भुटानीलाई जब आफ्नै देश दुश्मन भयो

शिल्पी थिएटरमा मञ्‍चन भईरहेको नाटक 'हरियो ढुंगा’को एक दृश्य।तस्बिर: विनीता मरहट्टा

काठमाडौँ- नागरिकतासम्बन्धी नयाँ कानुन ल्याएपछि भुटानका नेपालीभाषीहरु राज्यको विभेदमा परे। उनीहरु गिरफ्तार हुन थाले। सरकारको विभेदकारी नीति र दमनले उनीहरु देश छोड्न बाध्य भए।

त्यसरी आफ्नै देश छोड्न बाध्य भुटानीहरु शरण खोज्दै भारत आए। भारतले शरणको मरण गरेपछि उनीहरु नेपाल भित्रिन थाले। सन् १९९० देखि नेपाल छिरेका भुटानी शरणार्थीहरुको मुद्दाले सन् १९९२ देखि चर्को रुप लिन थाल्यो।

राज्य नै पराई भएपछि देश छोडी आएका भुटानीहरुले नेपाल आएपछि निम्न वर्गीय श्रमिकको जीवन बिताउनुपर्‍यो। झापाको बेलडाँगीमा बसालिएको शरणार्थी क्याम्पमा उनीहरुले कुनै दिन देश फर्किन पाइएला भन्ने आशमा दिन कटाउन थाले। बिस्तारै भुटानी शरणार्थी मुद्दाको अन्तर्राष्ट्रियकरण पनि भयो।

सन् २००७ मा संयुक्त राष्ट्रसंघको शरणार्थी आयोगले उनीहरुलाई अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका आठ विकसित देशमा लैजाने निर्णय गर्‍यो। उक्त निर्णयलाई कति शरणार्थीले स्वीकारे र तेस्रो मुलुक गए। तेस्रो मुलुक जान नचाहेका शरणार्थी अहिले पनि त्यही शिविरमा छन्।

शिल्पी थिएटरमा मञ्चन भईरहेको नाटक ‘हरियो ढुंगा’ले तेस्रो मुलुक लैजाने निर्णयपछि भुटानी शरणार्थीको परिवारमा आएको विग्रह र छाएको एक्लोपनको कथा भन्छ ।

शरणार्थी क्याम्पको संघर्ष र दुखी जीवन अनि तेस्रो मुलुक लैजाने निर्णयले पारेको प्रभाव नियालेर उपेन्द्र सुब्बाले कथा लेखे, ‘हरियो ढुंगा’। ‘लाटो पहाड’ नामक कथा संग्रहमा संग्रहित त्यही कथालाई लिएर सुनिल पोखरेलले बनाएको नाटक अहिले काठमाडौँको शिल्पी थिएटरमा मञ्चन भइरहेछ। नयाँ र पुराना कलाकारलाई समावेश गरेर नाटक तयार भएको छ।

नाटक जे बोल्छ
खोलाको बगरमा शिविर छ। शिविरमा अहिले शून्यता छाइरहेछ। शरणार्थी हुँदा साथ दिएका आफन्तहरु पनि धेरैजसो तेस्रो मुलुक गए। त्यसैले शिविर रित्तो छ। परित्यक्त गाउँको बुढो चौपारीजस्तो शिविरमा अब केही वृद्ध आँखाहरु अझै पनि आफ्नै देश फर्किन पाउने आशा लिएर बसिरहेछन्। यहि विषय वरिपरी नाटक घुमेको छ।

कलाकारको जत्था नै भए पनि हरेकको महत्वपूर्ण भूमिका देखाइएको छ। कुनै पात्रले अर्को पात्रलाई छायाँमा पार्ने काम गरेको छैन। सबै पात्र एकै पटक प्रस्तुत हुँदा पनि हरेकको अभिनयमा बेग्लाबेग्लै विशिष्टता देख्‍न पाइन्छ।

रमाइला दृश्य र रसिला संवाद प्रयोग गर्ने सुनिल पोखरेलको विशेषता यस नाटकमा पनि पाइन्छ। यसबाहेक लोक भाकाको प्रयोगले नाटकलाई झनै रसिलो बनाइदिएको छ।

बाहिर बस्ने माटो मालिकहरुको जस्तै छ, क्याम्पभित्रका देश विहीनहरुको समाज पनि। आफन्तको सम्झनामा हरेक दिनजसो आँसु बगाउनु, घर फर्किने बाटो हेर्नु उनीहरुको साविकको काम हो।

उनीहरुमा पनि एक अर्काको चासो, रिस, माया, सद्भाव अनि झगडा हुन्छ। छिमेकीबीच डाहा–रिस हुन्छ। चियो चर्चो पनि उत्तिकै गरिन्छ। बाहिर बसेर देशको नागरिकताकै आधारमा ठूला पल्टिनेहरुको हेपाइ त्यही क्याम्पले सहन्छ। त्यहिँका चेलीबेटीमाथि कुदृष्टि राखिन्छ।

१४ वर्षे सक्कलीको प्रहरीसँगको प्रेम सम्बन्ध हरेक प्रहरी र आर्मी क्याम्प बाहिरका गाउँका युवतीहरुसँग हुने घटना भन्दा भिन्न छैन। धेरै विषयवस्तुलाई समेटेर पूर्ण रुपको क्याम्प देखाउँदा पनि नाटक भद्दा लाग्दैन।

पेट मिचिमिची हँसाए पनि बेला बेलामा आँखा रसिलो हुने गरि मन अमिलो बनाइदिन्छ नाटकले। देश नै दुश्मन भएपछि कति पराइ भइन्छ भन्ने पीडा नाटकले बताउँछ। त्यसमाथि तेस्रो मुलुक लैजाने निर्णयले परिवारमा विग्रह ल्याएको छ। एउटै परिवार भएर बसेका कोही शरणार्थी विदेशतिर लागेका छन्, कोही यहीँ बसेका छन् । उनीहरुको वियोगको घडीले दर्शकको मन पनि गह्रुँगो बनाइदिन्छ।

‘हरियो ढुंगा’ भुटानी शरणार्थीलाई तेस्रो मुलुक लैजाने निर्णयले उनीहरुको परिवारमा ल्याएको उतार चढावको कथा हो। नाटक विछोड र एक्लोपनमा गएर टुंगिन्छ। हाँस्दाहाँस्दै पनि एउटा बोझिलो मन लिएर दर्शक थिएटरबाट बाहिरिन्छन् । नाटक हेरेर निस्केपछि रंगकर्मी आशान्त शर्माले भनेका थिए, ‘अग्रज प्रशिक्षकको निर्देशनमा बनेको नाटक हो, त्यहि स्तरको सन्तुष्टि दिन्छ।’

नाटकको सेटले नै क्याम्पलाई बाहिरको दुनियाभन्दा भिन्न देखाएको छ। बाँसको बार, क्रस चिन्ह भएको ढोकाले शरणार्थीहरुलाई बाहिरी संसारले लगाएको बन्देजलाई संकेत गरको छ। सबै पक्ष बलियो हुँदाहुँदै पनि दर्शकलाई नाटकमा कलाकारको अभिनय अझै मझिनुपर्थ्यो भन्ने लाग्छ।

नाटकमा विपिन कार्की, सुनिशा बजगाईँ, अभास अधिकारी, अनिल सुब्बा, मौसम खड्का, राज न्यौपाने, अर्जुन शिवाकोटी, दीपेन्द्र शाही, सुरज तमु, कुसुम गुरुङ, सुमित तामाङ, प्रभात बासकोटा, अर्जुन थापा, कृतिका भट्टराई, रुपेश लामा, शौभाग्य सिंह (शोभा), दर्शन श्रेष्ठ, नविनचन्द्र अर्याल, बालकृष्ण खत्री, सब्बु गुरुङ, शुभ आचार्य, शिशिर थापा, राजीव जोशी र महेशमान श्रेष्ठको अभिनय छ ।

विपिनको फरक रुप
चलचित्रमा प्राय नकारात्मक भूमिकामा देखापर्ने र रमाइला डाइलग बोल्ने अभिनेता विपिन कार्की यस नाटकमा फरक भूमिकामा देखिएका छन्। चलचित्र ‘पशुपतिप्रसाद’मा ‘भष्मे’ को भूमिकाबाट चर्चामा आएका विपिनको अभिनय भन्‍ने बित्तिकै दर्शकले रमाइला संवादको कल्पना गरिहाल्छन्। तर, निचुले कान्छाको भूमिकामा देखिएका विपिनको संवाद नाटकमा एकदमै कम छ । उनी भन्छन्, ‘बोल्नलाई त अरु भूमिकामा धेरै बोलिसकेको छु, आफैँलाई साइलेन्ट भूमिका गर्न मन थियो।’

अहिले उनले आफ्नो फरक रुप देखेर दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए। तीन वर्षपछि रंगमञ्च फर्किएका हुन् विपिन। यस बीचमा उनी राम्रो नाटक र भूमिका खोजिरहेका थिए। आफ्नै गुरु सुनिल पोखरेलसँग काम गर्न पाउँदा यो नाटक गुमाउन चाहेनन्।

तीन वर्षअघि पनि सुनिलसँग काम गर्दा र यसपालि कुनै फरक अनुभूति नभएको बताए उनले। यद्यपी उनले रिहर्सलको लागि निकै कम समय मात्र दिएका थिए। आफ्नै अभिनयबाट चाहिँ पचास प्रतिशत मात्र सन्तुष्ट छन्।

नाटकको अन्तिममा एक्लो निचुले कान्छाको आँखाबाट झरेको आँसु देख्दा दर्शकको गलामा अवरुद्ध हुन्छ। आँसु झारेरै दर्शकको मन जित्न भनेर भिक्स दलेका थिएनन् । पात्रभित्र सजिलै प्रवेश गर्न सक्ने क्षमताले उनको आँसु हाँसो अभिनय जस्तो नभई जिवन्त लाग्छ। धेरैले भन्छन्, यो विपिनको कमब्याक हो । तर उनी भन्छन्, ‘रंगमञ्च कहिले छोडेको थिएँ र कमब्याक हुनलाई ?’

पुस ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्