विन्ध्यवासिनी दर्शन अब लिफ्ट चढेर

पोखरा- पोखराको प्रसिद्ध धाार्मिक स्थल विन्ध्यवासिनीमा अब धर्मावलम्बीहरुले लिफ्ट चढेर मन्दिर दर्शन गर्न पाउने भएका छन्।

४५ औ वार्षिक उत्सव मनाउने क्रममा पोखराको व्यापारिक घराना लक्ष्मी ग्रुपले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता पत्रमा हस्ताक्षर गरेर उक्त कार्य थालेको हो।

सम्झौता पत्रमा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्रराज रेग्मीले हस्ताक्षर गरेका छन्।

सम्झौतामा ८० लाख रुपैयाँ लगानीमा लिफ्ट बनाउने भनिएको छ। प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनीमा शारीरिक अशक्तता भएका, जेष्ठ नागरिक लगायतका धर्मावलम्बी आउने हुँदा उनीहरुको सहजता र अन्य भक्तजनको पनि सुविधाका लागि लिफ्ट राख्न लागिएको कार्यकारी निर्देशक सुनिल श्रेष्ठले बताए। उनले करिब १२ जनासम्म चढ्न मिल्ने ९ सय ६० केजी भार क्षमताको हुने गरी समितिसँग सम्झौता भएको जानकारी दिए।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष तीर्थ श्रेष्ठले लक्ष्मी ग्रुप यो उद्घोष निकै सह्रानीय भएको बताए। उनले विन्ध्यवासिनी मन्दिरमा लिफ्ट राखेपछि धार्मिक पर्यटक अझै बढ्ने विश्वास व्यक्त गरे। विन्ध्यवासिनी मन्दिरको पूर्वोत्तर क्षेत्रमा बन्ने लिफ्टको उचाइ ३३ फिटको हुनेछ भने लिफ्टसँगै १५ फिट उठाएर भ्यूटावर बनाइने श्रेष्ठले जानकारी दिए। उनले लिफ्टमाथि र तल २०/२० जना बस्न मिल्ने प्रतीक्षालय पनि निर्माण गरिने बताए।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले २०३० सालदेखि मिठाइ बनाउँदै व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप अहिले नेपालको प्रसिद्ध ब्यापारिक घराना बन्न सफल भएकोमा खुसी व्यक्त गरे। उनले भने, ‘व्यवसायसँगै हामीले सामाजिक उत्तरदायित्व पूरा गर्दै आइरहेका छौँ।’

शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक विकासका क्षेत्रमा सहयोग गर्दै आइरहेको उनले बताए। लक्ष्मी ग्रुपको अहिले १० वटा व्यवसायिक प्रतिष्ठान सञ्चालनमा छन् भने १ हजार ६ सय कर्मचारी कार्यरत छन्।

वार्षिकोत्सवकै अवसरमा ग्रुपले पोखरेली युवा साँस्कृतिक परिवारलाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। सोही अवसरमा कर्पोरेट कार्यालयमा भएको रक्तदान कार्यक्रममा १ सय ७ जनाले रक्तदान गरेका थिए। वार्षिकोत्सवका अवसरमा ग्रुपले ४ जना कर्मचारी प्रह्लाद भक्त कायस्थ, टीकाराम बस्ताकोटी, सुकदेव गिरी र भुवन आचार्यलाई सम्मान गरेको थियो।

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्