पराजित आरजुले भनिन्, अर्कोपटक पनि यहीँबाट लड्छु

मतदातालाई धन्यवाद दिने क्रममा गाउँगाउँ भ्रमण गर्दै आरजु राणा। तस्बिर: देशसञ्चार।

धनगढी-  कैलाली ५ बाट प्रतिनिधिसभामा पराजित प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुगेकी छन्। टोलटोलमा सभाको आयोजना गर्दै आरजुले मतदातालाई धन्यवाद दिएकी हुन्।

आरजुले मंगलबार धनगढी उपमहानगरपालिकाको फूलबारी क्षेत्रमा ३ वटा धन्यवाद सभा आयोजना गरेकी छिन्। वडा नम्बर १४, १८ र १९ मा आयोजित धन्यवादसभामा आरजुले अब यसै क्षेत्रबाट राजनीति गर्ने र जनताले आफूलाई दिएको मतको कदर गर्ने बताइन्।

चुनावमा आफू पराजित भए पनि यस क्षेत्रको विकासका लागि कटिबद्ध भएर लाग्ने उनले बताइन्। उनले ५ वर्षपछि हुने निर्वाचनमा आफू फेरि यही क्षेत्रबाट चुनाव लड्ने पनि बताइन्।

स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी मेयर नृप ओड र उपमेयर सुशीला मिश्र भट्टलाई साथमा लिएर आरजुले धन्यवाद सभा आयोजना गरेकी हुन्। उनले धनगढी उपमहानगरपालिकाका सबै वडासहित क्षेत्र नम्बर ५ भरिका गाउँमा धन्यवाद सभाको आयोजना गर्ने कार्यक्रम छ।

मंसिर २१ गते भएको निर्वाचनमा आरजु एमालेका नारदमुनि रानासँग ४ हजार ८ सय ८० मतले पराजित भएकी थिइन्।

यो पनि हेर्नुहोस्:

चुनाव जितेपछि प्रचण्ड घरघरमा

राजदूत छाडेर चुनाव लडेका उपाध्याय पराजित

पुस ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्