काठमाडौँ-आँखाको भाका बुझेर आउ सुस्तरी सुस्तरी,
मधुर गीत गजल गाउ सुस्तरी सुस्तरी
दर्शकले भरिएको हलमा एकनास ताली बजिरहेको छ। गजलमा भनिएझैँ वातावरण एकाग्रमा सुस्तरी सुस्तरी सुस्ताइरहेको छ। लाग्छ, दर्शक श्वासको आवाज पनि निकाल्न तयार छैनन्।
यस्तै दृश्य थियो शनिबार जमलस्थित नाचघरमा।
सेतो एप्रोन लगाएर अस्पतालका बहिरङ्ग र शल्यकक्ष कक्षमा बिरामीसँग उनका समस्या बुझ्दै गरेका भेटिने चिकित्सक शनिबार भने अलग्गै रंगमा भेटिए। जमलस्थित राष्ट्रिय नाचघरको माथिल्लो कक्षमा शनिबार भेला भएका चिकित्सकका साथमा न बिरामी थिए, न त्यहाँ कुनै शिविर चलिरहेको थियो।
चिकित्सा शिक्षा र सेवालाई सहज रुपमा तीन करोड नेपालीको पहुँचमा पुर्याउनुपर्छ, जनताका छोराछोरीले सजिलै सस्ता–सुलभ रुपमा चिकित्सक बन्न पाउनुपर्छ भन्दै १३औँ पटकसम्म अनशन बस्नुभएका डाक्टर गोविन्द केसी पनि छुट्टै उत्साहमा उपस्थित थिए।
उनीमात्र होइन, हातमा सिरिन्ज र चिरफारका बन्दोबस्तीका सामानसहित गंगालालको शल्यकक्षमा हुने डा रामेश्वर कोइराला, डा समीर शर्मा, स्वास्थ्यका भाषालाई जनताले बुझ्नुपर्छ भन्दै सञ्चारमाध्यमबाट वकालत गर्ने डा सुवास प्याकुरेललगायतको चिकित्सा शिक्षा पढ्दै गरेका विद्यार्थीलगायत टोली नाचघरमा भेला भएका थिए।
डा केसीसहितको भेला भनिसकेपछि कतिपयले सोच्नुहोला डाक्टरसाप फेरि अनशन बस्न त थालेनन्!
पक्कै होइन । त्यसरी भेला हुनुको सन्दर्भ थियो, मेडिकल लिट्रेचर मेला २०१७। उपस्थित चिकित्सक कुनै चिकित्सकीय सेमिनारमा नभएर छुट्टै विधा साहित्यको विधामा आफ्ना अन्तरमुखी प्रतिभा, सिर्जना सुनाउन र सुन्न आएका थिए। सधैँ राजनीतिक दल र मेडिकल माफियालाई गाली गर्दै अनशन बसिरहने डा केसी आफ्नै कथा सुनाउन आएका थिए। जहाँ आउँछ विपत्ति त्यहाँ पुग्छन् डा केसी भन्ने उक्ति उनको यात्रा अनुभव सुन्दै गर्दा जो कोहीले सोच्न सक्थे।
देशका साबिकका ७५ जिल्ला कम्तीमा तेहराई पुगेको भन्दै केसीले उपचार सेवाकै लागि आफूलाई विभिन्न ठाउँमा पुग्दै गर्दा हरेक स्मृति क्यामरा कैद गर्न मन लाग्ने रुचिका बारेमा दर्शकलाई बताए। देशभित्र र बाहिर हाइटी, पास्कितान, भारतलगायतका विभिन्न देशमा विपत्तिका समय पुगेर बिरामीलाई उपचार गर्ने क्रममा लिइएका तस्बीर हेर्दा दर्शकलाई त्यही ठाउँमा पुगेको भान हुन्थ्यो । ती तस्बीर कुनै पेशेवर फोटोग्राफरको भन्दा कम लाग्दैनथे।
चिकित्सक र सहित्यको सम्मिश्रण कति लोभलाग्दो छ भन्ने बुझ्न जनस्वास्थ्य एक दर्जनभन्दा बढी साहित्य कृति प्रकाशन गरेका प्रजनन तथा बालस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र समीरका लधुकथा सुने पुग्छ। अलिअलि व्यंग्य तर छोटो र थोरै शब्दमा चाहेको सन्देश सजिलै पाठकसम्म पुर्याउन खप्पिस डा समीरले चिकित्कीय पेशाका क्रममा भइरहने गतिविधिलाई लघुकथामा समेटेका थिए।
साहित्य क्षेत्र अझ मेडिकल साहित्य क्षेत्रमा एउटा छुटाउनै नहुने नाम कमाएका डा. समीरका तेस्रो आँखा ९२०५३०, पोस्टमार्टम ९२०६२०, विकीरण ९२०६३०, ईश्वरका कथा ९२०६५०, अर्जुनदृष्टि ९२०६७०, अणु र पहाड ९२०६९०, व्यङ्ग्यम शरणं गन्छामी ९२०७०० र एकलव्य दृष्टि ९२०७१०लगायत अन्य विधाका कृति पनि प्रकाशित छन् ।
चिकित्सकीय व्यस्तताका बीचबाट सुटुक्क समय निकालेर दुई पुस्तकसमेत निकालिसकेका मुटुरोग विशेषज्ञ तथा सर्जन डा रामेश कोइरालाले साहित्य लेखनमा चिकित्सा पेशाः साधक कि बाधक भनेर आफ्ना अनुभव साट्दै गर्दा लाग्यो अस्पताल त साहित्यका लागि कथाको भण्डार पो हो।
चिकित्सकीय सेवामा आउन पढ्दै गरेका चिकित्सकका विद्यार्थीलाई उनी भन्दै थिए, ‘बुझ्न र देख्न सकेमा अस्पतालमा जति लेखनका लागि विषयवस्तु र कथा अन्यत्र भेटिन्न, यति हो त्यसलाई हामीले साहित्यमा ढाल्न सक्नुपर्छ ।’
चिकित्सकहरु पेशेवर लेखकजस्तो हुन सहज नभएको उनको अनुभव थियो। आयोजकमध्यका एक चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका एमबिबिएसका विद्यार्थी विषद् दाहालले चिकित्सकले समाउने कलमले बिरामीका मात्र औषधिको नाम मात्र लेख्दैनन्, साहित्यका शब्दलाई कृतिमा उतार्न पनि सक्छन् भन्ने मेलामा सुनाइएका साहित्य सिर्जनाले प्रस्ट पारेको बताउँदै थिए ।
डा. सरोज धितालले पनि कला र साहित्यका बारेमा बताइरहँदा चिकित्सकहरु पाठ्यपुस्तकमा मात्र होइन, साहित्य विधामा बेजोड दखलबारे आँकलन गर्न सकिन्थ्यो । साहित्यकार दुर्गममा रहेर त्यहाँको कुरीतिलाई चिर्नसमेत लागिपर्ने परिचारिका राधा पौडेल, सुलोचना मानन्धरका कविताले साहित्यको गहिराइमा पुर्याएको थियो।
नाचघरका प्रबन्ध निर्देशक राजेश थापाले चिकित्सकको साहित्य सिर्जनाले नयाँ अनुभव भएको भन्दै आगामी दिन चिकित्सकका साहित्य कार्यक्रमका लागि निशुल्क हल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
दिनभर डेक्समा बसेर चिकित्सकका लेख, स्वास्थ्यकै समाचार, बिरामी हुनबाट बचाउने उपायका बताउन शब्दहरुसँग खेल्ने स्वास्थ्यखबर पत्रिकाका डेक्स सम्पादक तथा गजलकार जनक पौड्यालले चिकित्सकका बीचमा आफ्ना गजल गाउँदै गर्दा नौलो अनुभव भएको प्रतिक्रिया दिइरहेका थिए।
मेलाको बिट मार्नुअघि पौड्याल भन्दै हुनुहुन्थ्यो —
आँधीबीच एक्लो हुँदा नाउ जिन्दगीको
नदुखेको कस्को छ र घाउ जिन्दगीको
समयले देखाउँछ हिँड्नुपर्ने बाटो
नियती चालिदिन्छ पाउ जिन्दगीको