
काठमाडौं- सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’ मा नेपाली अक्षरको सट्टा अंग्रेजी अक्षर राखेको भन्दै केहीले सामाजिक सञ्जालमा आलोचना गरेका छन्। कसैले त नेपाली नम्बर प्लेट हटाउने निर्णय नेपाली भाषालाई देशव्यापी प्रचलनबाट विस्थापित गर्ने योजना पनि भएको आरोप लगाएका छन्।
यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डे विभागले बृहत छलफलपछि ग्लोबल भिलेजको अवधारणा आत्मसात गर्न अंग्रेजी अल्फावेट प्रयोग गर्ने निर्णय गरेको बताउँछन्। उनी भन्छन्, ‘नेपाल बिबिआईएन ( भुटान, बंगलादेश, इण्डिया र नेपाल) र सार्कको सदस्य छ, ओबरलाई (वान बेल्ट वान रोड) अनुमोदन गरेको छ।’
पाण्डेले भने, ‘उल्लेखित योजना कार्यान्वयन भए नेपालमा दर्ता भएका सवारीसाधन भारत, बंगलादेश, भुटान, चीनमात्रै नभई युरोपसम्म जान सक्नेछन्। दक्षिण एसियामा देवनागरिक लिपी बुझिए पनि चीन, म्यानमारमा बुझिँदैन नेपालमा ती देश अनुसारको एकरुपता ल्याउन पनि रोमन लिपी प्रयोग गरिएको उनले जानकारी दिए।
चीन, भारत, म्यानमार,भुटान, बंगलादेश, पाकिस्तान लगायत विश्वका अधिकांश देशरुमा समेत रोमन लिपी प्रयोग गरिएको प्रवक्ता पाण्डेले बताए।
उनले कमिसनका कारण नम्बर प्लेटबाट नेपाली भाषा हटाउन खोजेको भन्ने आरोपमा कुनै सत्यता नरहेको स्पष्टोक्ति दिए। इम्बोस्ड नम्बर प्लेटका धेरै फाइदा भएकाले सरकारले सवारी साधनमा उच्च प्रविधिजडित इम्बोस्ड नम्बर प्लेटजडान गर्न खोजेको पाण्डेले दाबीले गरे।
इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आए एउटै नम्बर प्लेटका धेरै गाडी चल्ने, समयमै कर नतिरी गाडी चलाउने लगाएका समस्या अन्त्य हुने उनले जानकारी दिए।
इम्बोस्ड नम्बर प्लेटमा जडित हुने अत्याधुनिक प्रविधि आरएफआईडी ( रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिटेल) प्रविधिले गाडी रहेको स्थान गाडीको अवस्था लगायतको जानकारी दिने भएकाले सुरक्षाका दृष्टिकोणले पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्न आवश्यक रहेको उनले बताए।
इम्बोस्ड नम्बर प्लेट जडान कार्य भदौ ५ देखि काठमाडौं उपत्यकामा ऐच्छिक रुपमा सुरु गरिएको थियो। हाल विभागले बा १२ ‘च’ नम्बर सम्मका गाडीहरुलाई चैत मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समय सीमा दिएको छ। ऐच्छिक हुँदा इम्बोस्ड नम्बर प्लेट जडानप्रति आकर्षित नभएका सवारीधनीहरु समयसीमा तोकेकाले अब आकर्षित हुने विभागले विश्वास लिएको छ।
इम्बोस्ड नम्बर प्लेट जडान नेपाल सरकारको लगानीमा सञ्चालित कार्यक्रम भएको पाण्डेले जानकारी दिए। उनले पाँच वर्षभित्र देशभरिका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको लक्ष्य भएको बताए।
सुरुवातमा विभागले प्लेटका माथिल्लो भागमा अञ्चलको नाम राखेको थियो। सार्वजनिक रुपमा आलोचना भएपछि विभागले डिजाइन परिवर्तन गर्दै प्लेटको माथिल्लो भागमा प्रदेश नम्बर राख्ने निर्णय गरेको थियो। संविधानमै प्रदेश १, २ भन्दै लेखिएकाले नम्बर प्लेटमा प्रदेशको नम्बर लेख्ने निर्णय गरिएको विभाग प्रवक्ता पाण्डेले बताए।
के हो इम्बोस्ड नम्बर प्लेट?
यातायात व्यवस्था विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट ९९ प्रतिशत आल्मोनियमबाट रेट्रो रिफ्लेक्टिभ सिट लेमिनेट गरी बनाइएको हुन्छ। यसको कडापन एच ४१ र एच ४२ र मोटाइ ०.९८ मिलिमिटर हुनेछ। बेस प्लेटमा स्ट्याम्पिङद्वारा उठेको अंक र अक्षर पोजेटिभ इम्बोस्ट रहेको हुनेछ।
प्लेटको बाँया साइडको माथि नेपालको झण्डा र त्यसैमुनि देश जनाउने गरी अंग्रेजीमा एनइपी र त्यसको मुनी सुरक्षात्मक होलोग्राम राखिएको हुनेछ।
प्लेटको माथि प्रदेशको नाम र मुनी लट जनाउने गरी अंग्रेजी अल्फाबेट राखिएको र यसको मुनी बढीमा ४ अंक लेखिएको हुनेछ।
यो नम्बर प्लेटले नेपालमा हाल प्रयोग भइरहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ प्रकारमा घटाउने छ।
राष्ट्रपतिको सवारीमा नेपालको झण्डा, झण्डामुनी माथिबाट हल्का निलो रङ हुँदै तल गाढा निलो रङ, एनइपी अक्षर, एनइपी अक्षर मुनी लालिगुराँससहितको नेपालको निसान छाप हुनेछ।
त्यस्तै सार्वजनिक सवारीमा पहेलो प्लेटमा कालो अक्षर, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो प्लेटमा रातो अक्षर, कुटनीतिकमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था भएको विभागले जनाएको छ। त्यस्तै सबै प्रकारका सवारी साधनहरुको नम्बर प्लेट अगाडि लामो र पछाडि चतुर्भूज आकारको हुनेछ।
हाल इम्बोस्ड नम्बर प्लेट राख्न केही महंगो छ। विभागका अनुसार मोटरसाइकललाई २ हजार ५ सय, तीनपांग्रे सवारीलाई २९ सय, चारपांग्रे सवारीलाई ३२ सय र हेभी सवारीलाई ३६ सय रुपैयाँ लाग्छ।