प्रदेश ४ को मुख्यमन्त्री मा दुई एमाले नेताको चर्चा

पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ

कास्की- चुनावी नतिजा सकिएसँगै प्रदेश ४ को मुख्यमन्त्री को बन्ला भन्‍ने कौतुहल सर्वसाधारणमा देखिएको छ।

नयाँ संघीय संरचनाको पहिलो अभ्यासबाट प्रदेश सभाको चुनाव गठन हुन लागेको प्रदेश सरकारका बारेमा नागरिकलाई उत्सुकता थपिएको छ। प्रदेशप्रमुख, मुख्यमन्त्री, मुख्य सचिव लगायतको कार्यालय र आवासको व्यवस्थापनका लागि गठित कार्यदललाई यतिबेला भौतिक संरचनाको व्यवस्थापनको चटारो छ।

पार्टीका अग्रपंक्तिका नेता भने प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी कसलाई सुम्पने भन्‍ने विषयमा व्‍यस्त देखिन्छन् । बाम तालमेलबाट चुनाव सम्पन्‍नसँगै पार्टी एकीकरण पहिला कि पदीय बाँडफाँड पहिला भन्‍ने विषयले पनि यतिबेला चर्चा पाइरहेको छ।

प्रदेश ४ को सम्भावित मुख्यमन्त्री को बन्‍ने भन्‍नेबारे अझै एकिन हुन सकेको छैन। ११ जिल्ला समेटिएको यो प्रदेशमा पहिलो चरणमा ६ र दोस्रो चरणमा ५ जिल्लामा निर्वाचनसँगै ३६ सदस्य निर्वाचित भएका छन्। कास्कीमा प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ क्षेत्र छन्।

लमजुङबाट प्रदेश सभामा निर्वाचित भएका एमालेका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङलाई मुख्यमन्त्रीको लहरमा बलियो दाबेदार मानिएको छ। उनी लमजुङको प्रदेश सभा (ख) बाट २३ हजार ९ सय ८८ मत ल्याएर विजयी भएका थिए। यसै गरी अर्का स्थायी समिति सदस्य किरण गुरुङ पनि प्रभावशाली नेता मानिन्छन्।

तनहुँ क्षेत्र नं. २ को प्रदेश सभा (ख) बाट १५ हजार ६ सय ३० मत ल्याएर विजयी भएका थिए किरण। उनले प्रदेश नं ४ मा एमालेको इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन्। बाम गठबन्धनबाट राम्रै नतिजा हात पारेको एमाले माओवादीमा अहिले एमालेका दुई हेवी वेटका नेतालाई मुख्यमन्त्रीको दावेदारको रुपमा मानिए पनि नेकपा माओवादीका दिपक कोइराला पनि मुख्य मन्त्रीको आकांक्षीका रुपमा देखिएका छन्।

यस्तै कास्कीबाट राजकाजी गुरुङ (करण) र गोर्खाबाट अमर तमुको लाई पनि पार्टिले मुख्यमन्त्रीको रुपमा नाम चर्चामा ल्याएको थियो। बिडम्बना दुवैले प्रदेश सभामा पराजय भोगेपछि अहिले कास्की क्षेत्र नं. १ (क) बाट निर्वाचित दिपक कोइराला (रुपक)ले पनि मुख्यमन्त्रीको आकांक्षीको रुपमा आफूलाई प्रस्तुत गरेका छन्। पार्टीको पोलिटब्यूरो सदस्य र जिल्ला सह-इञ्‍चार्ज समेत रहेका कोइराला पनि प्रभावशाली युवा नेताको रुपमा मानिन्छन्।

प्रदेश ४ मा प्रदेशको समानुपातिक तर्फ एमालेले ३ लाख ७३ हजार ५०१ मत पाएको छ । प्रत्यक्षमा कमजोर देखिएको कांग्रेसले समानुपातिकबाट भने राम्रै मत हासिल गरेको छ । कांग्रेसले ३ लाख ६४ हजार ७ सय ९७ र माओवादीले १ लाख १९ हजार ५ सय २८ मत प्राप्त गर्यो । नयाँ शक्ति र राष्ट्रिय जनमोर्चा पनि थ्रेस होल्ड कटाउन सफल भएका छन्।

यो पनि हेर्नुहोस्:

को बन्ला प्रदेश १ मा मुख्यमन्त्री?

भावी मुख्यमन्त्रीको योजना- दाङ केन्द्र, वरिपरि महानगरपालिका

हिमागृहको विकल्प खोज्दै प्रशासन, ‘मुख्यमन्त्रीलाई राजा नबनाऊ’

पुस ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्