लक्ष्मी समूह ४५ औं वार्षिकोत्सव

कास्की- पोखराको लक्ष्मी समूह ४५ औं वर्षमा प्रवेश गरेको छ । बुधबार उसले कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।

लक्ष्मी मिठाई भण्डारबाट व्यवसायमा हात हालेको लक्ष्मी समूहका हाल १० वटा प्रतिष्ठान छन् ।

लक्ष्मी समूहका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठ र बुद्धिबहादुर श्रेष्ठले २०२६ सालमा घरमै पुष्टकारी बनाएर व्यापार शुरु गरेका थिए । यसलार्इ उनीहरुले २०३० साल पुस ५ गते उद्योगको रुप दिएका थिए। यसअघि बुद्धि र गणेश साइकलमा पुष्टकारी बेच्न समेत ठाउँठाउँमा पुग्थे ।

पृथ्वीनारायण क्याम्पस र भूमिसुधारको नोकरी छोडेर उनले व्यवसायमा हात हालेका थिए। यो समूहले अर्बभन्दा माथिको लागानीमा सुजल डेरी, सुजल फुड्स, सुजल प्लास्टिक, जया प्याकेजिङ, जया कन्फेक्सनरी, जय माँ टेक्नो सेन्टर सञ्चालन गरिरहेको छ ।

लक्ष्मी समूहले निकट भविष्यमै सिद्धि लक्ष्मी सिमेन्ट, सिद्धि लक्ष्मी स्टिलबाट निर्माण क्षेत्रमा पनि हात हाल्दै छ । यस समूहका संस्थामा १ हजार ६ सय कर्मचारी कार्यरत छन् । सानो मिठाई पसलबाट लक्ष्मी हाउस जस्तो प्रतिष्ठित उद्योग स्थापित हुनुमा कर्मचारीको प्रमुख भूमिका रहेको उल्लेख गरे ।

उत्पादन स्वस्थकर र गुणस्तर हुनुपर्नेमा सचेत रहेको अध्यक्ष श्रेष्ठले बताए । हालकै जस्तो अवस्था रहे समूहले ६ महिनापछि उत्पादित सामग्री विदेश निर्यात गर्नसक्नेमा समूह आशावादी छ।

समूहले पोखराको बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट जडान गरिदिने भएको छ । अपाङ्गता भएका व्यक्ति, अशक्त र ज्येष्ठ नागरिकलाई मन्दिर दर्शन गर्न सजिलो होस् भन्ने उदेश्यले लक्ष्मी समूहको भातृ संस्था लक्ष्मी इन्टरकन्टिनेन्टल लिफ्ट बनाइदिने घोषणा गरेको हो । करिब ८० लाखको लागतमा बनाइने उक्त लिफ्टमा १२ जनासम्म चढ्न मिल्नेछ।

समूहले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आराम कक्ष निर्माण, उत्कृष्ट विद्यार्थीलाई सम्मान, सांगीतिक समूहलाई सहयोग तथा रक्तदान लगायत सामाजिक उत्तरदायित्वका काम पनि गरेको छ।

 

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्