‘नत्र हिजो राजाले, कांग्रेसले लुटेका थिए, अब बामहरुले लुट्नेछन्’

भर्खरै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले अत्याधिक बहुमत पाएसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरणले राजनीतिक स्पेसमा बहसको स्थान पाएको छ। सँगसँगै यसले निर्माण गर्ने नीति, अर्थतन्त्र र सरकारको भूमिकाबारे पनि बहस सुरु भएको छ।

यिनै पृष्ठभूमिमा नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालसँग दुई पार्टीको एकीकरणको सैद्धान्तिक आधार, पार्टीभित्रको आन्तरिक लोकतन्त्र, भावी सरकारको कार्यदिशा र राष्ट्रिय अर्थतन्त्रको चरित्रबारे देशसञ्चारका लक्ष्मण श्रेष्ठले लामो कुराकानी गरेका थिए। तीमध्ये अघिल्ला तीन विषयबारे भएको अन्तर्वार्ता।

एकीकरणको सैद्धान्तिक आधार
१. सोमबार मात्रै माओवादी केन्द्रको बैठकले पार्टी एकीकरणपछि मात्र सरकार निर्माण प्रक्रियामा जाने भनेर निर्णय गरेको छ। तपाईँहरुले कसरी हेर्नुभएको छ? पहिला पार्टी एकीकरणबाटै सुरु गर्ने हो कि होइन?

पार्टी एकीकरण एक हिसाबले सुरु भइसकेको छ। तर, एकीकरणको प्रक्रिया कसरी पूरा गर्छौँ भन्ने खाका पनि बनाउनै छ। त्यसैले पार्टी एकीकरण र सरकार निर्माण सँगसँगै जान्छन्।

२. सोझो अर्थमा भन्दा पार्टी एकीकरणको प्रक्रियाले केही समय लिन्छ?

समय त स्वतः लिन्छ। हामीले भनेजस्तो एक, दुई महिनामा सकिँदैन। तर, कति लिन्छ भन्नेबारे भने हामीले सामान्य योजना बनाएरै जानुपर्छ। मुख्यतः दुईवटा कुरा सैद्धान्तिक र सांगठनिक विषयहरु कसरी टुंगो लगाउन भन्ने छ। त्यस्तै, तलबाट सुरु गर्छौँ कि माथिबाट सुरु गर्छौँ भन्नेबारे पनि स्पष्ट हुन बाँकी नै छ। यो प्रक्रिया पूरा नहुँदासम्म दुवै पार्टीहरु कसरी कसरी सञ्चालन हुन्छन्? दुवै पार्टी एउटै कार्यभार लिएर एकै दिशामा सञ्चालन हुनपर्‍यो। त्यसको नेतृत्व कसरी गर्छौँ भन्नेबारे पनि स्पष्ट हुनपर्‍यो। यी सबै विषय बाँकी नै छन्। त्यस्तै, सरकार निर्माणबारे पनि कति कति जनाको सरकार बनाउने? त्यो सरकारले केके काम गर्ने? राष्ट्रपति, सभामुख लगायत अरु संवैधानिक व्यवस्था कसरी बाँडफाँड गर्ने आदिबारे हामीले छलफलबाटै टुंगो लगाउछौँ।

यी दुई पार्टी एउटै कम्युनिष्ट पार्टीका दुइवटा भंगालाहरु मात्र हुन्। गुट, उपगुट त्यसभित्रका हुन्। एमाले, माओवादी केन्द्र र अरु स्वार्थ समूहले प्रभाव नपार्ने गरी नै एकीकरण प्रक्रिया अघि बढाउनुपर्छ। गुटबन्दीको कुरा गरेर, अलग कुरा गरेर, भाँड्ने कुरा गरेर कोही कसैले सुख पाउँदैन।

३. यो अलि जटिल देखिँदैन? एकातिर, दुवै पार्टीमा पनि ससाना विचार समूह वा गुटहरु छन्। अर्कोतिर केही विषयमा दुवै पार्टीका सिंगो दृष्टिकोण नै फरक छ। यो दुइवटैलाई एकीकरण गर्न अलि बढी जटिल होइन?

यो हामीले कुन विन्दुबाट हेर्छौँ भन्नेमा भर पर्छ। समस्या जनाउँदा समस्याहरु प्रशस्त छन्। तर, समाधानहरु पनि उत्तिकै छन्। त्यसैले नै हामी एकीकरण प्रक्रियामा आएका हौं। हामी एउटै कम्युनिष्ट पार्टी हौं भन्नेबाट सुरु गर्‍यौँ भने यी दुई पार्टी एउटै कम्युनिष्ट पार्टीका दुइवटा भंगालाहरु मात्र हुन्। गुट, उपगुट त्यसभित्रका हुन्। माथिबाट हेर्दा एउटा कम्युनिष्ट पार्टी हो, त्यसका दुई भंगालाहरु हुन्। गुट, उपगुट, व्यक्ति, समूहले पनि केही प्रभाव पार्लान्। तर, एमाले, माओवादी केन्द्र र अरु स्वार्थ समूहले प्रभाव नपार्ने गरी नै एकीकरण प्रक्रिया अघि बढाउनुपर्छ। त्यो जनादेश पनि हो। अब पनि गुटबन्दीको कुरा गरेर, अलग कुरा गरेर, भाँड्ने कुरा गरेर कोही कसैले सुख पाउँदैन।

हामी केवल हाम्रा पार्टीप्रति मात्र जिम्मेवार छैनौँ। हामी जनताप्रति पनि जिम्मेवार छौँ। समृद्धितर्फ लैजान्छौँ भनेर एकै ठाउँमा उभिएर भोट मागेर पाइसकेका छौँ। त्यसकारण हामी आम जनताप्रति नै एकीकरण गर्नका लागि जिम्मेवार छौँ।

४. कम्युनिष्ट पार्टी भन्नासाथ वैचारिक कुरा पनि आउँछ। दुईवटा पार्टीको वैचारिक दृष्टिकोणमा प्रशस्त फरक देखिन्छ। माओवादी सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएको हो, एमालेले सुरुदेखि त्यसको विरोध गरेको हो। एकातिर माओवाद मान्ने पार्टी छ अर्कोतिर माओ विचारधारा पनि नमान्ने पार्टी। के आधारमा एकता हुन्छ?

तपाईँले इतिहास हेर्ने हो भने अलग अलग छ। तपाईँले भन्नुभएको ब्याकग्राउन्ड इतिहास हो। वर्तमानमा हामी सैद्धान्तिक रुपमा जहाँ टेकेका छौँ र भविष्यमा जहाँ जाने भनेका छौँ, त्यो आधारमा एकै ठाउँमा छौँ। दोस्रोतर्फ आजका चुनौती जेजे छन्, त्यसलाई दुवै वाम पार्टी एकै ठाउँमा रहेर टुंगो लगाउनसक्छौँं भन्नेमा हाम्रो दुई मत छैन।

अर्कोतर्फ, हामीले जनतामा हामीले एउटा अपेक्षा सिर्जना गरेका छौँ। एकीकरण गर्ने दायित्व आफैँले सिर्जना गरेका छौंँ। त्यो हिसाबले पनि अब एकीकरण विरोधी कुनै पनि काम पाच्य हुँदैन। एकीकरणको कुरा त अब सार्वजनिक भइसक्यो। हामी केवल हाम्रा पार्टीप्रति मात्र जिम्मेवार छैनौँ। हामी जनताप्रति पनि जिम्मेवार छौँ। हामीले एउटै घोषणापत्र लिएर चुनाव लड्यौँ हामीले भन्यौँ, स्थायित्व दिन्छौँ। त्यो केवल सरकारको स्थायित्व होइन, राजनीतिक स्थीरता पनि हो। त्यस्तै, हामीले समृद्धितर्फ लैजान्छौँ भनेर एकै ठाउँमा उभिएर भोट मागेर पाइसकेका छौँ। त्यसकारण हामी आम जनताप्रति नै एकीकरण गर्नका लागि जिम्मेवार छौँ।

५. तपाईँ सिद्धान्तको व्याख्या पनि गर्नुहुन्छ। यो एकीकरणका सैद्धान्तिक आधार केके हुन्?

सात सालको क्रान्तिमा हाम्रो उपस्थिति, ०१५ साल, ०१७ देखि ०४६ साल, ०४६ सालको आन्दोलन, ०६२/०६३को आन्दोलन र त्यसपछिका घटनाक्रम सबैलाई हेर्नुहुन्छ भने कम्युनिष्ट पार्टी निरन्तर विकसित हुँदै गइरहेको छ। कम्युनिष्ट पार्टी विस्तार भइरहेको छ। देशको बहुसंख्यक जनताले कम्युनिष्ट पार्टीलाई भोट गरेको छ। यसले जनमत एउटा पार्टीका पक्षमा छ भन्ने देखाउँछ। यो ऐतिहासिक सन्दर्भ हो। दोस्रो सन्दर्भ, माओवादी केन्द्रको हेटौंडा सम्मेलन र हाम्रो नवौ महाधिवेशनले सैद्धान्तिक रुपमा आफ्नो बाटो स्पष्ट पारेको छ। त्यसले यी दुवैलाई एकै ठाउँमा आइपुगेका छन्। संक्षिप्तरुपमा भन्दा हामीले राजनीतिक तहको लोकतन्त्रलाई अब सामाजिक–आर्थिक जीवनमा लैजानुपर्छ भनेर सामान्य रुपले एउटा बाटो निर्धारण गरेका छौँ।

अब हाम्रो कार्यभार के हो भन्ने प्रश्न हुनसक्छ। हामी दुवै पार्टी लोकतान्त्रिक रुपमा चल्छौँ। आजको मुख्य समस्या राष्ट्रिय अर्थतन्त्रको दिगो विकास गर्ने हो त्यो गर्छौँ। त्यो गर्दै समाजवादतिर लाग्छौँ। त्यसैले यी तीन विषय लोकतान्त्रिक पद्दति, राष्ट्रिय अर्थतन्त्रको विकास र समाजवादतिरको यात्रामा दुवै महाधिवेशनहरुले पहिले नै स्पष्ट पारिसकेका छन्।

अब हामी समाजवादतर्फ जाने हो। हामीले अब नयाँ कार्यभार सुरु गरिसकेका छौँ।

६. यो कार्यभार एमालेको ‘जनताको बहुदलीय जनवाद’ सँग नजिक छ कि माओवादीको ‘एक्काइसौँ शताब्दीको जनवाद’ सँग?

एउटा अर्धसामन्ती, अर्धऔपनिवेशिक मुलुकमा गरिने जनवादी क्रान्तिको सिद्धान्तलाई हामीले जनताको बहुदलीय जनवाद (जबज) भनेका थियौँ। माओवादीले पनि अर्धसामन्ती, अर्धऔपनिवेशिक मुलुकमा सशस्त्र संघर्षद्वारा गरिने जनवादी क्रान्तिको सिद्धान्तको नाम माओवाद भनेको थियो। हामी दुवै पार्टी त्यो जनवादी क्रान्ति पूरा भएको निचोडमा पुगेका छौँ। त्यसैले त्यो माओवादको र हामीले ०४९ सालमा भनेको जबजको च्याप्टर सकियो। अब हामी समाजवादतर्फ जाने हो। हामीले अब नयाँ कार्यभार सुरु गरिसकेका छौँ। त्यसैले माओवादले वा जनताको बहुदलीय जनवादले हामीलाई एकीकरण प्रक्रियामा कुनै समस्या पार्दैन।

७. यसको अर्थ ती शब्दावलीहरुको आयु सकियो?

हो। आज पनि माओ विचारधाराबाट केके सिक्ने त्यो हामी सिक्छौँ। जबजको के योगदान रह्यो, अब त्यसको सान्दर्भिकता के कति रह्यो भन्नेबारे पनि छलफल गर्छौँ। तर, अब एकीकरणमा यी शब्दहरुले बाधा पुर्‍याउँदैनन्।

८. तपाईँले आफ्नो पुस्तक ‘आजको मार्क्सवाद र नेपाली क्रान्ति’ एमाले र माओवादीका सामञ्जस्यताहरुबारे लामो लामो व्याख्या गर्नुभएको छ। के हामी यो एकीकरणसम्म त्यस्तै सामञ्जस्यताहरुले ल्याइपुर्‍याएका हुन् भन्न सक्छौँ?

स्वतः। जे थियो मैले त्यहीँ लेखेको हुँ।

९. अर्थात्, अहिले आकस्मिकता जस्तो देखिए पनि यो गठबन्धन वा एकीकरणमा नियमितता थियो भन्ने हो?

एकदमै छ। इतिहासको एउटा सन्दर्भ छ। सैद्धान्तिक विकासको एउटा सन्दर्भ छ। यी दुवै कुरा एकै ठाउँमा पुगेका छन्। यी दुवैले हामीलाई एकै ठाउँमा उभ्याएका छन्।

१०. यसको अर्थ दूर इतिहासमा सशस्त्र संघर्ष गरेको तत्कालीन माले र अहिलेको नेकपा (एमाले) अनि निकट इतिहासमा सशस्त्र संघर्ष गरेको माओवादी, दुवै पार्टी सशस्त्र संघर्षको औचित्य सकियो शान्तिपूर्ण संसदीय अभ्यासबाटै समाजवादमा जान्छौँ भन्ने निष्कर्षमा पुगेका हुन्?

यो निष्कर्ष उहाँहरुले (माओवादीहरुले) निकालिसक्नुभएको छ। हामीले पनि व्यवहारबाट त्यही सिकेका छौँ। दुवैले व्यवहारको दौरानमा सिक्दै एक ठाउँमा पुग्यौँ।

११. शान्तिपूर्ण तरिकाले समाजवादतर्फ भनेरै बुझ्नुपर्‍यो, हैन त?

लोकतान्त्रिक तरिकाले भनौँ न अझै छ।

आन्तरिक जनवाद
१२. तपाईँले आफ्नो किताबमा ‘जनवादी केन्द्रीयता’बारे लामो विमर्श गर्दै आन्तरिक जनवादको चर्चा गर्नुभएको छ। तर, गठबन्धन प्रक्रिया हेर्दा त दुई पार्टीका शीर्ष नेताहरुले एकाएक घोषणा गरेजस्तो देखियो। कम्युनिष्ट पार्टीहरुको प्रचलन अनुसार त विस्तारित भेला बोलाएर वा सम्मेलन, महाधिवेशन गरेर निर्णयमा पुग्नुपर्ने होइन र?

हामीले जनताको माग, चाहनालाई अलि ढिलो बुझ्यौँ। हामी आफैँले तयार गरेका सिद्धान्तहरुमा राम्ररी टेक्न सकेनौँ। तत्कालिक राजनीतिक स्थितिले हामीलाई तालमेल गर्ने विन्दुमा पुर्‍यायो। त्यो तालमेलले मात्र स्थायी सरकार र राजनीतिक स्थीरताको चाहनालाई सम्बोधन गर्न सक्दैन। त्यसैले हामीले पार्टी एकीकरणसम्म जाने निष्कर्ष निकाल्यौँ। पार्टी एकीकरणबारे भनेपछि छलफल गर्ने गरी तत्कालको लागि तालमेलको घोषणा गर्‍यौँ। त्यसपछाडिका सबै कुरा बाँकी छ। त्यस हिसाबले हेर्दा हामीले जे दायित्व थियो समयमा बुझेनौँ, अलि ढिलो बुझ्यौँ। बुझ्ने बेलासम्ममा तालमेल गर्नपर्ने समय आइसकेको थियो। त्यतिबेला हामीलाई सिद्धान्तबारे छलफल गर्ने फुर्सद पनि थिएन। त्यसैले तालमेललाई पनि पार्टी एकीकरणको विन्दु बनाएर अगाडि बढ्यौँ। अब हामी क्रमशः सैद्धान्तिक र सांगठनिक मुद्दाहरुमा छलफल गर्छौँ।

१३. यसमा आन्तरिक जनवादको अभ्यास कस्तो हुनेछ?

यसबारे हामीले अझै छलफल गर्नुपर्नेछ। अहिलेलाई दुवै पार्टीको एकीकरणका लागि एउटा समन्वय समिति बनेको छ। सैद्धान्तिक विषयहरु कसरी निरुपण गर्छौँ, सांगठनिक व्यवस्थापन कसरी गर्छौँ र सरकार कसरी चलाउछौँ भन्ने हामी त्यहीँ नै छलफल गरेर निष्कर्ष निकल्छौँ। यसको अर्थ केही नेताहरु बसेर निष्कर्ष निकाल्छौँ भन्ने होइन। छलफलमा आआफ्ना पार्टीका विचार नै प्रतिविम्बित हुन्छन्।

एकीकरण  प्रक्रिया एक दुई  महिनामा  टु‌ंगिँदैन। महाधिवेशनबाटै टुंगिन्छ। महाधिवेशनबाट पनि कतिपय विषय बाँकी रहलान्।

१४. यो गठबन्धन बनाउँदा माओवादीको एउटा हिस्साले एकदमै असन्तुष्टि पोखिरहेको देखिन्थ्यो। तपाईँहरु एकीकरण प्रक्रियामा जाँदा यी असन्तुष्ट समूहहरु बाइप्रोडक्टको रुपमा छुट्टिएर जाने सम्भावना कत्तिको छ?

मैले असन्तुष्टिलाई एकदमै नकारात्मक रुपमा मात्र हेर्दिनँ किनभने हामीले धेरै छलफल नै गर्न पाएनौँ। म पार्टीको स्थायी कमिटीको सदस्य हुँ। मैले नै थोरै मात्र छलफल गर्ने मौका पाएँ। अरु कमिटीमा भएका साथीहरुको निम्ति त त्यो अवसर अझ कम भयो। कात्तिक १७ गते हामीले पार्टी एकीकरण र संयन्त्रको घोषणा गर्दा त्यो प्रक्रियामा सहभागी नभएका साथीहरुमा यो प्रक्रियाप्रति असन्तुष्टि हुनसक्छ। त्यो असन्तुष्टि व्यक्त गर्ने तरिका आआफ्नै हुन्छन्। पार्टीभित्रको शिक्षादिक्षा, अनुशासन, बुझाइ आदिले प्रभाव पार्छ। सामान्यतयः प्रतिक्रिया आउनु, कतिपय असन्तुष्ट हुनु र कतिपयले विरोध व्यक्त गर्ने यी सबैलाई मैले सामान्य तरिकाले नै लिन्छु। तर, अब हामीले त्यसको व्यवस्थापन गर्नुपर्छ।

१५. यसको अर्थ एकीकरण प्रक्रियाले लामो समय लिन्छ। एकदुई महिनामा टुंगिदैन?

टुंगिदैन। यो प्रक्रिया अन्ततः महाधिवेशनबाटै टुंगिन्छ। महाधिवेशनबाट पनि कतिपय विषय बाँकी रहलान्। त्यसैले यो लामो प्रक्रिया हो। यो लामो प्रक्रिया हो भन्दाभन्दै पनि आज हामीलाई के थाहा हुनपर्छ भने, हामी कहाँ जाँदैछौँ, कसरी जाँदैछौँ। यो बारे सामान्य खाका अहिले नै बनाउनुपर्छ।

१६. तपाईँले यो एकीकरण प्रक्रियामा जाँदा पनि पहिले नै साझा दृष्टिकोण बनाउनुपर्ने केही विषयहरु देख्नुभएको होला नि? जस्तै, राष्ट्रवादबारे, भारतीय नाकाबन्दीबारे नै दुई पार्टीका धारणा एउटै देखिँदैन।

सामान्यतयाः अहिले हामी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कार्यभार हाम्रो हो भन्ने ठान्छौँ। त्यो पनि लोकतान्त्रिक तरिकाले निर्माण गर्ने। राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न चीनसँग कस्तो सम्बन्ध निर्माण गर्नुपर्छ, भारतसँग कस्तो सम्बन्ध निर्माण गर्नुपर्छ, हामीभित्रै केकस्ता बुझाइ छन् भन्नेबारे केही जोड वा कोणहरुमा भएका फरकलाई हामीले छलफलबाटै टुंगो लगाउनुपर्छ। मलाई के लाग्छ भने, हामीले अलिकति छलफल लिएर यी विषयलाई टुंगो लगायौँ भने नमिल्ने कुरा केही छैन। धेरै विषय छलफलका दौरानमा समाधान हुन्छन्। दैनन्दिन राजनीतिक उतारचढावमा घोत्लिन पर्दा हामीले ठूला र आधारभूत सैद्धान्तिक विषयका लागि समय नै दिन पाएका छैनौँ। जब हामी त्यसमा प्रवेश गर्छौँ यी सबै विषय टुंगो लगाउने छौँ।

सरकारको कार्यदिशा
१७. ढिलाचाँडो वामपन्थी सरकार बन्दैछ। तपाईँहरुले तीनवटा नारा दिनुभएको छ, स्थायित्व, समृद्धि र विकास। स्थायित्व कसरी सुनिश्चित गर्नुहुन्छ?

स्थायित्व भनेर हामीले सरकारको स्थायित्वको कुरा गरेका हौँ। त्यसले राजनीतिक स्थिरताको आधार बनाउँछ। त्यो भनेको पाँच वर्ष सरकार यसरी चल्छ भन्ने ग्यारेण्टी हो। त्यसको लागि हामीले सरकारको नेतृत्व आलोपालो गर्छौँ भनेका छौँ। हामीले जे बोलेका छौँ त्यसलाई लागू गर्दा पनि सरकारको स्थायित्वको ग्यारेण्टी हुन्छ।

आउँदो १० वर्षमा चीन कहाँ पुग्ला, भारत कहाँ पुग्ला। उनीहरुको विकासको दबाब हामीमा कस्तो पर्ला भनेर हेर्दा स्थिति निकै गम्भिर देखिन्छ। हामीले छिटो विकास गर्नुपर्नेछ।

१८. समृद्धिका आधारहरु चाहिँ केके हुन्?

समृद्धिलाई अहिले व्यापक हिसाबले हेर्नुपर्नेछ। त्यसका चुनौती पनि असाध्यै धेरै छन् किनभने हामीले अत्यन्त छिटो विकास गर्नुपर्नेछ। असाध्य छिटो विकास गर्नुपर्ने दुईवटा कारण छन्। एक, हामीले जनतामा समृद्धिको नयाँ चेतना, नयाँ मनोविज्ञान निर्माण गरेका छौँ, रेल कुदाउनेदेखि अनेक। यो समृद्धि हामी दुई पार्टी एक भएर पूरा गर्नेछौँ भने जनतालाई आश्वस्त पनि पारेका छौँ। त्यसैले, हामीले छिटै विकास गर्नुपर्नेछ। दोस्रो, चीन र भारत द्रुत विकासको गतिमा छन्। दुवै गरेर झण्डै अढाइ अर्ब जनसंख्या भएको मुलुकहरुको बीचमा झण्डै तीन करोडमात्र जनसंख्या भएको हाम्रो मुलुक छ। आउँदो १० वर्षमा चीन कहाँ पुग्ला, भारत कहाँ पुग्ला। उनीहरुको विकासको दबाब हामीमा कस्तो पर्ला भनेर हेर्दा स्थिति निकै गम्भिर देखिन्छ। त्यसैले पनि हामीले छिटो विकास गर्नुपर्नेछ।

भारतसँगको सम्बन्ध सुधार्ने भनेको हामीले मात्र नभई उसले पनि सुधार्ने हो। हाम्रो करिब १७ सय सिमाना उसँग जोडिएको छ भने उसको पनि त्यति नै सिमाना हामीसँग जोडिएको हो। त्यसैले दायित्व दुवैको हो।

१९. त्यो विकास कसरी गर्नुहुन्छ?
पहिलो त हामीलाई स्थिर सरकार नै चाहिने हो। दोस्रो, भारतसँगको सम्बन्ध सुधार। भारतसँगको सम्बन्ध सुधार्ने भनेको हामीले मात्र नभई उसले पनि सुधार्ने हो। हाम्रो करिब १७ सय सिमाना उसँग जोडिएको छ भने उसको पनि त्यति नै सिमाना हामीसँग जोडिएको हो। त्यसैले दायित्व दुवैको हो। हिजो भारतमा हामीप्रति केही असमझदारी थियो। त्यो असमझदारी हटाउनुपर्छ। तेस्रो आवश्यकता हो, सुशासन। खासगरी भ्रष्टाचार उन्मूलन। यही भ्रष्टाचार कायम राखेर हामीले राष्ट्रिय अर्थतन्त्र निर्माण गर्छौँ, समाजवाद ल्याउछौँ भन्नु कपोलकल्पना मात्र हुनेछ। खासगरी राजनीतिक तहको भ्रष्टाचारलाई हामीले हटाउनै पर्छ। कुनै पनि पार्टीको कुनै पनि तहको कार्यकर्ता वा नेतासँग नकमाएको वा स्रोत नखुलेको सम्पत्ति छैन भन्ने विश्वास दिलाउनुपर्छ।

हाम्रो हरेक क्षेत्र अहिले बिग्रेको छ। स्वास्थ्यमा, शिक्षामा जताततै भ्रष्टाचार मौलाएको छ। विश्वविद्यालय पैसा नभएर मात्र बिग्रेको होइन। सांसदलाई पाँच करोड छुट्टाइएको छ। सांसदलाई पाँच करोड किन चाहिन्छ? के सांसद विकासे कार्यकर्ता हो?

२०. तपाईँले त्यस्तो गर्न सकिन्छ भन्ने विश्वास गर्नुहुन्छ?

नगरी त हुँदै हुँदैन।

२१. तर, कसरी? स्थानीय तहकै निर्वाचनमा जित्नेहरुमध्ये अधिकांश प्राकृतिक स्रोतको दोहनसँग सम्बन्धित पेशा, व्यवसायनिकट छन् भन्ने आएको छ। निर्वाचनमा यत्रो पैसा प्रवाह भएको छ।

म त्यही भन्दैछु। हाम्रो हरेक क्षेत्र अहिले बिग्रेको छ। स्वास्थ्यमा, शिक्षामा जताततै भ्रष्टाचार मौलाएको छ। विश्वविद्यालय पैसा नभएर मात्र बिग्रेको होइन। सांसदलाई पाँच करोड छुट्टाइएको छ। सांसदलाई पाँच करोड किन चाहिन्छ? के सांसद विकासे कार्यकर्ता हो? ऊ त नीति निर्माता हो। उसलाई किन विकास कोष भनेर छुट्टाउने? यस्तायस्ता व्यवस्थाले भ्रष्टाचार मौलाएको हो। उपभोक्ता समिति बनाउने कार्यकर्ता भर्ना गर्ने, यस्तै भइरहेको छ। यसरी नै राजनीति गर्ने स्थापित तरिका बनेको छ। यसलाई नफेर्ने हो भने केही परिवर्तन हुनेछैन। हिजो राजाले, काँग्रेसले लुटेका थिए अब बामहरुले लुट्नेछन्।

२२. मेरो प्रश्न यहीँंनेर छ। तपार्इँहरुजस्ता छवि राम्रो भएका नेताहरुले जति बलियोसँग यी कुरा गर्न सक्नुहुन्छ अरु सबै विजेता त त्यस्तो हुनुहुन्न। तपाईँले भर्खर जेजेलाई संकेत गर्नुभयो, उहाँहरु त्यसैसँग आबद्ध हुनुहुन्छ। पछिल्लो एक दशकको अभ्यास हेर्दा देशमा क्रोनी क्यापिटलिज्म स्थापित भएको छ। त्यसमा दुवै पार्टीको केही न केही भूमिका छ। कसरी व्यवस्थापन गर्नुहुन्छ? कसरी हटाउनुहुन्छ भ्रष्टाचार?

हामी समाजका उपज हौँ। तर, यो समाजबाटै आएको मान्छे पार्टीको नेता हुँदा सुध्रिनुपर्ने, प्रोसेसिङ प्लान्ट भन्छौँ नि, त्यो कमजोर भयो। त्यसैले काँग्रेसले जत्ति गर्न हुँदैन अलि कम गरे हुन्छ भन्ने मानसिकता निर्माण भयो। हिजोका ती कमीकमजोरी अब नहुने ग्यारेण्टी गर्नुपर्छ।

वामहरुको बेला हो भनेर वामहरुको भान्सा गर्ने बेला हो भन्ने ढंगले बुझ्यौँ भने केही हुँदैन। माथिबाट तलसम्म लुट्न थाल्ने हो भने त पाँचवर्षमा राष्ट्र कंगाल हुन्छ। राजाले देश बनाएनन्, उनीसँगबाट अवसर गुम्यो। काँग्रेसले गरेन ऊबाट अवसर गुम्यो। अब हामीसँग अवसर आएको छ, हामीले गरेनौँ भने हामी सकिनेछौँ।

२३. त्यो ग्यारेण्टी गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ?

आजै हिजोका सबै खोतल्न थाल्नुभयो भने समस्या हुनेछ। किनकि कति बच्लान् भन्ने प्रश्न आइहाल्छ। किनभने, घरगाडी, बालबच्चाको शिक्षादिक्षा, स्वास्थ्य, कार्यकर्ताको भरणपोषण, कतिलाई गुण्डा पाल्नुपर्ने, कतिलाई अगाडिपछाडि गुण्डा नभई नेतै नभएजस्तो लाग्ने, यी सबै स्थिति छन्। तर, अब पनि हामीले कोड अफ कन्डक्ट गराएनौँ भने, वामहरुको बेला हो भनेर वामहरुको भान्सा गर्ने बेला हो भन्ने ढंगले बुझ्यौँ भने केही हुँदैन। यति धेरैले जित्ने अनि माथिबाट तलसम्म लुट्न थाल्ने हो भने त पाँचवर्षमा राष्ट्र कंगाल हुन्छ। राजाले देश बनाएनन्, उनीसँगबाट अवसर गुम्यो। काँग्रेसले गरेन ऊबाट अवसर गुम्यो। अब हामीसँग अवसर आएको छ, हामीले गरेनौँ भने सबै सपना दिवास्वप्न हुनेछ। हामी सकिनेछौँ। मुलुकको भविष्य, जनताको भविष्य, वामपन्थीहरुको भविष्य सबै हेरेर केकति गर्न सकिन्छ गर्नुपर्छ।

यो पनि हेर्नुहोस्:

कालीकोट प्रतिनिधिसभामा वाम गठबन्धनका रावत विजयी

वाम गठबन्धनको बचाउ गर्दै विश्वप्रकाश

पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू