कैलालीमा सवा लाख भन्दा बढी मत बदर

धनगढी-निर्वाचन आयोगले मतदाता शिक्षाका लागि करोडौ रकम खर्च गरे पनि कैलालीमा सवा लाख भन्दा बढी मत बदर भएको छ।
प्रत्यक्ष र समानुपातिकतर्फ गरी कैलालीमा १ लाख २७ हजार ३ सय ६७ मत बदर भएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले जनाएको छ।
ठूलो संख्यामा मत बदर भएपछि निर्वाचन आयोगले मतदाता शिक्षाका लागि खर्च गरेको करौडौ रकमको प्रभावकारितामा प्रश्न उठेको छ।
४ लाख ६० हजार मतदाता रहेको कैलालीमा ३ लाख ९ हजार जनाले गत मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएका थिए।
तर उनीहरुमध्ये सवा लाख भन्दा बढी अर्थात १ लाख २७ हजार ३ सय ६७ जनाको मत बदर भएर खेर गएको छ। कैलालीमा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ६ प्रतिशत र प्रदेश सभामा साढे ५ प्रतिशत मत बदर भएका हुन।
त्यस्तै समानुपातिकमा प्रतिनिधि सभामा १२ प्रतिशत र प्रदेश सभामा साढे १८ प्रतिशत मत बदर भएको छ। प्रत्यक्षमा भन्दा बढी मत समानुपातिकतर्फ बदर भएको छ।
प्रतिनिधि सभातर्फ प्रत्यक्षमा ३ लाख ९ हजार र समानुपातिकमा ३ लाख ७ हजार मत खसेको थियो। त्यसमध्ये प्रत्यक्षतर्फ ३५ हजार १ सय ३४ मत बदर भएको छ भने समानुपातिकतर्फ ९२ हजार २ सय ३३ मत बदर भएको आयोगले जनाएको छ।
समानुपातिकतर्फ प्रतिनिधि सभामा मात्रै ३६ हजार मत बदर भएका छन भने प्रदेश सभामा ५६ हजार ४ सय २० मत बदर भएका छन्।