बेनी, म्याग्दी- बेनी नगरपालिका–४ सिंगा बास्कुनाका एक युवकले हजुरआमाको नाममा धौलागिरि मावि, सिंगामा २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

न्यूजिल्याण्डमा रहेका लालबहादुर केसीले आफ्नी हजुरआमा ९९ वर्षीया गौमती केसीको नाममा २५ लाख रुपैयाँ राशिको अक्षयकोषको स्थापना गरेका हुन्।

विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका केसीले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई कोषको ब्याजबाट सहयोग गर्ने बताए।

न्यूजील्याण्डमा सफल नेपाली व्यवसायीका रुपमा चिनिएका केसी त्यहाँ फलफूल व्यवसायमा छन्। व्यवसायसँगै सामाजिक र परोपकारी कार्यमा समेत संलग्न रहेका केसीले धौलागिरि माविमै सञ्चालित विषेश कक्षाअन्तर्गत बहिरा विद्यार्थीलाई समेत दुई लाख रुपैयाँ आर्थिक संकलन गरेर पठाएका छन्।

विद्यालयमा उच्च माविसँगै प्राविधिक शिक्षासमेत सञ्चालन गर्ने गरिएकाले पनि आर्थिक संकलन अभियान सञ्चालन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान खड्काले बताए।

२०१८ सालमा स्थापना भएको विद्यालयले माध्यमिक तहसँगै गत वर्ष कक्षा ११ को अनुमतिसमेत पाएको थियो। शिक्षा र व्यवस्थापन संकाय सञ्चालन भइरहेको विद्यालयमा प्राविदेखि माविसम्म २५० जना विद्यार्थी अध्ययनरत छन्। (रासस)

पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्