जागिर नपाएपछि माछापालन, लाखौंको कमाइ

विर्तामोड– २६ वर्षको एउटा युवक साधारणतया जागिर खान भौंतारिरहेको हुन सक्ला। या त पैसा कमाउन विदेश जाने सुरसार कस्दै गरेको होला। त्यस्तै झापा विर्तामोड-१० का २६ वर्षीय विशाल राई जागिर खान अयोग्य भएपछि कृषि कर्ममा लागे।
जागिरमा कमाउने भन्दा धेरै गुणा बढी उनले आफ्नो माछा पालन व्यवसायमा कमाइरहेका छन्। आफू जस्तै उमेरका युवा जागिरका लागि भौंतारिरहेका बेला उनले करीव १० जनालाई रोजगारी दिनुका साथै लाखौं आम्दानी गरिरहेका छन्।
विशालको सजावटका माछा एक्वारियम पसलमा अपरान्ह पुग्दा उनी एक्वारियमका माछालाई खानेकुरा दिँदै थिए। कति प्रजातिका एक्वारियममा राखिने माछा पाइन्छ भन्ने प्रश्नमा विशाल भन्छन्, ‘मसँग ४० प्रजातिका माछा छन्। घर सजावटका लागि पनि अचेल मानिसहरुले एक्वारियम राख्न थालेका छन्।’
विशालले भारतको कोलकाता तथा थाइल्याण्डबाट माछाका भुरा ल्याउने गरेको बताए। उनल भने, ‘ मैले कोलकाता र थाइल्याण्डबाट माछाको भुराहरु ल्याउने गरेको छु र आफैले माछा पालन पनि गर्दै आएको छु।’
उनले करीब १ विगाह जमिनमा माछा पालन गरेको करीब ३ बर्ष भयो। माछाको उत्पादन बर्षेनी बढने क्रममा रहेको उनले सुनाए। यही माछा व्यावसाय बढेर उनको लाखौ रुपैयाको आम्दानीको स्रोत बनको छ।
उनी भन्छन्, ‘गत साल २५ टन माछा उत्पादन भएको थियो । यसपाली करीब ५० टन उत्पादन हुन्छ होला ।’
बेला बेला बजारको उतार चढावले भने उनलाई केही समस्या दिने गर्छ। तर घाटा नै देखिने गरीको भने अहिलेसम्म आफूले भोग्नु नपरेको उनको अनुभव छ।
विशालको माछा फर्ममा हाल १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। चार जना पूर्णकालिन छन् भने अन्य आंशिक। २६ वर्षको उमेरमा कृषि उद्यमी बन्ने प्रेरणा कसरी पाइयो ? भन्ने प्रश्नको जवाफमा विशालले भने, ‘जागिरमा अनुत्तीर्ण भएपछि कृषि रोजेको हुँ ।’
हालै उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित पनि भए। देशभरका १० प्रतिभामध्ये उनी पनि एक अब्बल सावित भएका थिए। उनी भन्छन्, ‘जति बेला पनि आवश्यक पर्ने कृषि उपज उत्पादनमा अब युवापुस्ता जाग्नुपर्छ।’
जागिर खान नसकेको भाइले के गर्ला र ? भन्ने विशालकी दिदी मेनुकाको मनिस्थिति अहिले आएर भने एकाएक परिवर्तन भएको छ। भाइको प्रगतिमा उनी पनि दङग छिन भने उद्यममा उनले दरिलो साथ दिँदै आएकी छिन्।
कृषि उद्यममा लागेका युवामध्ये विशाल राई एक सफल उद्यमीको रुपमा स्थापित भएको कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाश डाँगीको प्रतिक्रिया छ। डाँगी भन्छन्, ‘विशाल राई एक युवा उद्यमीका प्रतिनिधि पात्र मात्र हुन। अब सबै युवाहरु जागिर होइन उद्यम गर्न सिक्नुपर्छ।’
यता विशालले कृषि उद्यम, उद्यमको रुपमा मात्र नभएर प्रत्येक मानिसको जीवनसँग गाँसिएको विषय भएकाले यसलाई युवाहरुले व्यवहारमा अपनाउनु पर्ने बताए।