बनेपा- काभ्रेपलान्चोक लाई ३ नं प्रदेशको राजधानी बनाउन सांसदहरुले पहल थालेका छन् ।
जिल्लाको प्रनिनिधिसभा क्षेत्र नं १ का सांसद गंगाबहादुर तामाङ (दोङ) ले प्रादेशिक राजधानीका लागि सिफारिश समिति नै निर्माण गरेर काम थालिएको उल्लेख गर्दै त्यसका लागि प्रशासनिक काम भइरहेको जानकारी दिए।
प्रनिनिधिसभा क्षेत्र नं २ का सांसद गोकुल बाँस्कोटाले प्रदेशसभाको सबै विषय निर्क्यौल गर्ने अधिकार प्रदेशलाई भएकामा जोड दिँदै बनेपा नै प्रदेश नं ३ को राजधानी बनाउन उपयुक्त स्थान भएको बताए।
काभ्रेपलाञ्चोकलाई प्रादेशिक राजधानी बनाउनका लागि सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोटसमेत सहमत भएको र अन्य जिल्लालाई सहमतिमा ल्याउने प्रयास समेत भएको सांसदहरुले बताए।
प्रादेशिक राजधानी बनाउन पूर्वाधार विकासका साथसाथै प्रदेशसभाका लागि स्थल छनोटलगायतका काम पनि भइरहेको शहरी विकास डिभिजन कार्यालयले जनाएको छ ।
क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे संयोजकत्वमा गठन भएको सिफारिस समितिमा, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित कार्यालयका प्रमुख, शहरी विकास डिभिजन कार्यालयका प्रमुखलगायत छन्। समितिले प्रदेश सभाका लागि बनेपानजिकै रहेको आइटी पार्क, शैक्षिक तालिम केन्द्र र नापी तालिम केन्द्रलाई सिफारिस गरिएको सहरी विकास डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवालले जानकारी दिए।
उनले केही दिनअघि पूर्वाधार विकासका लागि ३१ करोड रुपैयाँ हाराहारीको बजेट आवश्यक भएको प्रतिवेदन क्षेत्रीय प्रशासकको कार्यालय, हेटाैँडामा पठाइएको बताए। नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका सदस्य महेश पौडेलले प्रदेशको राजधानी जिल्लालाई बनाउनेमा पार्टी सकारात्मक भएको उल्लेख गर्दै ‘बल एमालेको कोर्टमा छ’ भने।
तीन नं. प्रदेश अन्तर्गत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक पर्छ।