संगम कप फुटबलमा बिहीबार सेमिफाइनल

पोखरा- पोखरामा जारी छैटौँ संस्करणको संगम कप फुटबल प्रतियोगिता अन्तर्गत विहीबार सेमिफाइनलका खेलहरु हुने भएका छन्।

विहीबार पहिलो सेमिफाइनल गार्डेन क्लव र बाजापाटन (बी) थटीन बीच खेल हुने भएको छ। दोस्रो खेल सहारा क्लब र एलजी एसोसिएसनबीच हुने भएको क्लवका सदस्य धिरज तामाङले बताए।

बुधबार पोखरा रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक संगम क्लवलाई गार्डेन फुटबल क्लबले २–१ को गोल अन्तरले पराजित गरेको हो। गार्डेनको जितमा म्यान अफ दी म्याच घोषित ध्रुब घिमिरेले खेलको २३ र खेलको अतिरिक्त समयको १० औं अर्थात ८० मिनेटमा थप एक गोल गरेका हुन्।

खेलको सुरुवातको पाँच मिनेटमै विमल रानाले एक गोल गरेका हुन्। अतिरिक्त समयको अन्तिम ४ मिनेट सम्हालिन नसक्दा पहिलो गोल गर्न सफल भए पनि संगम पराजित हुनुपर्‍यो।

७० मिनेटको निर्धारित समयमा दुबैतर्फ एक/एक गोल भए पछि अतिरिक्त दुबैतर्फ ७/७ गरी १४ मिनेट थपिएको थियो।

दोस्रो खेलमा बी थटीनको समूहले भद्रकालीको समूहलाई ७–२ को गोल अन्तरले पन्छाएको हो। बी थटीनको जितमा म्यान अफ दी म्याच घोषित आवाले ४ गोल गरे। उनले खेलको ४०, ५९, ७० र ७२ औं मिनेटमा गोल गरेका हुन्। त्यसै गरी विश्वास श्रेष्ठले पेनाल्टीमार्फत खेलको ११ औं मिनेटमा र खेलको ७६ औं मिनेटमा एक गोल गरे। विपक्षी गोलरक्षकले विश्वासलाई डी एरियामा लडाएपछि पाएको पेनाल्टीको अवसरलाई श्रेष्ठले गोल गरेका हुन्। नौराज गुरुङले खेलको २८ औं मिनेटमा एक गोल गरेका हुन्। भद्रकालीका सुमित श्रेष्ठले खेलको २३ र मनोज गुरुङले खेलको ३२ औं मिनेटमा गोल गरेका हुन्।

तेस्रो खेलमा एलजी एसोसिएसनले ड्यामसाइड क्लबलाई अतिरिक्त समयमा १–० ले पराजित गर्‍यो। निर्धारित समयमा दुबैतर्फ गोल हुन नसकेपछि थपिएको १४ मिनेटको ५ औं अर्थात खेलको ७५ औं मिनेटमा अजित गुरुङले गोल गरे। निर्णायक गोल गरेका गुरुङ म्यान अफ दी म्याचसमेत घोषित भए। त्यसै गरी बुधबारको अन्तिम क्वाटरफाइनल खेलमा सहारा क्लवले रन्जन मेमोरियल स्मृतिको समूह २–० ले पाखा लगायो।

सहाराको जितमा विदेशी मूलका खेलाडी ह्याण्ड्रीले खेलको ४० र ५७ औं मिनेटमा दुई गोल गरेका हुन्। ह्याण्ड्री खेलमा म्यान अफ दी म्याच समेत घोषित भए। पोखराको संगम क्लबको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिता पुस ७ गतेसम्म चल्ने क्लबका अध्यक्ष शिव गुरुङ (माया) ले बताए।

 

यो पनि हेर्नुहोस्:

संगम कप फुटबलमा एपिएफको जित

पोखरा रंगशालामा मंगलबार पाँच खेल

पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्