वीरगन्जको मुस्लो झन् झन् बढ्दैछ, अझै नियन्त्रणबाहिर

पर्सा-वीरगन्जको सुपर ग्यास उद्योगमा बुधबार बिहान सुरु भएको आगलागी ६ घन्टा बित्दासमेत नियन्त्रणमा आउन सकेको छैन। प्रहरीले घटनास्थलको ५ सय मिटरवरिपरि खाली गरेर सतर्कता अपनाएको छ।

तर, आगलागी नियन्त्रणका लागि कुनै प्रयास भएको छैन। आगलागी सुरु भएलगत्तै त्यहाँ पुगेको दमकलसमेत जलेपछि अग्नि नियन्त्रणमा समस्या देखिएको छ। प्रहरीले आगोको मुस्लो बढिरहेको जनाएको छ ।

संघीय प्रहरी इकाइ नारायणीका एसएसपी सूर्य उपाध्यायले थप सम्भावित दुर्घटनालाई ध्यानमा राखी घटनास्थलको पाँच सय मिटर वरपर क्षेत्र खाली गरिएको जानकारी दिए। ‘आगो भीषण रुपमा लागिरहेको छ।

अहिलेसम्म सिलिन्डर मात्र पड्किएको अनुमान गरेका छौं। तर, त्यहाँ तीन वटा ग्यास बुलेट पनि रहेको जानकारी पाएकाले थप दुर्घटनाको सम्भावना पनि छ। त्यसैले सुरक्षाकर्मी समेत पाँच सय मिटर दुरीमा मात्र छन्’, एसएसपी उपाध्यायले भने।

उनले नियन्त्रणका लागि अन्य प्राविधिक उपाय खोजी भइरहेको बताए। यस किसिमका आगलागीमा अग्नि नियन्त्रण विमान र फोम आदि प्रयोग हुने गरेपनि नेपालमा भने यी दुवै छैनन्। यसले गर्दा, आगो ननिभिउन्जेल घटनास्थलमा प्रवेश गर्न गाह्रो हुने प्रहरी अधिकारी बताउँछन्।

‘ग्यास उद्योगमा कति ग्यास थियो र त्यो कति बेरसम्म बल्छ भन्ने हो। तत्कालका लागि त्यो कुर्नुको विकल्प छैन,’ एसएसपी उपाध्यायले निरीहता व्यक्त गरे।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा बुलेटबाट ग्यास भर्नेक्रममा आगलागी सुरु भएको अनुमान गरेको छ।

यो पनि हेर्नुहोस्:

ग्यास आगलागीका दुई घाइते वीरमा, एक गम्भीर

वीरगञ्जमा ग्यास उद्योगमा भीषण आगलागी, दुई अग्निनियन्त्रकको मृत्‍यु

पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्