लाइसेन्स पाउने कहिले कहिले?

काठमाडौं- कैलाली घर भई बानेश्‍वर बस्दै आएका बिरेन्द्र बोगटीले ट्रायल पास गरेको ३ महिना भयो। तर उनले अहिलेसम्म मोटरसाइकलको लाइसेन्स लिन सकेका छैनन्। यातायात व्यवस्था विभाग, मीनभवनमा भेटिएको बोगटी निरास हुँदै भने, ‘यहाँ चार पटकसम्‍म धाइसके। लाइसेन्स पाउने कहिले कहिले ? कुनै टुंगो छैन।’

विभाग परिसरमै भेटिएका अर्का सवारी चालक हुन्, सिन्धुपाल्चोक घर भई राजधानीमा ड्राइभिङ गर्दै आएका चन्द्र तामाङ। उनको पनि यही गुनासो छ।

उनी भन्‍दै थिए, ‘हेभी गाडीको ट्रायल पास गरेको २ महिना बितिसक्‍यो। लाइसेन्स आउने पत्तो छैन।’ यस्तै एक बैंकमा कार्यरत दृष्टि श्रेष्ठ चौथोपटक विभाग पुग्दा पनि निरास थिइन्। उनको पनि लाइसेन्स नबनेकै समस्या थियो। श्रेष्ठले देशसञ्चारसँग पीडा सुनाउँदै भनिन्, ‘प्राय म दिउँसोको लन्चटाइममा लाइसेन्सकै कारण साथीलाई आग्रह गरेर यहाँ आउँछु। तर यहाँ पुग्दा भने कामै हुँदैन।’

यता यातायात व्यवस्था विभागका एक कर्मचारीले डिजिटल लाइसेन्स दिन सुरु गरेपछि सेवाग्राहीले समस्या भोग्दै आएका बताए। उनले भने, ‘लाइसेन्सको काम नभएर यहाँ आउनेको संख्या धेरै हुने गर्छ। २०७२ मंसिरबाट उपत्यकामा डिजिटल लाइसेन्स दिन थालेको विभागले उपत्यका बाहिर भने गत साउनदेखि डिजिटल लाइसेन्स दिन सुरु गरेको हो।’

विभागका प्रवक्ता टोकराज पाण्डे लाइसेन्स वितरण सुस्त भएको स्वीकार गर्छन्। उनी भन्छन्, ‘विभागले पूर्ण क्षमताका साथ काम गर्दा पनि सेवाग्राहीले समयमै लाइसेन्स पाउन सकेका छैनन्।’ उनले हालसम्म २ लाख ८० हजारलाई डिजिटल लाइसेन्स दिइसकेको जानकारी दिए। उनका अनुसार, हाल विभागसँग डिजिटल लाइसेन्स बनाउन करिब २० हजार मात्र कार्ड हुँदा २ लाखभन्दा बढीले लाइसेन्स बनाउने आवेदन दिएका छन्।

पाण्डे सुस्त सेवा प्रवाह हुनुमा डिजिटल लाइसेन्स प्रिन्ट गर्ने चार प्रिन्टरमध्ये एउटा बिग्रेर काम नगर्नु, प्रिन्टर सेवाग्राहीको चाप भन्दा कम हुनु लगायतका कारण रहेको बताउँछन्। विभागले यी समस्या समाधान गर्न ५ नयाँ प्रिन्टर र ७ लाख ५० हजार थान कार्ड किन्‍न टेण्डर गरिसकेको उनले बताए। सार्वजनिक खरिद ऐन बमोजिम टेण्डर भएकाले अबको करिब ४० दिन भित्र विभागले सामान डेलिभरी पाउने उनले जानकारी दिए।

अदूरदर्शी विभाग
करिब दुई वर्षअगाडि उपत्यकामा डिजिटल लाइसेन्स दिन सुरु गरेको विभागले प्रिन्टर थप्‍ने प्रक्रिया सुरु नगरेर चरम लापरबाही गरेको छ। राजधानीमा नै व्यवस्थित तवरले लाइसेन्स दिन नसकेको अवस्थामा पूर्वाधार थप नगरी उपत्यका बाहिर पनि डिजिटल लाइसेन्स दिने विभागको निर्णयमा पनि त्रुटि रहेको देखिन्छ।

विभागले डोनर एजेन्सीको दबाब थेग्न नसकेर उपत्यका बाहिर पनि डिजिटल लाइसेन्स दिन सुरु गरेको विभागका एक उच्च कर्मचारीले बताए। उनले भने, ‘डिजिटल लाइसेन्समा डोनर एजेन्सीको लगानी भएकाले उसैको दबाबमा उपत्यका बाहिरबाट पनि डिजिटल लाइसेन्स दिन सुरु गरेको र उसैले दिएको पैसाले नयाँ प्रिन्टर र कार्ड किन्‍न विभागले टेण्डर गरेको हो।’

विभाग प्रवक्ता पाण्डे नयाँ कार्ड र प्रिन्टर आएपछि पनि पुराना लाइसेन्स क्लियर गर्दै एक साताभित्र नयाँ लाइसेन्स पाउने व्यवस्था गर्न अझै ६ महिना बढी समय लाग्ने बताउँछन्। उनले एक प्रिन्टरले दिनमा ६ देखि ७ सय लाइसेन्स प्रिन्ट गर्ने हुँदा ९ वटै प्रिन्टरले काम गर्दा पनि पुराना किल्यर गर्दै लाइसेन्स वितरणलाई ट्रयाकमा ल्याउन समय लाग्ने बताए।

 

पुस ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्