प्रहरी-नागरिक विश्वास बढ्यो

दाङमा प्रहरी र नागरिक सहकार्य। तस्बिर: देशसञ्चार।

दाङ– प्रहरीसँग भरसक नजिक हुन नपरोस् भन्ने चाहना हिमलता पोखरेलको थियो। प्रहरीसँगै सहकार्य गर्नुपर्दा सुरुमा केही हिच्किचाहट भयो। तर तीन दिनसम्म प्रहरीसँगै सहकार्य गरेर अभ्यास गर्दा उनले प्रहरीलाई साथी बनाइन्। साथै सहकार्य गरेर समाजमा हुने लैंगिक हिंसा तथा अपराध न्यूनीकरण गर्न सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन्।

‘ड्रेस लगाएको प्रहरी देख्दा खै किन हो डर लाग्थ्यो तर, उहाँहरुसँग कुरा गर्दा, सहकार्य गर्दा त्यो डर सबै हराएर गयो’, उनले अनुभव सुनाउँदै भनिन्, ‘हामीले सघाएमा प्रहरीले राम्रोसँग काम गर्न सक्नेरहेछन् भन्ने थाहा पाएपछि मैले पनि अब प्रहरीलाई सूचना दिएर सहयोग गर्ने योजनामा छु।’

प्रहरी र नागरिकबीच सम्बन्ध विस्तार हुँदा विश्वासको वातावरण सिर्जना भएको छ। ‘अपराध न्यूनीकरण गर्न, पछाडि परेका सीमान्तकृत समुदाय तथा महिलाहरुलाई न्याय दिलाउन प्रहरी र नागरिकबीच सहकार्य हुनुपर्ने रहेछ भन्ने थाहा पाएँ’, उनले भनिन्, ‘प्रहरीसँग सहकार्य गरेर काम गर्दा सूचना आदानप्रदानमा सहजता आएको छ।’

प्रहरीलाई पनि नागरिकसँग सहकार्य गरेर अघि बढ्दा समाजमा शान्ति, सुरक्षा र अमन चयन कायम गर्न सकिने धारणाको विकास भएको छ। ‘नागरिकसँग प्रत्यक्ष समन्वय गरेर योजना निर्माण गर्न सकियो र त्यसलाई कार्यान्वयन गर्न सकियो भनेजस्तो सुकै अपराध, हिंसा न्यूनीकरण गर्न सकिन्छ भन्ने लागेको छ’, वडा प्रहरी कार्यालय लमहीमा कार्यरत ट्राफिक प्रहरी चेता शाहीले भनिन्, ‘प्रहरीले नागरिकसँग सहकार्य नगरी कुनै पनि उपलब्धि हासिल गर्न सक्दैन्, त्यही भएर सहकार्य जरुरी छ।’

लमहीमा भएको प्रहरी र नागरिकबीच नाट्यशाला कार्यक्रमले प्रहरी र नागरिकबीचमा समन्वय विस्तारमा टेवा पुर्‍याएको छ। यो नाट्यशालाबाट नागरिक र प्रहरीले संयुक्त कार्ययोजना निर्माण गरी सामाजिक क्रियाकलाप गर्ने तयारी गरेका छन्। नाट्यशालामा गरिएको अभ्यासमा तयार पारिएको सडक नाटक लमहीमा प्रदर्शन गरिएको छ। यसबाट महिला हिंसा अन्त्यको सन्देश दिइएको थियो।

नाट्यशालामा वडा प्रहरी कार्यालय लमही, इलाका प्रहरी कार्यालय अमेलिया, भालुवाङ र गढवा प्रहरी कार्यालयवाट दश जना प्रहरी र विभिन्न समूहमा आवद्ध ३० जना नागरिकको सहभागी थिए।

युकेएडको आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्डले ‘पहुँच’ परियोजना अन्तर्गत नेपाल प्रहरी र स्थानीय मानवकल्याण तथा वातावरण संरक्षण केन्द्र, दाङको सहकार्यमा ‘नाट्यशाला’ गरेको हो।

प्रहरी र स्थानीय समुदायलाई समाजमा शान्ति स्थापना र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दे दुवैबीच विश्वास, सहकार्य र आपसी जवाफदेहीता बढाउने उद्देश्यले कार्यक्रम गरिएको सर्च फर कमन ग्राउन्डका फिल्ड संयोजक राजेन्द्र अधिकारीले जानकारी दिए।

 

यो पनि हेर्नुहोस्:

रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते

 

पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्