जितपुर, कपिलवस्तु- प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता तथा भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय मतदातालाई धन्यवाद दिन यतिबेला गाउँ दौडाहामा व्यस्त छन्। दुईदुईपटक भारतका लागि राजदूत बनेका उपाध्याय पछिल्लोपटक राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका थिए।
कपिलवस्तु क्षेत्र नं १ मा उम्मेदवार बनेका उपाध्याय वामगठबन्धनका साझा उम्मेदवार चन्द्रपाणि खनाल (बलदेव) सँग उनी ९ सय ४६ मतान्तरले पराजित भएका थिए।
उनले सोमबारदेखि आफ्नो क्षेत्रका विभिन्न वडामा गएर मतदातालाई धन्यवाद दिने र उनीहरुका गुनासा सुन्ने गर्न थालेका हुन्।
उनले सोमबार दक्षिणी क्षेत्र शुद्धोधन गाउँपालिका–६ र पचेहराका साथै मंगलबार उत्तरी क्षेत्र वडा नं ७ र ९ का मतदातालाई भेटेर धन्यवाद ज्ञापन गर्नुका साथै वडाका समस्याका बारेमा पनि जानकारी लिएका थिए।
मंगलबार वडा–९ को बक्सीरपुरमा मतदातालाई सम्बोधन गर्दै उपाध्यायले यस क्षेत्रको विकास निर्माणमा जितेका उम्मेदवारले भन्दा कुनै कमी हुन नदिई संगठित भएर आफू विकासमा लाग्ने प्रतिबद्धता जाहेर गरे।
उनले यस क्षेत्रका समस्याका बारेमा आफू जानकार रहेको बताउँदै जितेका उम्मेदवारलाई कटाक्ष गर्दै भने, ‘आफ्नो घरमा कहाँ स्वीच छ, ठ्याक्कै थिचेपछि बल्छ भन्ने थाहा छ।’ नयाँलाई स्वीच खोज्दै ठिक्क हुने, तर आफूलाई भने स्वीच खोज्नु नपर्ने उनले बताए।