कांग्रेससँग माओवादी लचिलो, साझेदारीको पक्षमा

गिरिराजमणि पोखरेल।

काठमाडौँ- बाम गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेले नेपाली कांग्रेसबिरुद्ध कडा अडान लिइरहेका बेला गठबन्धनको साझेदार नेकपा माओवादी केन्द्रले भने राष्ट्रिय सभा गठन लगायतका महत्वपूर्ण विषयमा कांग्रेससँग साझेदारी गरेर अघि बढ्नु पर्ने धारणा बनाएको छ।

राष्ट्रियसभा गठनबारे कांग्रेस र एमालेबीचको विरोधाभासी अडानभन्दा फरक मध्यमार्गी बाटोको पक्षमा माओवादी उभिएको छ। माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले विकसित राजनीतिक परिस्थितिमा कांग्रेसलाई मिलाएर अघि बढ्नुको विकल्प नभएको धारणा अघि सारेका हुन्।

उनले राष्ट्रियसभा गठनका सम्बन्धमा संविधानमा स्पष्ट व्यवस्था नभएकाले सहमतिमा अघि बढ्नुपर्ने बताए। उनले सोमबार आफ्नो पार्टीको बैठक पनि सोही निष्कर्षमा पुगेको समेत बताए।

‘कांग्रेससँग साझेदारी गरेरै अघि बढेको खण्डमा मात्रै अहिलेका विवादित विषय टुंगिन्छन्। हैन भने फेरि अप्ठ्यारो परिस्थिति निम्तिन सक्छ भन्ने मेरो व्यक्तिगत धारणा हो र अध्यक्षसहितको बैठकले पनि त्यही निष्कर्ष निकालेको छ,’ पोखरेलले देशसञ्चारसँग मंगलबार भने।

माओवादी प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिन दबाब दिइरहेको एमालेभन्दा फरकरुपमा प्रस्तुत भएको छ। यद्यपि देउवाले राजीनामा दिएर अर्को सरकार नबन्दासम्म कामचलाउ प्रधानमन्त्रीको हैसियतमा बस्नु उचित भएको माओवादीको धारणा छ। ‘निर्वाचनको परिणाम आउनासाथ देउवा सरकारले राजिनामा दिनुपर्थ्यो। आखिर कामचलाउको हैसियतमा त  ऊ हुन्थ्यो नै। त्यसमा उसको गल्ती भएको छ। अर्को निर्वाचनपछिको गतिविधिमा उस बामगठबन्धनसँग सहमति गरेर अघि बढ्नुपर्थ्यो। त्यहाँ पनि ऊ चुकेको छ। तर, ऊसँग हामी मिलेर जानुको विकल्प पनि छैन,’ पोखरेलले एमाले ठूलो पार्टी र आगामी सरकारको नेतृत्व गर्ने भएकाले पनि कांग्रेससँग विनम्र हुनुपर्ने बताए ।

पार्टी एकता प्राथमिकतामा
माओवादीले सरकार गठन र बाम एकतालाई औपचारिकता दिने प्रक्रिया सँगसँगै अघि जानुपर्ने एमालेको धारणाभन्दा फरक किसिमले माओवादी केन्द्र प्रस्तुत भएको छ। माओवादी पहिले पार्टी एकता र त्यसपछि सरकार गठनको पक्षमा खुलेर आएको छ। एमाले ठूलो पार्टी भएको र संघीय तथा प्रान्तीय संसदमा उसका सदस्य बढी भएकाले सरकार र एकीकृत पार्टी दुवैको नेतृत्व उसको हातमा जानसक्ने सम्भावनालाई न्यून गर्न माओवादीले पहिले ‘पहिले एकता’ सूत्र अघि बढाएको छ।

‘जनताले बामगठबन्धनको एकीकरण हुन्छ भनेर नै हामीलाई जिताएका हुन्। त्यो सरकार गठनअघि नै टुंग्याउनुपर्छ। हाम्रो एकता नहुँदा त्यसको असर सरकार गठनमा पनि पर्छ,’ उनले भने। पार्टी एकता संयोजन समिति बनाउँदा दुई नेता प्रमुख नेता नै हुन् भनेर समानताका आधारमा मान्यता बनाइएको र त्यसको आधामा अघि बढ्नुपर्ने अडान राखेर माओवादीले स्पष्ट रुपमा ओलीले प्रधानमन्त्री हुँदा दाहाल पार्टी अध्यक्ष बन्नुपर्ने सर्त अघि सारेको छ।

आन्तरिक राजनीतिमा कांग्रेसलाई बेवास्ता गर्न नहुने जस्तै कुटनीतिमा पनि दुवै छिमेकी मुलुकसँग सुमधुर र सन्तुलित सम्बन्ध अघि बढाउनु पर्ने मान्यतालाई माओवादीले अघि सारेको छ।

एमाले भारतबाट टाढा र चीनसँग नजिक हुन्छ भन्ने अड्कलबाजी खासगरी अन्तर्राष्ट्रिय जगतमा भइरहँदा बाम गठबन्धनको साझेदार पार्टी माओवादीले सन्तुलित सम्बन्धको वकालत गरेको हो। ‘कतै छिमेकी मुलुकसँग सम्बन्ध के हुने हो भन्ने आशंका गरिएको छ। त्यसमा हाम्रो स्पष्ट मान्यता छ, हामी छिमेकी मुलुक र प्रतिपक्षी कांग्रेससँग पनि सम्बन्ध सुमधुर बनाउनु पर्छ,’ उनले भने।

एमाले उपाध्यक्ष बामदेव गौतमजसरी नै पोखरेलले पनि छिमेकीसँग सन्तुलित सम्बन्ध र बामगठबन्धन समानता र सम्मानको सम्बन्धबाट अघि बढ्नुपर्ने पोखरेलको भनाइ छ। निर्वाचनलगत्तै एमाले महासचिव ईश्वर पोखरेलले एकीकृत पार्टी र सरकारको नेतृत्व दुवै नै एकैले गर्नुपर्छ भनेपछि एमाले र माओवादी दुवैमा तरंग र केही हदसम्म अविश्वास उत्पन्न भएको हो।

यो पनि हेर्नुहोस्:

दाङमा बाम गठबन्धनले खाता खोल्‍यो

बाम चेतावनीलाई बेवास्ता गर्दै प्रदेश प्रमुख नियुक्तिको तयारी

पुस ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्