दक्षिण अमेरिकामा दक्षिणपन्थीको अर्को विजय

एजेन्सी-सन् २०११ मा विश्‍वभरकै सञ्‍चारमाध्यममा एक सुन्दर युवती छाएकी थिइन्। निःशुल्क शिक्षाको लागि विद्यार्थी आन्दोलनको नेतृत्व गरेकी ती दक्षिण अमेरिकी युवती चिलीको क्यामिलो भाल्लिजो थिइन्।

विश्वभरकै सञ्चारमाध्यममा स्थान ओगट्ने गरी भएको आन्दोलनको नेतृत्व गर्ने ती युवती नेपालमा पनि चर्चाको विषय बनेकी थिइन्। तिनै क्यामिलो भाल्लिजोको मुलुक चिलीमा राष्ट्रपति पदमा पूर्व राष्ट्रपति एवं रूढीवादी अर्बपति सेबस्टीएन पिनेरा निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनमा खसेका मत मध्ये ५४ प्रतिशत भन्दा बढी मत प्राप्त गरेर उनी विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी वामपन्थी नेता अलेज्यान्ड्रो गुलियरले चार वर्षको अनुपस्थिति पछि राष्ट्रपति पदमा फर्कन सफल भएकोमा पिनेरालाई बधाई दिएका छन्। ‘चिली भ्यामोस गठबन्धन’को प्रतिनिधित्व गर्ने पिनेरा सन् २०१०मा चिलिकै पहिलो रूढीवादी राष्ट्रपति बनेका थिए । त्यतिबेला उनले दुई दशक लामो वामपन्थी शासनलाई पराजित गरेका थिए।

पिनेराको विजयसँगै अहिलेसम्म समाजवादी राष्ट्रपति मिचेल ब्याचलेटले चिलिमा दक्षिणपन्थि शासन सुरू हुने प्रष्ट भएको छ । योसँगै दक्षिण अमेरिकामा दक्षिणपन्थीहरूको अर्को विजय हुनेछ । यसअघि अर्जेन्टिना, ब्राजिल र पेरूमा दक्षिणपन्थी नेताहरूले विजय पाइसकेका छन्।

यसपटकको निर्वाचनमा विदेशमा रहेका चिलीयनहरूसमेत गरी झण्डै एक करोड ४० लाख मतदाता थिए जसमध्ये जम्मा ४८ दशमलव ५ प्रतिशतले मत खसाएका थिए। विजय भएपछि पिनेराले एकता कायम गर्न आह्वान गरेका छन् ।’चिलीलाई विवादभन्दा पनि सहमतिहरूको आवश्यकता छ’, उनले भने, ‘भविष्यको यात्राले हामीलाई जोड्नेछ। कहिलेकाहीँ विगतको कथाले हामीलाई छुट्याउने गर्छ।’

पुस ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्