प्रदेश १ को मुख्यमन्त्रीमा कार्कीको पनि दाबी

विर्तामोड-नेकपा एमालेका केन्द्रीय सदस्य हिक्मत कार्कीले प्रदेश नं १ को मुख्यमन्त्रीका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन्।
कार्की झापा क्षेत्र नं ५ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनी एमालेका प्रचार विभाग प्रमुख पनि हुन्।
कार्की अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन्। उनले आफू मुख्यमन्त्रीका लागि योग्य भएको दाबी प्रस्तुत गरेका छन्।
उनले पार्टीका विभिन्न तहमा रहेर मुख्य जिम्मेवारी बहन गरेकाले मुख्यमन्त्रीमा आफूले इच्छा व्यक्त गरेका हुन्
उनले पहिलाको संरचना अनुसार मेची अञ्चल इन्चार्ज भएर पनि काम गरिसकेका छन्।
पूर्वका झापा, इलाम, पाँचथर तथा ताप्लेजुङ जिल्लाहरुको इन्चार्ज भएर काम गर्दा ती चारवटै जिल्लाहरुलाई ‘लाल किल्ला’ बनाउन सक्षम भएको दाबी उनको छ।
उनका निकटमा रहेका एमाले कार्यकर्ताहरुले पनि उनलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेका छन् ।
कार्कीले भने, ‘जस्को जसरी चर्चा भइरहेको छ, म पनि मुख्यमन्त्रीको रुपमा आफ्नो दाबी प्रस्तुत गर्छु । मेरो पनि क्षमता छ । प्रदेश नं १ लाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कुराको योजना मसंग पर्याप्त छ ।’
पार्टीले मुख्यमन्त्रीको रुपमा आफूलाई उभ्याइदिए त्यसलाई सहर्ष स्वीकार गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् । तर उनले पार्टीको निर्णय विपरित आफू नजाने प्रस्ट पारे ।
उनले भने, ‘म दाम्लो छिनाएर अगाडि बढ्ने पक्षमा छैन । तर अरु पनि लड्ने कुरामा म पनि आफ्नो उम्मेदवारी दाबी गर्छु।’ मुख्यमन्त्रीको रुपमा पार्टीले उभ्याए काम गरेर देखाउने कार्कीले बताए।
२०२३ साल असार ८ गते जन्मेका कार्की २०३५/३६ सालको विद्यार्थी आन्दोलबाट प्रभावित भएर अनेरास्ववियुमा प्रवेश गरेका थिए।
२०४५ सालदेखि उनी सक्रिय राजनीतिमा लागेका हुन् । उनले २०४८ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य, २०५० सालमा केन्द्रीय सचिव, २०५२ सालमा केन्द्रीय उपाध्यक्ष हुँदै २०५५ सालमा अध्यक्ष सम्हालेका थिए ।
यो पनि हेर्नुहोस्:
मुख्यमन्त्री बन्नेमा ढुक्क छु- तामाङ
प्रदेश ४ को मुख्यमन्त्री मा दुई एमाले नेताको चर्चा