माेरङमा एक तेस्रो लिंगीले खसाले मत

मुस्कान श्रेष्ठ। तस्बिर: देशसञ्चार।

विराटनगर– मोरङ जिल्लाबाट प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकजना तेस्रो लिंगी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको क्षेत्रीय निर्वाचन कार्यालय मोरङले जनाएको छ।

कार्यालयका प्रमुख प्रेम सञ्जेलका अनुसार तेस्रो लिंगीतर्फबाट दुईजनाको नाम मतदाता नामावलीमा रहे पनि निर्वाचनमा एकजनाले मात्र मताधिकार प्रयोग गरेका छन्। सञ्जेल भन्छन्, ‘मानवधिकार हनन् हुन्छ, यसकारण कुन क्षेत्रमा भोट हाले र उनको नाम के थियो भन्न चाहिँ मिल्दैन। यति पक्का हो कि मोरङ जिल्लामा एक जना तेस्रो लिंगीले भोट हालेका छन्।’

ब्लु डाइमन्ड सोसाइटी विराटनगर शाखा संयोजक मुस्कान श्रेष्ठ पनि सञ्जेलको भनाइमा सहमत जनाउँछिन्। ‘हामीँग मोरङ जिल्लामा करिब ११ देखि १२ हजार तेस्रो लिंगी छन्। तर, निर्वाचन कार्यालयले जनाएअनुसार एकजनाले मात्र आफ्नो पहिचानबाट मताधिकार प्रयोग गरेका छन्,’ उनी भन्छिन्।

विराटनगरस्थित परिवर्तनशील समाज नामक संस्थाका अध्यक्षसमेत रहेकी मुस्कान हाल महानगरपालिकासंग स्वास्थ्यसम्बन्धी संयुक्त कार्यमा संलग्न छिन्। विशेषतः एचआइभी रोकथाम तथा यौनरोग संक्रमणका विषयमा चेतनामूलक कार्य गर्दै आएकी मुस्कानका अनुसार महानगरपालिकाभित्र २ हजार हाराहारीमा तेस्रो लिंगी छन्। समाजले तेस्रो लिंगीमाथि हेर्ने दृष्टिकोणमा खासै परिवर्तन ल्याउन नसक्नुका कारण पनि उनीहरु खुलेर बाहिर आउन सकेका छैनन्।

‘यसका लागि हामी निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ, तर पनि आफ्नो पहिचान लुकाउनेको संख्या बढी छ,’ उनी भन्छिन्, ‘उहाँहरु खुल्न सक्नुभएको छैन।’

पछिल्लो आठ वर्षदेखि मोरङको विभिन्न स्थानमा स्वास्थ्य सेवामा काम गर्दै आएकी मुस्कान भन्छिन्, ‘कानुनी पक्षमा महत्व नदिनु, सेवा सुविधामा बञ्चित गराइनुका कारण पनि हामी पीडित हुँदै आएका छौँ।’

केही महिनाअघि सम्पन्न स्थानीय निर्वाचन, प्रदेश प्रतिनिधि सभाको निर्वाचनपछि तेस्रो लिंगीको हक अधिकारका लागि जनप्रतिनिधिले पनि कार्य गर्दिन्छन् भन्ने विराटनगरका तेस्रोे लिंगीहरुको बुझाइ छ।

यो पनि हेर्नुहोस्:

कास्कीमा मतदान गर्ने महिला बढी

 

पुस ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्