चर्को विरोधपछि पोखरा रंगशालाबाट हट्ने भो लाहुरे ट्रेनिङ

पोखरा रंगशालामा लाहुरे तालिम गर्दै युवा। तस्बिर: देशसञ्चार।

पोखरा- पोखरा रंगशालाको खेल मैदानमा सञ्चालन हुँदै आएको लाहुरे ट्रेनिङ अब हट्ने भएको छ। उक्त खेलमैदान कहिले ड्राइभिङ इन्स्टिच्यूट त, कहिले लाहुरे ट्रेनिङ दिने स्थलका रुपमा प्रयोग हुन थालेपछि विवादित बन्दै आइरहेको थियो।

खेलप्रेमीहरुको चर्को विरोधपछि ड्राइभिङ इन्स्टिच्यूटलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीले हटाएको थियो। अहिले लाहुरे ट्रेनिङका बारेमा समेत थुप्रै गुनासो आएपछि त्यहाँबाट हटाउन लागिएको हो।

रंगशालामा फिजिकल फिटनेसको नाममा पोखराका केही लाहुरे ट्रेनिङ कम्पनीले जिल्ला खेलकुद विकास समितिलाई वार्षिक करिब ७ लाख रुपैयाँ भाडा बुझाएर उक्त खेल मैदान प्रयोग गर्दै आइरहेका थिए।

लाहुेर ट्रेनिङले खेलाडीका लागि मैदान प्रयोगमा असहज भएको गुनासो बढ्दै गएपछि क्षेत्रीय समितिले उक्त निर्णय गरेको हो। ‘यो राज्यको सम्पत्ति हो, खेलाडीहरुले निर्वाध रुपमा प्रयोग गर्न पाउनु पर्छ,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले भने लाहुरे तालिमले खेल मैदानको गरिमालाई नै आँच पुर्‍यायो।’

‘करिब ६/७ सय जनाले रंगशालाभित्र जहाँ पायो, त्यही खुला रुपमा दिशापिसाब गर्नेे मर्निङ वाकमा जाने महिलालाई जिस्काउने गरेपछि उजुरी आयो र हामीले हटाउने निर्णय गर्यौँ,’ पौडेलले भने।

‘समितिलाई पैसा आयो भन्दैमा रंगशालाभित्र यस्तो हर्कत अस्वाभाविक हो। यसलाई हटाउन जिल्ला खेलकुद विकास समितिलाई निर्देशन समेत दिइसकेका छौँ,’ उनले भने, ‘अब पोखरा रंगशालाभित्रका सबै विकृति विसंगति हट्छन्।’

यता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङले यस विषयमा आफूलाई आधिकारिक जानकारी नभएको बताए। उनले भने, ‘रंगशाला खेलाडीको हो, खेलाडी नै पहिलो प्राथमिकता हो।’

‘लाहुरे ट्रेनिङ हटाउने विषयमा मेरो केही विरोध छैन।’ तर, जिल्ला खेलकुद विकास समितिको कार्यालय र कर्मचारी व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउन भाडामा दिनु बाध्यता भएको उनको भनाइ थियो।

फागुनको दोस्रो साताबाट वृहत रुपमा पोखरा रंगशालाको भौतिक संरचना निर्माण कार्य सुरु हुने भएको छ। हालको संरचना भत्काउन राष्ट्रिय खेलकुद परिषद्बाट करिब ४४ लाख रुपैयाँ रकम क्षेत्रीय खेलकुद विकास समितिको खातामा आइसकेको छ।

१३ औं दक्षिण एशियाली खेलकुदलाई मध्यनजर गर्दै पोखरा रंगशाला निर्माणको बिडिङ अन्तिम चरणमा पुगेको छ। करिब १ अर्ब २० करोड रुपैयाँको लागतमा पोखरा रंगशाला निर्माण हुँदैछ। अब अन्तर्राष्ट्रिय स्तरको ट्रयाक पनि बन्ने भएकाले रंगशालाभित्र कुनै लाहुरे तालिम संचालन हुन नसक्ने कार्यालय प्रमुख प्रकाश बरालले बताए।

यो पनि हेर्नुहोस्:

पोखरा रंगशालामा मंगलबार पाँच खेल

पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्