काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार विभागका महानिर्देशक पाण्डे, शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खङ्गबहादुर केसीले एक म्यानपावरको रोक्का फुकुवा सम्बन्धमा १० लाख रुपैयाँ घूस मागेको अभियोगमा आयोगले पक्राउ गरेको थियो।
म्यानपावर कम्पनीको कामकाज तथा बैंक खातासमेत विभागबाट रोक्का राखेको सम्बन्धमा कम्पनीका तर्फबाट सर्वोच्च अदालमा मुद्दा दायर भई रोक्का फुकुवा गरी नियमानुसार काम गर्नुपर्नेमा सेवाग्राहीसँग घूस मागेको आयोगको ठहर छ।
आयोगको टोलीले शाखा अधिकृत पौडेल र नासु केसीलाई पहिले पक्राउ गरेको थियो भने महानिर्देशक पाण्डेलाई विभाग परिसरबाटै पक्राउ गरेको थियो। आयोगले जनही १० लाख रुपैयाँ बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो।
यो पनि हेर्नुहोस्:
पपुवा न्युगिनी पठाइदिने भन्दै २७ लाख ठग्ने पक्राउ