपति युवा क्लव ए पनि सिधैं सेमिफाइनल प्रवेशका लागि खेल्न पाउने भएको छ।

धनगढी रंगशालामा आइतबार भएको पहिलो खेलमा दाङको स्पोर्ट्स स्कुल फुटबल एकेडेमीले घरेलु टिम धनगढीको हसनपुर युवा क्लवलाई ८–० को फराकिलो अन्तरले किनारा लगाएको हो। एकेडेमीलाई जिताउन हस्तराज गिरी र गणेश नेपालीले ह्याट्रिक गरे। गिरीले पहिलो हाफको १७, दोस्रो हाफको ४८ र ६२ मिनेटमा गोल गरे। ह्याट्रिकसहित ५ गोल एक्लै गरेका गणेश नेपाली म्यान अफ द म्याच भए।

दोस्रो खेलमा न्यु बुद्ध युवा क्लबले चौमालाको मंगल युवा क्लवलाई ६–४ को अन्तरले हरायो। निकै प्रतिष्पर्धात्मक खेलमा न्यु बुद्धका लागि सुन्दर घिसिङले ह्याट्रिक गरे। उनले पहिलो हाफको २० र २६ औं तथा दोस्रो हाफको ४० औं मिनेटमा गोल गरे।

न्यु बुद्धका लागि दोस्रो हाफमा लक्ष्मण शाहीले ५५, सुरज शाहीले ५७ र वाल्टर चौधरीले ६७ औं मिनेटमा एक एक गोल थपे। मंगल युवा क्लवले दोस्रो हाफमा नै चार गाेल फर्कायो। मंगल युवा क्लबका लागि विनोद चौधरीले ३८, अर्जुन चौधरीले ५८ र योगेन्द्र चन्दले ७७ औं मिनेटमा गोल गरे। एक गोल आत्मघाती भयो । न्यु बुद्धका सुन्दर घिसिङ म्यान अफ द म्याच भए।

यो खेलसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको छ। सोमबारदेखि  क्वाटरफाइनलका खेलहरु हुनेछन्।

पुस २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्