‘कांग्रेस ले टिकट बाँड्दै नातावाद र निकटलाई मात्र छान्यो’

विराटनगर- प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस तेस्रो स्थानमा खुम्चिएको छ। २०७० सालमा पहिलो स्थानमा रहँदै जनताको राम्रो साथ पाएको कांग्रेस ४ वर्षभित्रमा किन यति तल खस्यो?

कांग्रेस हार्‍यो वा आन्तरिक वैमनस्यताले कांग्रेसलाई यो अवस्थामा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्यो?

प्रत्यक्षतर्फ २३ सिटमा सीमित कांग्रेसको टिकट वितरणबाटै दुरावस्था सुरु भएको थियो  भन्छन् केन्द्रीय सदस्य गुरु घिमिरेले।

घिमिरेसँग देशसञ्चारको छोटो कुराकानी।

गुरुजी, कांग्रेस यो अवस्थामा पुग्ला भन्ने अनुमान थियो ?

यति धेरै होला भन्ने थिएन। तर, दसैपूर्व भएको बाम तालमेललाई कांग्रेसले सहीरुपमा पहिचान गर्न भने नसकेकै हो। यो एउटा कारकतत्व रह्यो, अरु पनि छन्। वामगठबन्धको सफलता आँक्न नसक्नु र लोकतान्त्रिक गठबन्धन भनेर अन्य दललाई उकास्नुले नै पछि परेका हौं।

अरु के कुराले असर गर्‍यो?

अहिलेको नतिजामात्र हेर्‍यौँ भने न्यायसंगत हुँदैन। टिकट प्रणालीबाटै त्रुटि हुँदै आएको थियो। यहाँ नेताहरुले आफ्नो र परको भन्दै फरक छुट्टयाएपछि घटनाक्रम बाक्लिएको हो। टिकट वितरणमा आफ्नो भन्दै नजिक र नातावादमा लाग्नेलाई अघि बढाएपछि, निष्ठापूर्वक राजनीति गर्नेहरु निर्वाचन अभियानबाट बाहिरिनु स्वभाविक नै थियो। यहीँबाट दुरवस्था सुरु भएको हो। नयाँ पुस्ताका लागि स्थान देखिएन। बरु नेताहरुमा नयाँ पुस्तालाई कसरी ठेगान लगाउने, रोक्ने मानसिकता नै देखियो। तीनपटकको निर्वाचनमा पाखा लगाइएको मध्ये म पनि एक हो। हामीलाई त लामोसमयदेखि नेतृत्वतहले रमिते मात्र बनाइराख्यो।

के टिकट वितरण मिलाउन नसकेकै हो पार्टी नेतृत्वले?

टिकट वितरण नै मनोमानी ढंगबाट भएको छ। मोरङको हकमा हेर्ने हो भने यहाँ पहाडी, खस, आर्य, आदिवासी, खवास, चौधरीलगायत विभिन्न जातिको बसोबास छ। यहाँ जनताले प्रतिनिधि खोजेका थिए र टिकट यहाँ आफ्नो निकट, इतरका लागि उपलब्ध गराइयो। यसले पनि मोरङको निर्वाचनमा कांग्रेसमा त्यो लहर देखिएन, जुन स्थानीयमा देखिएको थियो। प्रतिनिधिसभा सदस्यलाई नै प्रदेशसभा सदस्यको टिकट वितरणको अधिकार दिनु कांग्रेसको ठूलो कमजोरी हुनपुग्यो। त्यहीँबाट यहा उम्मेदवार चयनमा आग्रह पूर्वाग्रह देखियो। यसमा सन्तुलन कायम गर्न नेतृत्वतह असफल भएको छ।

यस अवस्थामा केही नेताहरु भने विशेष महाधिवेशनको माग गरिरहेका छन् नि?

अहिले विशेष महाधिवेशनको कुरा अघि सार्नुभन्दा पनि पहिले कार्यसमिति बैठक बस्नुपर्‍यो। मुख्यतः सो बैठकमा पदाधिकारीहरुले यस नतिजाको समीक्षा सूक्ष्म रुपमा गर्नुपर्‍यो। महाधिवेशनको पनि प्रक्रिया छ । रेडियो, टिभी, पत्रिकामा आफ्नो विचार पोख्दैमा महाधिवेशन हुँदैन।

निर्वाचनमा जसरी आन्तरिक द्वन्द्वका  कारण कांग्रेसको यो नतिजा आयो भनिएको छ, के २०५९ सालमा दुई चिरा पर्दै ०६४ मा एक भएको कांग्रेसबीचको खाडल पुरिएको रहेनछ भन्न सकिन्छ?

पक्कै पनि। तत्काीन समयको संस्थापन पक्षधर र प्रजातान्त्रिक पक्षधर २०५९ सालमा फुटेर पुनः २०६४ सालमा एक भए पनि त्यसको एकता यस निर्वाचनमा देखिएन। दुवै पक्षबीच राम्रो गठजोड भएकै रहेनछ। खाडल पुरिन बाँकी नै रहेछ जसलाई टिकट वितरणमा भएको व्यवहारले पनि दर्साएको थियो र अहिले नतिजाले पनि।

अब कांग्रेस कसरी अघि बढ्नुपर्छ?

जनादेशलाई आत्मसात गर्दै कांग्रेसभित्र बृहत समीक्षा आवश्यक छ। पार्टीलाई मजबुत बनाउन र पार्टीभित्र व्यापक एकता खोजी गर्न आबश्यक छ। अब हिजोको ढर्राबाट पार्टी अघि बढ्न गाह्रो छ। समयमै पार्टी सभापति, वरिष्ठ नेता, महामन्त्री, लगायत हामी सबै आआफ्नो स्थानबाट जिम्मेवारी लिनुपर्छ  सभापतिको यसमा भूमिका र जिम्मेवारी अझ बढी रहन्छ। पार्टी सच्चिनुपर्छ र बदलिँदो परिस्थितिअनुसार आफूलाई अघि बढाउने क्षमताको विकास गर्न सक्नुपर्छ।

पुस ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्