‘पहाडी समुदाय जातीय भएको महसुस गरेको छु’

दीपक रौनियार नेपाली सिनेमा संसारमा अब चिनाइरहनुपर्ने नाम होइन । कुनै बेलाका फिल्म समीक्षक रौनियार ‘हाइवे’बनाएर रजतपट प्रवेश गरेका थिए । नेपाली द्वन्द्वको असरलाई केन्द्रमा राखेर उनले निर्देशन गरेको फिल्म ‘सेतो सूर्य’ रिलिज भएको एक वर्षपछि फेरि काठमाडौंका सिनेमा हलमा छाएको छ । चलचित्रलाई केवल मनोरञ्जनको सामग्री नठानी सामाजिक र राजनीतिक चेतना संवाहको माध्यम ठान्ने रौनियारसँग देशसञ्चारले गरेको कुराकानीः

फिल्मको दृश्यबाटै सुरू गरौं, ‘सेतो सूर्य’मा शव बोक्दा बोक्दै दाजु भाइको झगडा हुन्छ, अनि एकजनाले लाश छोडेर हिँड्छन् । नेपाली समाज यति धेरै संवेदनाहीन भएकै हो त ?

तपाईँ गाउँमा कहाँ कहाँ पुग्नुभएको छ ? तपाईँले गाउँलाई गहिरोसँग हेर्नुभयो भने फिल्ममा देखाइएको भन्दा पनि संवेदनाहीन भएको पाउनुहुनेछ। द्वन्द्वले गाउँलाई धेरै हदसम्म प्रभावित गरेको छ । मानिसहरू विभाजित भएका छन्। एक अर्काको मलामी नजाने, खेत गोड्न नजाने भएका छन्। अधिकांश खेती एक अर्काको सहयोगमा गर्ने खालको हो नेपाली समाज। तर, अहिले पार्टी पार्टी छुट्याउन थालिसके । सेतो सूर्यका यी दुई चरित्रले समाजका दुई पाटो देखाउँछन्।

त्यसो भए दश वर्षे द्वन्द्व र यसपछिको दश वर्षे संक्रमणकालले समाजमा झन विभाजन ल्याइरहेको छ भन्ने स्वीकार गर्नुहुन्छ?

स्वीकार्दिन।

देखाउन खोज्नुभएको चाहिँ के हो त?

दश वर्षको युद्धले हिजोका विभेदलाई सतहमा ल्याइदियो। जस्तै यसले जेन्डर ब्यालेन्स ब्रेक गर्‍यो। पहिला जसरी महिलालाई हेपिँदैन। दुर्गाजस्तो जुझारु महिला त्यही समयले जन्मायो जसले आफ्नो बच्चा आफैँ हुर्काउन सक्छे। तर, अहिले पनि कानुनले उसलाई तेरो जन्म पनि म सर्टिफाई गर्न दिन्न भनेको छ। यो बेथिति चाहिँ नराम्रो हो। दलितले आफ्नो अधिकार माग्न थालेको छ। त्यो चेतना द्वन्द्वकालभन्दा अघि थिएन।

तपाईँका विचार अलि बाझिएनन् र? एकातिर तपाईं भन्नुहुन्छ द्वन्द्वले संवेदनहीनता बढाइरहेछ। अर्कोतिर सामाजिक चेतना बढाइरहेछ पनि भन्नुहुन्छ।

मैले दुईथरि कुरा गरेको होइन। तपाईंले बुझ्न नखोज्नुभएको हो। यो तपाईंको स्कुलिङको पनि समस्या हुन सक्छ। अहिलेको समाजमा दुईथरि विचारको मान्छे त छन्। जस्तै राजावादी मानिसहरू त अझै पनि छन्। त्यस्तै लास ढोकाबाट निकाल्न हुँदैन, झ्यालबाटै निकाल्न पर्छ भन्ने मान्छेहरू पनि छन्। अर्कोतर्फ समाज बदल्न चाहनेहरु पनि छन्। हो, द्वन्द्वले समाजमा धेरै नराम्रो असर गरेको छ। सँगसँगै त्यसले केही राम्रो पनि गरेको छ। त्यो सकारात्मक पक्षलाइ हामीले अझै एडप्ट गर्न सकेका छैनौँ भनेर देखाउन खोजेको हो। द्वन्द्वले उजागर गरेका मुद्दालाइ पछिल्लो राजनीतिक विकासक्रमले सम्बोधन गर्न सकेको छैन।

तपाईँले केही समयअघि ट्वीट गर्नुभएको थियो। कालो वर्ण भएकै कारण विराटचोकमा तपार्इँलाई चिया दिएनन्। यो घटना चाहिँ के थियो खास?

विराटचोक त एउटा प्रतिनिधि घटनामात्र हो। त्यो एरिया जाने आउने गर्छु। आन्दोलन पछाडीको सोसाइटीमा चाहिँ पहाडी समुदाय अलि बढी जातीय भएको हो कि भन्ने महसुस गरेको छु। व्यक्त नगरेपनि अहिले पनि त्यो चिसोपना महसुस गर्छु। मधेसीप्रति रिस हो कि जस्तो लाग्छ। मेरी श्रीमती पनि पहाडिया हो। मभन्दा ऊ अगाडि गयो भने पनि मलाई देख्यो भने ‘हाम्रोमा पुरी तरकारी पाउँदैन, उ त्याँ जा’ भन्छन्।

त्यस्तो भएकै हो त?

मैले तपाईँलाई ढाँट्या जस्तो लाग्छ?

यति धेरै आन्दोलन भइसक्यो, हामी यति धेरै अगाडि आइसक्यौँ, विश्वास गर्न त गाह्रै हुन्छ नि!

तपार्इँले त्यो भोग्नुभाको छैन होला। नभोगेसम्म विश्वास गर्न गाह्रो कुरा हो। निशान अधिकारीले तराईको त्यत्रो जिल्ला घुमेर आएर सिंहदरबारमा किन अबिर छर्‍यो होला जस्तो लाग्छ? पागल भएर? काठमाडौँको सेन्ट जेभियर्स कलेज पढेको निशानले देश घुमेर आएर किन त्यस्तो गर्‍यो होला भनेर हामीले कहिले बुझ्ने प्रयास गर्‍यौँ?

मधेसी समुदाय र पहाडी समुदायका सँगै बसेर चिया खाइरहेको पनि देखिन्छ नि?

त्यस्तो हुँदै नभएको त होइन नि। तपार्इँ र म पनि त सँगै बसेर चिया खाइराछौँ। तर, हामी सबै जना उस्तै त छैनौँ नि ।

यति धेरै राजनितिक परिवर्तन भए, आन्दोलन भए। हाम्रो समाज झन बलियो हुँदै जानुपर्नेमा किन विभाजित भइरहेछ भन्ने लाग्छ?

झन् विभाजित भएको होइन। अलि बढी संवेदनशील चाहिँ भएको होला।

पहाडी समुदाय झन् बढी जातीय हुनथाल्यो भन्नुभएको हो?

अहिले देखाउन थालेका हुन् । पहिला देखाउँथेनन् होला।

किन देखाउन थाले?

एउटा त उनीहरुलाई आन्दोलनले गर्दा रिस पनि भयो होला। काठमाडौँमै सोध्ने हो भने तराईमा नाकाबन्दी गरेर यहाँ हामीलाई खान दिएनन् भन्ने भेटिन्छन्। त्यसको रिस होला। तर, उसले तराईमा किन नाकाबन्दी गर्नुपर्‍यो त भनेर सोच्दैन। त्यो रिस स्वभाविक हो। राज्य, मिडिया र समाजको काम नै त्यही चिसोपन कसरी कम गर्ने भन्ने हो। टिकापुरकै घटना लिउँ, प्रहरीलाई थारु दाजुभाइले मारे भन्दा कसलाई राम्रो लाग्छ र? रिस उठ्छ नि। तर हामी गहिरिएर के हेर्दै छैनौँ भने त्यो घटना कसले गरायो, त्यसको पछाडि को थियो? यदि थारु समुदायकै मान्छे रिसाएर त्यो सब गरेको भए त्यहाँ सम्म आइपुग्न कहिलेदेखिको रिस साँचिदै आएको थियो? किन थारु, मधेशीहरु भाटा बोकेर निस्किए? यो सबै हामीले बुझ्न नचाहेका हौँ। समाजले त्यो बुझेको दिन कुनै समस्या हुँदैन।

द्वन्द्वले गाउँलाई धेरै हदसम्म प्रभावित गरेको छ। मानिसहरू विभाजित भएका छन्। एक अर्काको मलामी नजाने, खेत गोड्न नजाने भएका छन्। अधिकांश खेती एक अर्काको सहयोगमा गर्ने खालको हो नेपाली समाज। तर, अहिले पार्टी पार्टी छुट्याउन थालिसके।

अर्थात् यस्ता घटनाक्रम बुझ्न चाहनेले त्यसको पृष्ठभूमि बुझ्नुपर्छ भन्ने तपाईंको आग्रह हो?

हो बुझ्नुपर्छ। समाजमा अन्याय सदियौँदेखि छ। म बिबिसीमा काम गर्दाताका हराएको एउटा नागरिकता लिन राजविराज सिडियो अफिसमा चार महिना लागेको थियो। पत्याउनुहुन्छ ? यो रेसियल थिङ्किङ भएकै कारण हो। एउटा पहाडियाको सहारा लिएर खाता पल्टाउन थालेपछि बल्ल रेकर्ड फेला पारेँ।

यस्तो समस्या त सिंगो सिस्टम नै भ्रष्ट भएकाले हुने होइन र? जातीय, क्षेत्रीय सोचमात्र होइन कि?

दुइटै हो। छुट्याउन गाह्रो हुन्छ हाम्रो सोसाइटीमा। वर्ग, लिंग, जात, वर्ण सबै मिसिएर आउँछ। त्यसैले एउटै कुरा छुट्याएर यही नै ब्ल्याक एन्ड ह्वाइट हो भनेर हेर्न गाह्रो हुन्छ।

कुरा मोडेँ, अब केही प्राविधिक कुरा गरौँ, फिल्ममा तपार्इँ एउटा स्टोरी लिनुहुन्छ र त्यसलाई जोड्दै जानुहुन्। प्रायः नेपाली फिल्ममा यस्तो देखिँदैन। जस्तै, हाइवेमा एउटा यात्रालाइ लिएर कथा बुन्नुभयो। सेतो सूर्यमा पनि एउटा लाश लिएर कथा बढाउनुभयो। यो प्रविधि पछ्याउनुको कुनै विशेष कारण छ कि?

हाम्रोमा एकदमै ठूलो क्यानभास छान्ने चलन हुन्छ। मेरो मान्यता चाहिँ कथा भनेको सिम्पल हुनुपर्छ भन्ने हो। इलामबाट काठमाडौँ हिँड्दाको बसको कथामा त्यो भन्दा बढि सोच्नु नपरोस्। या एउटा मान्छे मरेको छ। उसको लाश खोलामा पुर्‍याउने। साधारण होस्, सबै मान्छेले बुझ्न सकून् भन्ने चाहना हो। त्यसमा कसैले अझै गहिरिएर हेर्न चाहन्छ भने लेयर चाहिँ क्रिएट गर्ने हो।

नेपाली सिनेम्याटोग्राफीमा प्राविधिक रुपमा के के नयाँ गरेँ भन्ने लाग्छ?

त्यो त तपार्इँहरुले मूल्यांकन गर्ने हो। मैले सामाजिक विषयको सिनेमा ल्याएँ। अभिनयमा यथार्थवादलाई बढी प्राथमिकता दिएँ। मेरो फिल्मका पात्रले ठूलाठूला डायलग बोल्दैनन्। जनजीवनको बोलीचालीको भाषा बोल्छन्। जे देख्नुहुन्छ, यथार्थ देखेजस्तो लाग्छ।

एकातिर ‘छक्कापन्जा’ जस्तो फिल्मले करोडौँ कमाउँछ, अर्कोतिर ‘सेतो सूर्य’ लाग्दा सिनेमा हल पनि भरिएको हुँदैन। एउटा निर्देशक भएर दर्शकको मनोविज्ञानलाई कसरी हेर्नुहुन्छ?

०४६ साल पछि मात्रै हाम्रोमा खुलेर सिनेमा बन्न थाले। हाम्रा सिनेमा हल नै हिन्दी सिनेमा देखाउनका लागि हो। सलमान खानको फिल्म हेर्ने नै हाम्रो स्कुलिङ हो। यसमा दर्शकलाई मात्र दोष दिएर हुँदैन। राज्यले जानेर कहाँ लगानी गरेको छ त आर्टमा? अर्कोतर्फ सामाजिक रूपमा दिनुपर्ने जति स्थान पनि दिएका छैनौं हामीले। सिनेमाको महत्त्व नै बुझाउन सकेका छैनौँ। अधिकांश देशमा वैकल्पिक सिनेमा देखाउने बेग्लै हाउस हुन्छ। त्यस्तोले हो सिनेमा संस्कृति विकास गर्ने। दर्शकको टेस्ट नै नफेर्ने, हेर्न आएनन् भन्न त मिल्दैन नि।

सिनेमा निर्माण हुने ठाउँबाटै अल्टरनेटिभ थिङ्किङ आउनुपर्यो?

फिल्म बोर्ड जस्तो संस्थाले अल्टरनेटिभ थिङ्किङ गरेर हामीलाई कस्तो खालको सिनेमा चाहिने हो, कस्तो विषयमा फिल्म बनाउने भनेर कसरी उकास्ने भनेर सोच्नुपर्छ। कति मान्छे होलान् सामाजिक चेतनाका विषयमा कथा भएका तर मैले जस्तो अवसर नपाएका पनि हुन सक्छन्। उनीहरुको लागि अवसरको वातावरण सिर्जन गर्ने विषयमा सोच्न जरुरी छ। स्कुल, कलेज, युनिभर्सिटीमा भिजुअल मिडियमलाई कसरी पार्ट अफ द लाइफ बनाउने, सानैदेखि राम्रो क्युरेटेड सिनेमा हेराएर घर परिवारमा कसरी छलफल गर्ने। छक्का पन्जा हेरेर आएको बच्चाभन्दा ‘तारेजमिन पर’ हेरेर आएको बच्चासँग कुरा गर्नु राम्रो हो नि। हाम्रो बच्चाले छक्का पन्जा नहेरोस्, ‘तारे जमिन पर’ हेरोस् भन्ने चाहना त राख्न सक्छौँ नि। त्यतिबेला देखि सेन्सिटिभ हुन जान्नेछौँ। यो लङ टर्मको कुरा हो। राज्य, हामी संयुक्त रुपमा नलागेसम्म हुन सक्दैन। हामी जति जनाले गर्न सक्छौँ त्यतिले कन्सियसली सोच्नुपर्छ।

सिनेमा भन्ने बित्तिकै ग्ल्यामरसँग जोडेर हेरिन्छ। अल्टरनेटिभ सिनेमा र ग्ल्यामर शब्दबीच सम्बन्ध हुन्छ?

हुँदैन। यो दुइटा फरक थिङ्किङ हो। एउटा सेक्टर छ, जसले फिल्म बनाएर पैसा कमाइहाल्नुपर्छ बिक्ने कुरा राख्नुपर्छ भन्ने सोच्छ। अर्को सेक्टर छ, जसले सिनेमामा पूर्ण रुपमा कला मात्र हेर्छ।

अल्टरनेटिभ सिनेमाले ग्ल्यामरस आइकन बनाउन सक्छ त?

सिनेमामा ग्ल्यामर बेच्ने, फलाना हिरो हिरोइन छ, त्यसैले हेर्नुपर्छ भन्नुभन्दा सिनेमामा यस्तो कन्टेन्ट जुन तिमीलाई मन पर्न सक्छ, हेर्न आऊ भन्ने हो। म कन्टेन्ट (विषयवस्तु)लाई नै जोड दिन्छु। कसैको अनुहार राम्रो वा चलेको छ भन्ने भन्दा त्यस विषयमा फिट हुने कलाकारलाई लिन्छु।

राज्यको नीति कस्तो पाउनुहुन्छ?

सिनेमाको अवस्था हेर्दा अझै पनि हामी पञ्चायतकालमै छौँ । कानुन अपडेट गरेका छैनौँ। अहिलेको अवस्थामा हामीले पैसा दिन सकेनौँ भने पनि यूरोपका कतिवटा देशसँग पैसा छ। टाढा नजाउँ इन्डियासँग ओपन बोर्डर छ। दिल्ली मुम्बईका हलहरुमा नेपाली सिनेमा देखाइँदैन। जबसम्म दुई देश मिलेर फिल्म बनाइँदैन तबसम्म खासै विकास हुँदैन। थुप्रै विदेशी नेपालमा आएर फिल्म बनाउँछन्। उनीहरुले महँगो कर तिर्छन्। तर, राज्यले त्यो कर नतिर तर चालिस प्रतिशत काम गर्ने मान्छे चाहिँ हाम्रो राखिदेउ न भन्यो भने कति ठूलो रोजगारी सिर्जना हुन्छ। टेक्नोलोजी भित्रिन्छ। हाम्रा मान्छेले रोजगारी पाउँदा राज्यलाई फाइदा भयो नि। हामीले सिनेमाको दायरा फराकिलो बनाएर यसलाई उद्योगको रुपमा विकास नै गर्न चाहँदैनौँ। बोर्डमा अध्यक्ष आउनुहुन्छ, सञ्चारमन्त्रीसँग डाँडाडाँडा घुम्न जानुहुन्छ, स्टुडियो खोल्न। हामीलाई स्टुडियो आवश्यकतै होइन। अरबौँ रुपियाँको बजेटको स्टुडियोमा कमिसन पाइन्छ कि भनेर बोर्डका ठूला मान्छे धाउँछन्। तर, यादव खरेलको नेतृत्वमा आठ दश वर्ष अगाडि ड्राफ्ट भएको नीति आजसम्म लागू हुन सकेको छैन। सिनेमा स्टुडियो नै बनाए पनि त्यहाँ गएर सुटिङ गर्न सक्ने हैसियत हो हाम्रो?

बोर्डमा आएका मान्छेमध्ये सिनेमा बुझ्ने मानिस कत्तिको भेट्नुहुन्छ?

अहिलेसम्म त्यस्तो मान्छे भेटेको छैन। राजनीतिक नियुक्ति हुन्छ। अहिलेकै नियुक्ति हेर्नुस् न। कसको छोरी हो, कसको सम्बन्धले आएको भन्ने थाहा हुन्छ। हाम्रोमा यो मान्छेले सिनेमामा राम्रो काम गरेको भनेर छानिँदैन।

अघि तपाईंले पञ्चायतकै निरन्तरता छ भन्नुभयो । विचारधारात्मक हिसाबले नै निरन्तरता छ भन्न खोज्नुभएको ह?

राज्यको सोच हेर्ने हो भने आज पनि लालबाबु पण्डित किन हिट हुन्छन् भने उसले पहाडे टोपी लगाइदियो। भेनिस फिल्म फेस्टिवलमा मैले टोपी लगाएर गइनँ। नागरिकताको लागि बाहेक अरु बेलामा टोपी लगाएकै छैन। देखाउन मात्र किन लगाउने? मैले टोपी नलगाउँदा मलाई थुप्रै जनाले गाली गर्नुभो फेसबुकमा। टोपी लगाएर मात्र नेपाली हुने हो र? नेपाली त हृदयले हुने हो, नागरिकताले हुने हो। यो सोच परिवर्तन गर्न जरुरी छ।

पञ्चायतकालमा जति पनि कला साहित्य, फिल्मको निर्माण गरियो, त्यसले टोपीवाला पहिचान निर्माण गर्‍यो। तपार्इँ जस्तो निर्देशकले बाहिर जाँदा त सिंगो नेपाली भनेर पहिचान दिने आइकन त हुन्छ होला? तपाईँले बनाउन खोज्नुभएको आइकन कस्तो हो?

सुरूका तीनवटा नेपाली सिनेमा पञ्चायतकै प्रोमोट गर्न बनाइएको थियो। त्यसबाटै हाम्रो सिनेमा इन्डस्ट्री सुरु भएको हो। पहिलाको हाम्रो परिचय देखाउने सगरमाथाको देश, बुद्ध जन्मेको देशभन्दा अलि बढी जानुपर्छ जस्तो लाग्छ। एक सय २३ वटा भाषा आज पनि बोलिने देश हो भनेर प्राउड फिल गर्नुपर्छ। वीरगन्जबाट काठमाडौँको तीन घन्टाको यात्रामा समुद्री सतहबाट तीन हजार माथिको सतहमा ड्राइभ गर्न सक्नुहुन्छ। जति माथि गयो हरेक ठाउँमा फरक सँस्कृति देखिन्छ। हामी यति डाइभर्स देश हौँ। यसमा घमण्ड गरौँ न। विविधतामा एक अर्कालाई सम्मान गरेर अघि बढ्यौँ भने नयाँ परिचय सिर्जना हुन सक्छ।

यो विविधताबाट हाम्रो यो भन्ने साझा पनि त केही हुन्छ होला नि?

साझा भनेको तपाईँको कुरालाई मैले सम्मान गर्ने, मेरो कुरालाई तपाईँले सम्मान गर्ने। यही नै हो। सानो उदाहरण दिन्छु, खादा उच्च हिमाली क्षेत्रबाट आएको हो। आज हामी सबैको भइसक्यो। त्यसप्रतिको सम्मानले नै हो। भाइटीका सबैले लगाउँछन्, छठ काठमाडौँमा पनि मनाइन्छ।

कमेडी र ग्ल्यामर बेच्नेले नै पैसा कमाइराछन्, तपाईँहरु दिगो हुन सक्नुहुन्छ?

एउटा छक्का पञ्जाले पैसा कमायो सबैले कमाएको ठान्नुहुँदैन। सयौँ सिनेमा बनिरहेका छन्। कहिलेकाहिँ एउटा छक्का पन्जा हिट हुन्छ। उसले मात्र पैसा कमाउने पनि होइन।

तपाईँले आम्दानी कत्तिको गर्नुभएको छ?

छैन। मेरो उद्देश्य नै पैसा कमाउने होइन।

तपाईँलाई पैसा चाहिँदैन?

चाहिन्छ। बाँच्नु त पर्‍यो नि। बाँच्न मेरो आफ्नै बाटो छ।

भूँइतहका मानिसको सोच फेर्न फिल्म बनाउनुभएको छ। फिल्मसम्म उनीहरुको पहुँच छ?

मैले एक पटकमा एउटा फिल्म बनाउन सक्ने हो। अघिल्लो वर्ष वाइड रिलिज गर्‍यौँ। पुस्तक पसल, विद्यालयको नेटवर्कसँग कुरा गरिराछौँ। आउटडोर सिनेमाको लागि पनि कुराकानी गरिराछौँ। गाउँगाउँमा कसरी सिनेमा पुर्‍याउने भनेर। गाउँगाउँका क्लबहरुलाई दिएर प्रेरित गर्न पनि सक्छौँ।

फिल्मबाट समाजको सोच फेर्न कसरी सम्भव होला?

सचेत रूपमा विषय छान्नुपर्छ। जुन मुद्दा डिल गर्न अर्जेन्ट छ त्यसलाई रोज्ने हो। फिल्म बनाउनेले पैसा कुनबाट कमाइन्छ भन्दा पनि कुन विषय ल्याउन जरुरी छ भनेर हेर्नुपर्छ।

धेरै खर्च गरेर मात्र फिल्म राम्रो हुन्छ भन्छन् नि?

हुँदैन। त्यस्तो भएको भए हाइवे एउटा डिएसएलआर क्यामेराले खिचिँदैनथ्यो। सकिन्छ भने जति पैसामा गरेपनि हुन्छ। पैसाको आधारमा फिल्मलाई जज गर्नु हुँदैन।

अन्तराष्ट्रिय स्तरमा नेपाली फिल्म चिनाउन के गर्नुपर्छ?

अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र देखाउन फिल्म बनाउने होइन। अर्जेन्ट लागेको विषयमा बनाउने हो।

 

पुस ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्