काठमाडौँ- बंगलादेशमा जारी साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा मंगलबार भएको खेलमा नेपाल भारतसँग १०–० को फराकिलो गोलअन्तरले पराजित भएपछि फाइनल खेल्ने नेपालको सम्भावना सकिएको हो।
जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो। यसअघि पुस २ गते भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० ले गोल अन्तरले पराजित भएको थियो।
नेपालले पहिलो र दोस्रो हाफमा समान पाँच/पाँच गोल बेहोर्यो। भारतका लागि सुनिता मुन्डा र प्रियंकादेवीले ह्याट्रिक गरे भने लेन्डा कोमले दुई तथा सन्थिया र अंनी बाइले समान एक एक गोल गरे।
त्यस्तै प्रतियोगितामा भारत र बंगलादेश एक खेल अगावै फाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको अर्को खेलमा आयोजक बंगलादेशले भुटानलाई ३–० ले गोलअन्तरले हरायो।
भुटान पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो। भुटानले दुई खेलबाट ६ गोल खाएको छ भने यता समान खेलबाट नेपालले १६ गोल खाएको छ। प्रतियोगितामा भुटान पनि अघिल्लो चरण प्रवेशबाट बाहिरिएको छ। लिग राउण्डको अन्तिम खेल नेपालले पुस ६ गते भुटानसँग खेल्नेछ। (रासस)
यो पनि हेर्नुहोस्:
साफ च्यापियनसिप फुटबल बंगलादेशमा