झर्‍यो ‘पहेंलो गुलाफ’

काठमाडौं-
‘म सूर्यसँग सम्भोग गर्छु
आऊ मलाई सम्भोग गर !’

कुनै बेला उनले यसरी हाकाहाकी उद्घोष गरेकी थिइन्। उनी नेपाली साहित्यमा आएकी नै थिइन, हुरी बनेर। २०२३ सालमा यौन मनोविज्ञानमा आधारित कथासंग्रह ‘पहेंलो गुलाफ’लिएर नेपाली साहित्यमा छिर्दा कोकोहोलो मच्चिएको थियो। कति समालोचकले निधार खुम्च्याएर हेरे।

कतिले नेपाली कथासाहित्यमा यौनमनोवैज्ञानिक कथाको एउटा सशक्त उपलब्धी ठाने। विश्वेश्वरप्रसाद कोइरालाले नेपाली साहित्यमा भित्र्याएको यौन मनोवैज्ञानिक धारमा कलम चलाउने पहिलो नेपाली नारी स्रष्टा थिइन्, प्रेमा शाह।

नेपाली साहित्यमा विशिष्ट बनेर फक्रिएको त्यो पहेंलो गुलाफ अब अस्तित्वमा रहेन। सूचना स्रोतहरूले जनाए अनुसार ७५ वर्षको उमेरमा बुधबार अमेरिकाको साल्टलेक सिटीस्थित ‘इन्टर माउन्टेन हस्पिटल’मा उनको निधन भएको छ। केही वर्षदेखी उनी छोरी जल शाहसँग अमेरिकामा बस्थिन्।

पहेंलो गुलाफ पछि २०२८ सालमा प्रेमाले ‘विषयान्तर’ नामक अर्को कथासंग्रह दिएकी थिइन्। विषयान्तर पनि यौन मनोवैज्ञानिकधाराकै निरन्तरता थियो जसमा उनले पुरूष प्रवृत्ति उजागर गरिन्।

२०३२ सालमा लेखिएको संयुक्त उपन्यास ‘आकाश विभाजित छ’पछि उनले २०४० सालमा ‘मम्मी’नामक उपन्यास प्रकाशनमा ल्याइन्। प्रेमाले ६ वटा बालकथा संग्रह र ३ वटा बाल उपन्यास सहित आफूलाई बालसाहित्यकारको रूपमा पनि उभ्याएकी छिन्।

२००२ साल असार १६ गते वीरगन्जको श्रीपुरमा जन्मेकी प्रेमालाई सानैमा आमाबुवाको काखबाट अलग्याएर मावलीघर काठमाडौं ल्याइएको थियो। मावलीघरमा उनी धाईआमा (तलुसीदेवी उपाध्याय कोइराला)को लालनपाल र स्याहारसुसारमा हुर्किएकी थिइन्।

पाटन मंगलबजारस्थित आदर्शकन्या निकेतनबाट २०१६ सालमा एसएलसी उत्तीर्ण गरेकी प्रेमाले पाटन कलेजबाट स्नातक उत्तिर्ण गरेकी थिइन्। एसएलसी दिएकै साल ‘शारदा’मा ‘प्रतिक्रिया’ शीर्षकको कथा प्रकाशित गरेर उनले नेपाली साहित्यमा पाइला टेकेकी थिइन्। स्नातकपछि त्रिभुवन विश्वविद्यालयबाट उनले स्‍नातकोत्तर उत्तीर्ण गरिन्।

२०२८ सालमा पाटनका जेपी शाहसँग विवाह गरेकी भए पनि त्यो विवाह लामो समय टिकेन। २०२८ सालमा सम्बन्धविच्छेद भएपछि प्रेमाको जीवनमा निकै उतारचढाव आयो। सर्लाही, वीरगञ्ज र नेपालगञ्जमा अध्यापन गरेर उनले छोरी जल शाहलाई हुर्काइन्।

नेपाली साहित्यमा लेखन र जीवन दुवै कोणले आफूलाई विशिष्ट र पृथक सावित गरेकी प्रेमा शाह नरहे पनि उनले रोपेको ‘पहेंलो गुलाफ’को महक रहिरहनेछ। सँगै रहनेछन् उनकी छोरी जल शाह अभिनित चलचित्रहरू पनि। जल शाह जसलाई पिता नचिनाई निकै संघर्षले हुर्काएकी जो थिइन् प्रेमाले।

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्