इटालीमा विवाह गरेर ‘देशद्रोही’ बने विराट -अनुष्का!

पुस–अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली इटालीमा विवाह गरेर विरुष्का बनेका छन्।

विराट र अनुष्काको विवाह भारतमा नभएर इटालीमा भयो। उनीहरुको विवाह इटालीको एउटा सुन्दर गाउँमा भएको थियो जहाँ पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालगायतका थुप्रै हाइप्रोफाइलहरु बिदा मनाउन गएका थिए।

विराट र अनुष्काको विवाहले निकै चर्चा पनि पायो । उनीहरुको विवाहका तस्बिरहरु सामाजिक सञ्जालमा निकै शेयर भए। तर अहिले केही मानिसहरु विराट र अनुष्काले विदेशमा बिहे गरेर गल्ती गरेको आरोप लगाउन थालेका छन्। भलै विवाह कहाँ गर्ने र कसरी गर्ने भन्ने कुराको पूर्ण अधिकार विराट र अनुष्कालाई हुनेछ। उनीहरुको परिवारलाई आपत्ति नभएको कुरा अहिले भारतीय जनता पार्टीका केही विधायकलगायतका व्यक्तिलाई चित्त बुझेको छैन।

मध्य प्रदेशको गुनाबाट भारतीय जनता पार्टीका विधायक रहेका पन्‍नालाल शाक्यले विराट र अनुष्काले विदेशमा बिहे गरेकाले उनीहरु देशभक्त नभएको आरोप लगाएका छन्। ‘स्किल इन्डिया’ को एउटा कार्यक्रममा उनले भने, ‘विवाह संस्कार पूरा गर्नका लागि भारतमा उनीहरुले ठाउँ नै भेटेनन्, गज्जब भयो। अरे के हिन्दुस्तानमा ठाउँ नै भेटिएन। हिन्दुस्तान यति अछूत भयो।’

‘यस देशमा राम, कृष्ण , विक्रमादित्य तथा युद्धिष्ठिरको विवाह भएको थियो । तपाईँहरु सबैको विवाह भयो वा हुनेछ । तर हामीमध्ये कोही विदेश जाने छैन । पैसा र प्रसिद्धि यहाँ कमाउने, विवाहका लागि अरबौँ रुपैयाँ विदेशमा खर्च गर्ने ? विवाहको लागि भारतको भूमिले उनीहरुलाई केही अर्थ राख्दैन । यसबाट स्पष्ट हुन्छ कि उनीहरु राष्ट्रभक्त छैनन्, देशभक्त छैनन् ।’

विराट र अनुष्काले विदेशमा बिहे गरेको कुरालाई समर्थन गरिरहेका छन् भने कसैलै विवाह आफ्नो व्यक्तिगत अधिकारको कुरा भएकाले देशभक्तिको प्रमाणपत्र बिजेपीबाट लिनु नपर्ने बताइरहेका छन् ।

फेसबुकमा ‘आजाद भारत’ नामको पेजबाट विराट र अनुष्काको तस्बिर सेयर गर्दै लेखिएको छ, ‘आफ्नै देशका नागरिकलाई फाइदा पुगोस् भनेर तपाईँ सपनामा पनि सोच्न सक्नुहुन्न । जुन दिन तपाईँहरु जस्तो धनी व्यक्तिहरुमा यस्तो विचार आउनेछ त्यो दिन भारत विश्वकै धनी देश बन्‍नेछ ।’ यो पोस्टलाई ३५ हजारभन्दा बढी व्यक्तिले शेयर गरेका छन् ।

त्यस्तै राममोहन झा लेख्छन्, ‘यस्ता मान्छेलाई हामीले टाउकोमा टेकाएका छौँ । यिनीहरु देशका लागि होइन, आफ्ना लागि खेल्छन् । यस्ता मान्छेले देशभक्तिको कुरा के गर्थे ? यिनीहरुलाई त मात्रै पैसा चाहिएको छ ।’

अमित जोन व्यंग्य गर्दै लेख्छन्, ‘कोहली भारत फर्कने बित्तिकै बिजेपी विधायक पन्नालालजीसँग देशभक्तिको प्रमाणपत्र लिन नबिर्सनु । तिमी र अनुष्का देशभक्त होइनौ ।’

रिया सिंह लेख्छिन्, ‘यो उनीहरुको निजी जीवनको कुरा हो । उनीहरुको इच्छाको कुरा हो कहाँ विवाह गर्ने भन्ने कुरा । स्वतन्त्रताको अर्थ बुझ्नुहोस् । केही मानिस स्वतन्त्रताका नाममा विराट र अनुष्काको आलोचना गरिरहेका छन् । बाँच्नुस् र बाँच्न दिनुहोस् ।’

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्